बी एण्ड सीलाई सम्बन्धन दिने विषयमा नेवि संघको आपत्ती


 Mechikali 

धुलिखेल– काठमाडौँ विश्वविद्यालय (केयु)ले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेनटर झापालाई कानुन विपरित सम्बन्धन दिलाउने सम्बन्धी गरेको निर्णयको नेपाल विद्यार्थी (नेवि) संघले बिरोध जनाएको छ । नेवि संघ केयु केन्द्रीय समितिले मंगलबार विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण गराएको हो । संघका सभापति उज्वल प्रधानद्धारा हस्ताक्षरित विज्ञप्तीमा चिकित्सा शिक्षा ऐन २०७५ को परिच्छेद ५ दफा (१३ ) उपदफा (६) बमोजिम एउटा विश्वविद्यालयले पाँच भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था रहेको उल्लेख गर्दै विश्वविद्यालय सभाले कलेजलाई सम्बन्धन दिने निर्णय गरी प्रशासनले आयोगलाई आइतबार पत्र लेख्दै सम्बन्धनमा सहमति सहित सिट संख्या स्विकृतिका लागि आग्रह गरेकोमा हाम्रो घोर आपत्ति रहेको उल्लेख छ ।
संघले दवाव तथा प्रलोभनका कारण वा स्वेच्छाले कानुन र मर्यादाविपरीत कुनै निर्णय नलिन विश्वविद्यालय, विश्वविद्यालय पदाधिकारी तथा चिकित्सा शिक्षा आयोगलाई आग्रह समेत गरेको छ । संघले काठमाडौँ विश्वविद्यालय नेपालको अब्वल विश्वविद्यालय रहेको र यसको साख जोगाउन कुनैपनि प्रकारको हस्तक्षेप तथा राजनीतिक स्वार्थ परिपूर्तिको केन्द्र बनाइएमा यस्ता गतिविधि बिरुद्ध नेपाल विद्यार्थी संघ डटेर सामना गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । संघले गैरकानुनी प्रक्रिया तत्काल नरोकिएमा नेपाल विद्यार्थी संघ विश्वविद्यालय विरुद्ध खरो आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । संघले सम्पूर्ण विद्यार्थी संघ संगठनहरु, शिक्षा प्रेमी तथा जिम्मेवार सबैमा यस्ता गतिविधिहरु विरुद्ध एक जुट भएर अघि बढ्न अपिल समेत गरेको छ ।
विश्वविद्यालयले आईतबार चिकित्सा शिक्षा आयोगलाई पत्र लेल्दै विश्वविद्यालयको ८९ औँ बैठकले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालि (प्रस्तावित) लाई सम्बन्धन दिने भन्दै सिट संख्यासहित स्विकृत गर्न पत्राचार गरेको हो । विश्वविद्यालयका विज्ञ सम्मिलित टोलीले २०७८ बैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको निरीक्षण गरेको र निरीक्षणको प्रारिम्भक प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन २०७५ को परिच्छेद ५ दफा (१३ ) उपदफा (६) अनुसार केयूको सम्बन्धन दिने उल्लेख छ ।

प्रतिक्रिया



थप समाचारहरु