बनेपा नगरलाई एक हप्ता सिल गरिने


 Mechikali 

बनेपा– काभ्रेको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बनेपा नगरपालिकाले एक साताको लागि नगरलाई पूर्ण रुपमा सिल गरेको छ । आज सूचना जारी गर्दै मङ्गलबार राती १२ बजेदेखि जेठ १२ गते बुधबार राती १२ बजेसम्म (एक हप्ता) सम्म नगरपालिकालाई सिल गरेको नगर प्रमुख लक्ष्मी नरसिं वादेले जानकारी दिनुभयो । नगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले नगरलाई सिल गर्ने निर्णय गरेको हो । सोमबार (आज) नगरपालिकाभित्र रहेका सरोकारवालाहरुको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले औषधी पसल, अस्पताल बाहेक खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल, तथा व्यवसायहरु र बैँक तथा वित्तिय संस्थाहरुबाट प्रदान हुने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर मात्रै घर बाहिर निस्कनुपर्ने, बिहानको हिँडाई (मर्निङ वाल्क) समेत बन्द गरेको छ ।
नगरपालिकाले सिल गरेको अवधीमा अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेकका कुनै पनि नीजि तथा सार्वजनिक सवारी साधन प्रयोगमा रोक लगाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले बताउनुभयो । उहाँले सोमबार दिउँसोसम्म नगरपालिकामा ७ सय सक्रिय सङ्क्रमित रहेको र कोरोना सङ्क्रमण कै कारण दश जनाले ज्यान गुमाएको बताउनुभयो ।
बनेपा नगरपालिकाले एक हप्ता नगरपालिकालाइ सिल गर्ने निर्णय गरेसँगै काभ्रे उद्योग बाणिज्य सङ्घले सोमबार सूचना जारी गर्दै बुधबारदेखि एक साताका लागि खाद्यान्न, दुग्धजन्यलगायतका सम्पूर्ण पसल, व्यवसायहरु बन्द गर्न निर्देशन दिएको छ । सङ्घले एक साताको नगर सिलको समयमा सामानको लोड, अनलोड पनि बन्द हुने जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु