धुसेनी सिवालयमा अक्सिजनसहितको आइसोलेसन निर्माण


 Mechikali 

काभ्रे– काभ्रेको चौरीदेउराली गाउँपालिकाले गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमित बिरामी राखेर उपचार गर्नको लागि वडा नम्बर ५ स्थित धुसेनी सिवालय प्राथमिक अस्पतालमा दश बेडको आइसोलेसन निर्माण गरेको हो । गाउँपालिकाले पालिकाभित्रको तीन स्वास्थ्य संस्थामा १८ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो । धुसेनी सिवालयमा निर्माण भएको आइसोलेसनमा एक जना संक्रमित बिरामी राखिएको चौरीदेउराली गाउँपालिकाका प्रमुख दिनानाथ गौतमले जानकारी दिए ।
गाउँ कार्यपालिका र स्वास्थ्य संस्थाका प्रमुखहरुको बैठकले निर्णय गरे बमोजिम अक्सिजन सिलिण्डर समेत खरिद गरि ल्याइ सकिएको गौतमले बताए । उनले २० सिलिण्डर अक्सिजन तयारी अवस्थामा राख्ने योजना अनुसार १० वटा ठूलो सिलिण्डर ल्याइसकेको र बाँकी सिलिण्डर पनि केही दिनमा आइपुग्ने बताए । गाउँपालिकाले तोकिएको २ वटा स्वास्थ्य संस्थामा भने आइसोलेसन कक्ष निर्माणको तयारी तीब्र गतिमा भइरहेको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । गाउँपालिकाले वडा नम्बर २ मा रहेको डिसिडब्लुसि सामुदायिक अस्पताल र वडा नम्बर ३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष निर्माण गर्ने जनाएको छ । उक्त दुई वटा स्वास्थ्य संस्थामा आईतबारसम्म आइसोलेसन निर्माण भईसक्ने घिसिङले बताए । संक्रमित बढ्दै गएपछि गाउँपालिकाले शनिवारदेखि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु