स्मार्ट सिटीका लागि संरचना निर्माण गर्दै तीन नगरपालिका


 Mechikali 

बनेपा– काभ्रेको बनेपा, धुलिखेल र पनौती नगरपालिकाले नगरलाई स्मार्ट सिटीमा परिणत गर्नका लागि विभिन्न संरचना निर्माणमा जोड दिएका छन् । सरकारले देशका विभिन्न स्थानीय निकायलाई स्मार्ट सिटी बनाउने योजना अन्र्तगत काभ्रेका तीन नगरपालिका छनौट भएका हुन् । काभ्रेको बनेपा नगरपालिकाले स्मार्ट सिटी योजना अन्र्तगत बनेपा नगरपालिकाभित्र रहेका पोखरी, पुराना ढुङ्गे धारा र मन्दिरको पुनःनिर्माण तथा मर्मत सम्भार सुरु गरेको छ । नगरपालिकाले शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रम अन्र्तगत नगरपालिकाका विभिन्न स्थानमा रहेका पुराना पोखरी, ढुङ्गे धारा र मन्दिरको पुनःनिर्माण सुरु गरेको हो ।
बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले करिब दुई करोड रुपियाँको लागतमा नगरभित्र रहेका पोखरी, ढुङ्गे धारा र मन्दिरको पुनःनिर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले स्मार्ट सिटी कार्यक्रम अन्र्तगत बनेपा नगरपालिकावडा नम्बर– ८ मा रहेको ऐतिहासिक तला पुखु, दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुङ्गे धारा, लायकु राजमञ्च नजिक रहेको तलेजु भवानी मन्दिरको मर्मत सम्भार गरिने बताउनुभयो । त्यस्तै वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी) को पुनःनिर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, वडा नम्बर ५ मा नै रहेको च्वापुखुको मर्मत सम्भार तथा पुनः निर्माण गर्ने काम सुरु भएको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत उप्रेतीले साँगामा रहेको साँगा पोखरीको समेत मर्मत सम्भार गर्न सम्झौता भइसकेको बताउनुभयो । उहाँले स्मार्ट सिटी अन्र्तगत पुनःनिर्माण तथा मर्मत सम्भार सुरु गरिएका संरचनाहरु ऐतिहासिक महत्व झल्कने हिसाबले नै निर्माण गरिने बताउनुभयो । यसैगरी पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्मार्ट सिटी कार्यक्रम अन्र्तगत पनौती नगरपालिकाको त्रिवेणी घाट क्षेत्रमा सोलार बत्ती जडानको लागि सम्झौता भएको बताउनुभयो । उहाँले त्रिवेणी घाटमा सोलार बत्तीको साथै आगामी वर्ष माघ महिनामा पनौतीमा लाग्ने मकर मेलालाई लक्षित गर्दै पुण्यमाता र रोशी खोलातर्फ सिढी निर्माण गरिने बताउनुभयो ।
यसैगरी जिल्लाको धुलिखेल नगरपालिकाले स्मार्ट सिटी कार्यक्रम अन्र्तगत धुलिखेलको ठुलो बनमा ४.५ किलोमिटर अपाङमैत्री ईको ट्रेल निर्माण गर्ने, नगरपालिकाको वडा नम्बर–१ देवीटारमा माउण्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा पर्ने ऐतिहासिक रामनाम पोखरीको मर्मत सम्भारको काम गरिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाँईले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयले काभ्रेको बनेपा, धुलिखेल र पनौती नगरपालिकामा स्मार्ट सिटी कार्यक्रमका लागि एक मुष्ट पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जसमा बनेपालाई दुई करोड तथा धुलिखेल र पनौतीलाई एक करोड ५० लाखका दरले रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया



थप समाचारहरु