ट्रिपर चालकहरुमा लागु औषध चेकजाँच


 Mechikali 

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले ट्रिपर चालकहरुमाथि लागु औषधको चेकजाँच सुरु गरेको छ । ट्रिपर चालकहरुले ट्रिपर चलाउँदा लागु औषध प्रयोग गर्ने गरेको जनगुनासो आएपछि प्रहरीले लागु औषध चेकजाँचको काम सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडाले प्रहरीले बिहिबार साँझदेखि ट्रिपर चालकहरुमा लागु औषध चेकजाँच गर्ने अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी, ईलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले बिहिबार साँझ बनेपामा चेकजाँच कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले प्रहरीले मादक पदार्थ सेवन (मापसे) को चेकजाँच गर्ने क्रमलाई बढावा दिएपछि ट्रिपर चालकहरुले लागु औषधको चेकजाँच नहुने भएपछि लागु औषध प्रयोग गरेर सवारी चलाउने गरेको गुनासो आएपछि लागु औषध चेकजाँच गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक खतिवडाले बिहिबार प्रदेश नं. ३–०१–००६ ख १४८४ का चालक सुरेन्द्र तामाङ, बा २ ख ५२०५ का चालक सुमन तामाङ, बा ४ ख १४४७ का चालक रमेश थापा, बा ४ ख १४६९ का चालक अन्जन तामाङ, ना ४ ख ६२२२ का चालक कुमारबहादुर श्रेष्ठ र प्रदेश नं. ३–०१–००३ ख ५५५७ का चालक बिक्रम तामाङमा लागु औषध चेकजाँच गरेको बताउनुभयो ।
लागु औषध चेकजाँचका क्रममा उनीहरुमा लागु औषध प्रयोग नेगेटिभ आएपछि ट्रिपर चालकहरुलाई खादा ओढाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी नायव उपरीक्षक खतिवडाले जिल्लाका विभिन्न स्थानमा लागु औषध प्रयोग हुने गरेको भन्ने गुनासोहरु आएकोले ती स्थानहरुमा समेत लागु औषधको चेकजाँच गरिने बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु