कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनामा चुनौती


 Mechikali 

काभ्रे– जिल्लामा रहेका दुई अस्पालमा दैनिक रुपमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनामा कठिनाई देखिएको छ । गत वर्ष धुलिखेल अस्पतालमा नेपालमा नै पहिलो कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापन गर्नको लागि भक्तपुरबाट शव व्यवस्थापन टोली काभ्रे ल्याइएको थियो ।
जिल्लामा रहेको धुलिखेल अस्पताल, बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा कोभिडबाट मृत्यु भएका व्यक्तिहरुको शवको व्यवस्थापन धुलिखेलमा रहेको नेपाली सेनाको कालीजङ्ग गणको सेनाको टोलीले गर्दै आएको छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि जिल्लाबाट काठमाडौँ पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाहमा लगिँदै आएको छ । काठमाडौँ उपत्यका तथा जिल्लामा समेत संक्रमित व्यक्तिको मृत्युदर बढेपछि आर्यघाटमा समेत पालो कुर्नुपर्ने अवस्था आएपछि शव व्यवस्थापनमा समस्या देखिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । ‘जिल्लामा कोरोना सङ्क्रणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गर्नको लागि शव वहान समेत नभएकोले शव व्यवस्थापनमा समस्या देखिएको छ’ उहाँले थप्नुभयो ।
उहाँले जिल्लामा शव वहान नभएका कारण कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रको भेटेरीनरी एम्बुलेन्स प्रयोग गरिएको बताउनुभयो । उहाँले उक्त एम्बुलेन्स पनि समय÷समयमा बिग्रने भएकोले शव व्यवस्थापनमा समस्या भएको बताउनुभयो । ‘कहिलेकाँही एम्बुलेन्स बिग्रँदा दैनिक रुपमा कोभिडबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनमा समस्या देखिएको छ’ उहाँले थप्नुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) बाट शव व्यवस्थापनका लागि सम्बोधन गर्ने कुनै सहयोग प्राप्त नभएको बताउनुभयो । उहाँले शव व्यवस्थापनमा प्रयोग हुने एम्बुलेन्सको मर्मत, त्यसमा हाल्ने इन्धनको लागि कुनै बजेट नभएकोले समस्या रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारबाट कोभिडका विभिन्न सामाग्री खरिद गर्न सक्ने गरी पाँच लाख रुपियाँ सहयोग उपलब्ध गराइएको बताउनुभयो ।
धुलिखेलमा रहेको कालीजङ्ग गणका गणपति प्रमु्ख सेनानी मिलन थापाले जिल्लामा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि आलोपालोमा करिब तीस जना सेनालाई खटाइएको बताउनुभयो । उहाँले शव व्यवस्थापनमा खटिने सेनाले पिपिई अनिवार्य लगाउनुपर्ने भएकोले शव व्यवस्थापन नहुँदासम्म शव व्यवस्थापनमा खटिने सेनाले घण्टौँसम्म शौचालय समेत जान नसक्ने स्थिती रहेको बताउनुभयो । ‘जिल्लाबाट शव लिएर आर्यघाट जाने टोलीले शव व्यवस्थापनको लागि घण्टौँ कुर्नुपर्ने बाध्यता रहेकोले शव व्यवस्थापनमा कठिनाई भएको छ’ प्रमुख सेनानी थापाले थप्नुभयो । उहाँले कहिलेकाँही दैनिक पाँच÷सात जनाको मृत्यु भएको र उक्त समयमा शव व्यवस्थापनमा ठुलो समस्या हुने गरेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनको लागि काठमाडौँ लैजानुपर्ने अवस्था भएकोले समस्या देखिएको बताउनुभयो । उहाँले जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङख्या बढ्दा शव व्यवस्थापनको लागि दुई÷तीन दिनसम्म लाग्ने गरेको बताउनुभयो । उहाँले जिल्लामा नै शव व्यवस्थापनका लागि ठाउँ उपलब्ध गराउन स्थानीय तहहरुलाई आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु