काभ्रेका तीन स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना


 Mechikali 

काभ्रे– काभ्रेका तीन वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । निरोगी नेपाल निर्माणको नीति अनुरुप प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवर्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने उद्देश्यले सरकारले स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने योजना अघि सारेको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर–७ कुन्ताबेशी, भुम्लु गाउँपालिकाको वडा नम्बर–५ सल्लेमा र पनौती नगरपालिकाको वडा नम्बर–८ खरीबोटमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बनेपाले जनाएको छ ।

सरकारले पहिलो चरणमा नमूना कार्यक्रमको रुपमा देशका २१८ वटा स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो जसमा काभ्रेका तीन स्थानीय तह रहेका छन् । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा. मनोजकुमार चौधरीले सेवा केन्द्रबाट सामान्य बिरामीको उपचारको साथै नागरिकहरुलाई योगाभ्यास गराउने, ब्यायाम सिकाउनुको साथै जीवनशैली ब्यवस्था, सामान्य जडिबुटीको प्रयोगको बारेमा टोल÷टोलमा गएर जनचेतना फैलाउने काम गरिने बताउनुभयो ।
उहाँले केन्द्रबाट नेपाल सरकारले तोकेका २२ प्रकारका आर्युवेद औषधि निःशुल्क रुपमा वितरण गरिनुको साथै जेष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा आर्युवेद औषधि वितरण, हाडजोर्नी दुखेको सयमा मालिस गर्ने तेल, वाफले सेक्ने, सुत्केरी महिलाको लागि कुरिलोको पाउडर, बच्चाको लागि बालामृत प्रदान गरिनेछ । सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ को आफ्नो बार्षिक नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहको वडाका स्वास्थ्य संस्थामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने उल्लेख गरेको थियो । सेवा केन्द्र सम्बन्धी निर्देशिका २०७७ मा परम्परागत ज्ञान, सिप र मौलिक सम्पदाको संरक्षण गर्दै योग, ध्यान, आर्युवेद, तथा बैकल्पिक चिकित्सा विधिबाट सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार तथा पूनस्र्थापनाको लागि नागरिक आरोग्य सेवा केन्द्रले स्थानीय नागरिकलाई लाभान्वित गराउने उल्लेख गरेको छ ।
आरोग्य सेवा केन्द्रका लागि सरकारले एक जना कविराज र एक जना कार्यालय सहयोगी उपलब्ध गराएको छ । सेवा केन्द्र स्थापनाका लागि स्थानीय तहले सबै पूर्वाधारको ब्यवस्था गर्नुपर्ने उल्लेख छ । पनौती नगरपालिकाका नगर प्रमुख भिमप्रसाद न्यौपानेले पनौतीमा स्थापना गरिएको नागरिक आरोग्य केन्द्रमा नागरिकको आकर्षण बढेको बताउनुभयो । उहाँले नगरपालिकाले केन्द्र्रमा अपुग औषधिको व्यवस्थापनका साथै केन्द्रको प्रचारप्रसारको काम गर्ने दायित्व रहेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु