काभ्रे र सिन्धुपाल्चोकमा ‘एकिकृत एम्बुलेन्स सेवा’


 Mechikali 

धुलिखेल– बिरामीहरुलाई उपचारका लागि अस्पताल पुग्नको लागि एम्बुलेन्सको अभाव हुन थालेपछि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा रहेका एम्बुलेन्सहरुलाई समेटेर ‘एकिकृत एम्बुलेन्स सेवा’ सुरु गरिएको छ । धुलिखेल अस्पतालले धुलिखेल अस्पताल डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) स्थापना गरि दुई जिल्लामा रहेका एम्बुलेन्सलाई एकिकृत तवरले सञ्चालन गरेको हो । कोरोना अघि यो सेवा सुरु गरिए पनि एम्बुलेन्स नपाउने वर्तमान कोरोनाको समयमा झन प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
धुलिखेल अस्पताल आकस्मिक विभागका प्रमुख डा. सानु्कृष्ण श्रेष्ठले काभ्रेका ४२ वटा र सिन्धुपाल्चोक जिल्लामा रहेका ३१ वटा एम्बुलेन्सलाई समेटेर एकिकृत एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो । उहाँले काभ्रेमा रहेका ४२ वटा एम्बुलेन्समध्ये ‘क’ वर्ग (भेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवन रक्षाको सामाग्री भएको) एउटा, ‘ख’ वर्गको प्यारामेडिक्ससहित बिरामीको स्वासप्रश्वास बन्द भएमा, मुटुको धड्कन बन्द भएको अवस्थामा डिफिब्रिलेशन गर्न सक्ने र दक्ष जनशक्ति भएको पाँच वटा एम्बुलेन्स रहेका छन् । डा. श्रेष्ठका अनुसार काभ्रेमा ‘ग’ वर्गका ३६ वटा एम्बुलेन्स रहेका छन् । काभ्रेमा ‘क’ वर्गको एम्बुलेन्स धुलिखेल अस्पतालमा छ भने ‘ख’ वर्गका एम्बुलेन्स धुलिखेल नगरपालिकासँग एउटा (सञ्चालनमा आउन बाँकी), धुलिखेल अस्पतालसँग दुई वटा, चौरीदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिकासँग एक÷एक वटा रहेका छन् । चौरीदेउराली र बेथानचोकमा रहेका एम्बुलेन्स रेडक्रसमार्फत सञ्चालन भएका हुन् ।
धुलिखेल अस्पताल आकस्मिक विभाग प्रमुख डा. श्रेष्ठका अनुसार सिन्धुपाल्चोक जिल्लामा रहेका ३१ वटा एम्बुलेन्समध्ये तीन वटा एम्बुलेन्स ‘ख’ वर्गका रहेका छन् भने बाँकी २८ वटा एम्बुलेन्स ‘ग’ वर्गका रहेका छन् । सिन्धुपाल्चोकको मेलम्ची, बाह्रबिसे र जलविरेमा रेडक्रसद्धारा सञ्चालन भएका तीन एम्बुलेन्स ‘ख’ वर्गका हुन् । काभ्रे र सिन्धुपाल्चोकमा रहेका एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएको छ । दुई जिल्लामा रहेका एम्बुलेन्सको गतिविधिहरु हेर्ने काम धुलिखेल अस्पालमा रहेको धुलिखेल अस्पताल डिस्प्याच सेन्टरले गर्दै आएको छ । गत वर्षको कोरोनाको समयमा एम्बुलेन्स पाउन मुस्किल भएपछि काभ्रे र सिन्धुपाल्चोकमा रहेका एम्बुलेन्सलाई एकिकृत रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेर जिपिएस प्रणाली जडान गरी एकिकृत एम्बुलेन्स सेवा सुरु गरिएको श्रेष्ठले बताउनुभयो ।
बिरामी तथा बिरामीका आफन्तले १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउन सक्ने डा. श्रेष्ठले बताउनुभयो । उहाँले नेपाल टेलिकमको मोबाईल र ल्याण्डलाइन प्रयोगकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पताल डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने बताउनुभयो । धुलिखेल अस्पतालले सन् २०१३ मे १ बाट काभ्रेमा दुई वटा ‘ख’ वर्गको एम्बुलेन्सबाट सेवा प्रदान गर्दै आएको थियो । वि.सं. २०७२ सालको भुकम्पपछि नेपाल रेडक्रस सोसाइटीले ग्रामीण आपत्तकालिन ट्रमा तथा इमरजेन्सी सेवा सुदृढिकरण परियोजना लागु गरेपछि दुई जिल्लामा ख वर्गका एम्बुलेन्स थपिएको डा. श्रेष्ठले बताउनुभयो । दुई जिल्लामा रहेका एम्बुलेन्स चालकलाई आकस्मिक चिकित्सकिय प्राविधिक (इएमटी) तालिम समेत प्रदान गरिएको छ । दुई जिल्लाका एम्बुलेन्समा अहिले तालिम प्राप्त चालक र प्यारामेडिक्स परिचालन गरिएको छ ।
सरकारले गत वर्ष एकिकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालिका निर्देशिका २०७७ जारी गरेको थियो । निर्देशिकामा देशभर छरिएका एम्बुलेन्सहरुलाई एकद्धार प्रणालीबाट छिटो छरितो रुपमा सञ्चालन गर्न तीन अङ्कको टेलिफोन नम्बरको व्यवस्था गरी सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी उक्त केन्द्र मार्फत एकिकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख छ । सरकारले जारी गरेको निर्देशिका अनुसार डिस्प्याच सेन्टरमार्फत एकिकृत एम्बुलेन्स सेवा सुरु गर्ने धुलिखेल अस्पताल डिस्प्याच सेन्टर नेपालमा नै पहिलो रहेको डा. श्रेष्ठले दावी गर्नुभयो ।

प्रतिक्रिया



थप समाचारहरु