लाकोजूको ‘घाम फुल्ने याम’ कविता सङ्ग्रह सार्वजनिक


 Mechikali 

पनौती (काभ्रे)– कवि सूर्यप्रसाद लाकोजूको नयाँ कविता सङ्ग्रह ‘घाम फुल्ने याम’ सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सक्रिय लाकोजूको कविता सङ्ग्रहभित्र विविध विषयका ५८ ओटा कविताहरू समेटिएका छन् । कवि लाकोजूले हालसम्म पाँच वटा कविता सङ्ग्रह प्रकाशित गरेका छन् । यसअघि लाकोजूको स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम गरी चारओटा कविता सङ्ग्रह प्रकाशन भएका छन् ।
घामकविका रूपमा चिनारी बनाउनुभएका कवि लाकोजूका ‘घाम फुल्ने याम’ कविता सङ्ग्रहमा देशभक्तिका साथै वर्तमान राजनीतिको विषय समेटिएका छन् । कविता सङ्ग्रहभित्र रहेका कविताहरुले समाजका विकृति, विसंगतिहरूलाई निर्मूृल पार्नुपर्ने विचार उठाएको छ । प्रेम, प्रणयका विषय पनि कविताहरूमा उठाइएको छ । बुबा कविताबाट प्रारम्भ भएको घाम फुल्ने याम आमा कवितामा गएर टुङ्गिएको छ ।
घामकवि लाकोजूको पितृभक्ति पनि कविता भएर उभिएको छ । साथै आफ्ना अग्रज तथा अभिभावकहरूप्रति श्रद्धा, आत्मिक प्रेममाथिको विश्वास, देशका सपुत र सहिदप्रति सम्मान, प्रकृतिप्रेम, संस्कृतिप्रेम आदि पनि कवितामा प्रभावी बनेर आएका छन् । कविता संग्रह ट्रान्सवल्ड पब्लिकेशन काठमाडौंले प्रकाशनमा ल्याएको हो । दुई दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विधामा कलम चलाउँदै आउनुभएको छ ।

प्रतिक्रिया



थप समाचारहरु