काभ्रे अदालतमा भर्चुअल माध्यमबाट मुद्दाको बहस


 Mechikali 

धुलिखेल– कोरोना सङ्क्रमण बढेर जिल्लामा निषेधाज्ञा जारी भएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतले भर्चुअल माध्यमबाट मुद्दाको बहस सुरु गरेको छ । अदालतले बिहिबारदेखि भर्चुअल माध्यमबाट मुद्दामाथि बहस सुरु गरेको जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोबिन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अदालतले पहिलो पटक भर्चुअल माध्यमबाट मुद्दाको बहस सुरु गरेको बताउनुभयो ।
उहाँले कोभिडका कारण मुद्दाका वादी तथा प्रतिवादी तथा उनीहरुका कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसक्ने तथा कोभिडको संक्रमण बढ्ने खतरा बढेपछि अदालतले नेपालमा नै पहिलो पटक भर्चुअल माध्यमबाट मुद्दाको बहस थालनी गरेको बताउनुभयो । उहाँले अदालतले उपलब्ध गराएको जुमको आइडिबाट भर्चुअल माध्यमबाट वादी तथा प्रतिवादीले आफ्ना कुरा राख्ने छन् भने दुवै पक्षका कानुन व्यवसायीले समेत भर्चुअल माध्यमबाट नै मुद्दाको बहस गर्ने बताउनुभयो ।
उहाँले जिल्ला अदालत काभ्रेले बिहिबारदेखि सुरु गरेको भर्चुअल बहस नेपालमा नै नयाँ अभ्यास रहेको दावी गर्नुभयो । उहाँले सोमबारदेखि जिल्ला कारागार कार्यालय काभ्रेमा रहेका थुनवासँग पनि भर्चुअल माध्यमबाट मुद्दाको बहस सुरु गरिएको बताउनुभयो । कोरोना सङ्क्रमण बढ्दै गएपछि अदालतले थुनछेक, म्याद थप, निषेधाज्ञा, बन्दी प्रत्यक्षीकरण, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमका निवेदन लिने काम मात्रै गर्दै आएको स्रेस्तेदार घिमिरेले बताउनुभयो । उहाँले सामान्य प्रकृतिका मुद्दा भने नहेरिएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु