कृषि फर्म दर्ता गर्नेको सङ्ख्यामा बृद्धि


 Mechikali 

धुलिखेल– पछिल्ला केही वर्षदेखि काभ्रेमा कृषि फर्म (उद्योग) दर्ता गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । प्रदेश तथा सङ्घीय सरकार र विभिन्न बैँक तथा वित्तिय संस्थाहरुले व्यवसायिक कृषि पेशामा लाग्ने कृषक तथा समूहलाई सहुलियत दरमा ऋण तथा विभिन्न सहयोग उपलब्ध गराएपछि काभ्रेमा कृषि फर्म दर्ता गर्नेको सङ्ख्यामा बृद्धि भएको हो । पछिल्ला केही वर्षदेखि जिल्लाको धुलिखेलमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा कृषि फर्म (उद्योग) दर्ता गर्नेको सङ्ख्या बढेको कार्यालयले जनाएको छ ।
‘पछिल्लो समय जिल्लामा कृषि फर्मलगायतका उद्योगहरु दर्ता गर्ने क्रम बढेको छ, दुई वर्षको तथ्याङकलाई हेर्दा जिल्लामा धेरै जसो कृषि फर्म दर्ता गर्नेको सङ्ख्या अधिक छ’ निमिक्त उद्योग अधिकृत केशवप्रसाद पुडासैनीले बताउनुभयो । उहाँले कोरोनाले थलिएका कृषकहरुलाई माथि उकास्नको लागि विभिन्न निकायले विभिन्न कार्यक्रम ल्याएका कारण पनि कृषि फर्म दर्ता गर्नेको सङ्ख्यामा बुद्धि भएको उहाँले बताउनुभयो । ‘विदेशबाट फर्किएका युवाहरु स्वदेश फर्किएपछि कृषि सम्बन्धी विभिन्न कामहरु गर्नका लागि फर्म दर्ता गर्ने क्रम बढेको छ’ पुडासैनीले थप्नुभयो । उहाँले बागमती प्रदेश सरकारले कृषकहरुका लागि तीन प्रतिशत व्याजदरमा बिना धितो पाँच लाख र धितो जमानीमा दश लाख रुपियाँसम्म सहुलियत कृषि कर्जा उपलब्ध गराउने गरेको बताउनुभयो । कृषकहरुको बालीको बिमा वापतको रकम समेत सरकारले व्यहोर्दै आएको उहाँले बताउनुभयो ।
उद्योग कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को बैशाख १६ गतेसम्म जिल्लामा उद्योग एक हजार ९८२ तथा वाणिज्य फर्म ६९२ गरी कुल दुई हजार ६७४ उद्योग तथा फर्म दर्ता भएका छन् । निमिक्त उद्योग अधिकृत पुडासैनीका अनुसार साउनदेखि बैशाख १६ गतेसम्म उत्पादनमुलक एक सय, कृषि तथा वनतर्फ एक हजार ४३५, पर्यटन १४६ वटा, सेवामूलक २९६ र विज्ञान तथा सूचना प्रविधि उद्योग पाँच वटा दर्ता भएका छन् । दर्ता भएका उद्योगबाट तीन करोड पाँच लाख नौ हजार ८१० रुपियाँ राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा उद्योग तथा बाणिज्य फर्म गरी कुल दुई हजार २४७ उद्योगहरु दर्ता भएका थिए । दर्ता भएका उद्योग तथा फर्ममा एक हजार १४८ वटा उद्योग तथा एक हजार ९९ वटा वाणिज्य फर्म रहेका छन् । अघिल्लो आ.व.मा दर्ता भएका उद्योगमध्ये उत्पादनमुलक ९४ वटा, कृषि तथा वन उद्योग ५७४ वटा, पर्यटन उद्योग १९४। सेवामूलक २८० र विज्ञान तथा सूचना प्रविधि उद्योग पाँच वटा दर्ता भएका छन् । दर्ता भएका उद्योगबाट एक करोड ७९ लाख ९१ हजार १४५ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु