काभ्रेमा सक्रिय सङ्क्रमितको सङ्ख्या करिब पच्चीस सय


 Mechikali 

काभ्रे– काभ्रेमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या करिब पच्चीस सय नजिक पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार शुक्रबार जिल्लामा एक सय ९७ जना नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६९ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये एक हजार ३४९ पुरुष र एक हजार १२० जना महिला रहेका छन् । शुक्रबारसम्म जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित रहेका छन् ।
कार्यालयका अनुसार बनेपा नगरपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७०३ जना पुगेको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल नगरपालिकामा ५४७ जना, पनौती नगरपालिकामा ४९६ जना, पाँचखाल नगरपालिकामा १६२ जना, मण्डनदेउपुर नगरपालिकामा १४२ जना र नमोबुद्ध नगरपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११० जना रहेको छ । झाका अनुसार जिल्लाको चौरीदेउराली गाउँपालिकामा २९ जना, रोशी गाउँपालिकामा ६३ जना, तेमाल गाउँपालिकामा २८ जना, भुम्लु गाउँपालिकामा ६७ जना, खानीखोला गाउँपालिकामा ३९ जना, बेथानचोक गाउँपालिकामा ४१ जना र महाभारत गाउँपालिकामा सक्रिय सङ्क्रमित ४२ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणदेखि दोस्रो चरणको शुक्रबारसम्म काभ्रेमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या छ हजार ९६६ जना पुगेको छ भने हालसम्म चार हजार ३९८ जनाले कोरोनालाई पराजित गरेका छन् । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये हालसम्म ११९ जना अस्पताल आइसोलेसन र दुई हजार ३५० सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । काभ्रेमा हालसम्म कोरोनाका कारण ९९ जनाले ज्यान गुमाएका छन् । विगत केही सातादेखि काभ्रेमा सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा बढेको छ । बिहिबार मात्रै काभ्रेमा ५९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

 

प्रतिक्रिया



थप समाचारहरु