चौबीस घण्टामा काभ्रेमा पाँच सङ्क्रमितको मृत्यु


 Mechikali 

काभ्रे– काभ्रेमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो चौबीस घण्टामा होम आइसोलेसनमा रहेका दुई पुरुष, धुलिखेल अस्पतालमा दुई जना र बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा एक जनाको मृत्यु भएको हो ।  स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार कोरोना सङ्क्रमणबाट होम आइसोलेसनमा रहेका धुलिखेल नगरपालिका–११ का ५८ वर्षीय र २७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको शनिबार राति होम आइसोलेसनमा रहेको बेलामा मृत्यु भएको हो । २७ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको थियो भने ५८ वर्षीय पुरुषमा शनिबार मात्रै सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । यसैगरी पनौतीकी ८७ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट शिर मेमोरियल अस्पताल बनेपामा अस्पतालमा मृत्यु भएको हो । उहाँमा शुक्रबार सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस्तै धुलिखेल अस्पतालमा उपचाररत ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उहाँमा शनिबार सङ्क्रमण पुष्टि भएको थियो । उपचारका लागि धुलिखेल अस्पताल ल्याएकी भक्तपुरकी ७६ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जाएको छ । उहाँको अस्पतालको गेटमा आइपुग्दा नै मृत्यु भएको थियो । उहाँमा बिहिबार कोरोना पुष्टि भएको थियो । कोरोनाका कारण काभ्रेमा हालसम्म ९० जनाको मृत्यु भएको छ । जसमा ६३ जना काभ्रे जिल्लाका रहेका छन् भने बाँकी २७ अन्य जिल्लाका रहेका छन् ।
जिल्लामा आईतबार चालीस सङ्क्रमित थपिएका छन् । आईतबार साँझसम्म काभ्रेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९९ जना पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये ६०१ जना पुरुष र ४९८ जना महिला रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १ हजार ५३ जना होम आइसोलसन र ४६ जना अस्पताल आइसोलेसनमा रहेका छन् । हालसम्म काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ६३९ रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु