चार बर्षे अवधीलाई नियाल्दा……..


 Mechikali 

-टिपी शर्मा तिमल्सिना
नगर प्रमुख
नमोबुद्ध नगरपालिका

आज नगर प्रमुखमा निर्वाचित भएर सपथ लिएको पनि चार वर्ष पुगेछ । यो चार वर्षमा आम नगवासीका इच्छा, आकांक्षा र यहाँका समस्याहरुलाई के–कति सम्बोधन गर्न सकियो, अहिले आफैलाई मूल्याङ्कनको तराजुमा राखेर जोख्दैछु । सायद, जनताका चाहनाहरु धेरै थिए । विगत धेरैवर्ष अघिदेखी जनप्रतिनिधि विहिन स्थानीय निकाय जनप्रतिनिधिको आवागमनले निकै उत्साहित थियो । तर, यो चार वर्षमा ती सबै कामहरु पूर्ण हुन सकेका छैनन्, यद्यपि प्रतिवद्धताहरु पुरा गर्ने प्रयत्न अहिले पनि जारी छ ।
आज, निर्वाचित भएको चार वर्षको स्मरण गर्दै सम्पन्न भएका कामहरुको पनि मूल्यांकन गर्दैछु । विभिन्न परिस्थिति र अनेकन अप्ठ्याराहरुका बावजुद पनि यहाँका नगरवासीको राय–सुझाव र सहयोगबाट नै कार्यकालको चार वर्ष बितिसकेको छ । यस बीचमा नगरको शिक्षा, स्वास्थ, कृषि, विकास–निर्माण, वातावरण, सामाजिक लगायत कामको प्राथमिकतामा सबैको चासो र सहयोग प्राप्त भएकै हो र प्राथमिकतामा परेका कतिपय कामहरु सम्पन्न पनि भएका छन् । यस नगरका धेरै चाहना, आवश्यकता र समस्याहरु समाधान गर्न अझैपनि बाँकी नै छ । त्यसैले आगामी एक वर्षमा त्यसलाई कसरी अघि बढाएर धेरै भन्दा धेरै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने तर्फ म पूर्ण केन्द्रित छु । मलाई यस नगरका बुद्धिजीवी, शिक्षक, राजनीतीज्ञ, संघ–संस्था र आम नागरिकहरुबाट यथेष्ट सहयोग मिलेको छ । सबैसँगको हातेमालोबाट नै चार वर्षमा केही उपलब्धिहरु पनि प्राप्त भएका छन् ।
यो अवधीमा नगरका सवै वडामा स्वास्थ्य भवन निर्माण, वडा कार्यालय निर्माण, सडकको स्तरोन्नति, एकघर एक धारा अभियान तीब्ररुपमा चलेको छ भने नयाँ सडक निर्माणका साथै पुराना सडकको स्तरोन्नतिको काम पनि भइरहेको छ । यस्तै दाप्चा सडक कालोपत्रेको काम सम्पन्न भइसकेको छ भने चौकीडाँडाबाट पनौती हुँदै ग्वार्को निस्कने रोशी कोरिडोर निर्माण भएको छ । भकुन्डे हुँदै तेमाल जोड्ने रेन्जेन दोर्जे मार्ग पनि स्तरोन्नति भएको छ । यहीबीचमा नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सकिएको छ । आजकै मितिमा निर्माण सम्पन्न भएका वडा कार्यालय र प्रशासकीय भवनको उद्घाटन गर्ने तयारी कोभिड महामारीका कारण केही पछि सरेको छ । अब बाँकी रहेको एक वर्ष पनि सबैको सहयोग र सहकार्यबाट नै अघि बढ्नेछ भन्ने पूर्ण आशामा छु । नमोबुद्ध नगरपालिकालाई सर्वोत्कृष्ट नगरपालिका बनाउन यहाँका बासिन्दा, सबैको सहयोग र सहकार्य आवश्यक छ । त्यसैले आगामी वर्षलाई सफल बनाउन सबैको राय–सुझाव, सहयोग र सहकार्यको अपेक्षा राखेको छु ।
यहाँसम्म आइपुग्दा भोगिएका केही तिता–मिठा कुराहरुको स्मरण गर्दै हरेक परिस्थितिमा साथ सहयोग गर्नुहुने आदरणीय नगरवासी, जनप्रतिनिधि, कर्मचारी, विषय विज्ञ, राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, युवा लगायत सम्पूर्ण सहयोगी हातहरुमा हार्दिक आभार प्रकट गर्दछु । साथै २०७२ सालको महा–भूकम्पले निम्त्याएको कठिन परिस्थितिलाई सामना गर्दा गर्दै अघिल्लो बर्षदेखि विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड–१९ ले हामीलाई निकै त्रसित बनाइरहेको छ । यसलाई नियन्त्रण तथा रोकथाम गर्न स्थानीय सरकारले गरेको प्रयासमा यहाँहरुको समेत भरपुर सहयोग मिल्नेछ भन्ने विश्वास लिएको छु ।
कोभिड–१९ को दोस्रो लहरको महामारी नियन्त्रणका लागि नगरपालिकाले चालेका कदममा नगरबासीको साथ र सहयोग अझै आवश्यक रहेको छ । नगरबासीको सेवाका लागि नगरको सम्पूर्ण जनशक्ति अहिले कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि लागिरहेको छ । नगरपालिका मातहत रहेको मेथिनकोट अस्पताललाई नगरपालिकाकै पहलमा प्रादेशिक अस्पताल बनाइएको छ र अहिले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारीहरुमा काम भइरहेको छ । म आफैं पनि कोभिड–१९ बाट संक्रमित छु, तै पनि होम आइसोलेसनबाटै निरन्तररुपमा महामारी रोकथाम र नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन पहल गरिरहेको छु । कोभिड १९ का कारण ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दै यस युद्दमा सरिक हुनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायत सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु । नगरभित्र तथा नगरबाहिर एवं विदेशमा रहनुभएका कोभिड–१९ बाट संक्रमित सम्पूर्ण नगरबासीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु । यसैगरी चुनावको क्रममा शहिद हुनुभएका नवराज पाठकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
अन्तमा कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं । स्वास्थ्य मापदण्ड पालना गरी नगरपालिकाले चालेका कदममा पूर्ण साथ दिन पुन सम्पूर्ण नगरबासीमा हार्दिक अपिल गर्दछु ।
जय नमोबुद्ध ।
–१० जेठ, २०७८
प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !