जिल्लामा नै शव व्यवस्थापनको काम सुरु


 Mechikali 

काभ्रे– कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनका लागि काठमाडौँ लैजाँदा घण्टौँसम्म पालो कुर्नुपर्ने र धेरै समय लाग्ने भएपछि जिल्लामा नै शव व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्तरिय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाका स्थानीय तहहरुलाई शव व्यवस्थापनको लागि स्थान छनौट गर्न अनुरोध गरेसँगै स्थानीय तहले शव व्यवस्थापन गर्ने स्थान तोकेका थिए ।
जिल्लाका स्थानीय तहहरुले कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनका लागि स्थान छुट्याइदिएपछि जिल्लामा नै शव व्यवस्थापनको काम अघि बढाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । उहाँले स्थानीय तहहरुले आफ्नो पालिका तथा अर्को पालिकालाई पायक पर्ने स्थानमा शव व्यवस्थापनका लागि स्थान तोकेको बताउनुभयो । उहाँले पालिकाले तोकेको स्थानमा शव व्यवस्थापनमा समस्या भएको खण्डमा अर्को बैकल्पिक स्थान समेत छनौट गरेको बताउनुभयो । उहाँले जिल्लाको विभिन्न स्थानीय तहका विभिन्न घाटमा शव व्यवस्थापनको काम सुरु भैसकेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले रोशी गाउँपालिकाले भ्याकुरे खोला र पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले दुई पालिकाको सिमाना दोलालघाट बगर क्षेत्रमा शव व्यवस्थापनको लागि स्थान छनौट गरेपनि वर्षायाममा आउने बाढीले पुरिएको शव निकाल्न सक्ने भएकोले यी दुवै स्थान उपयुक्त नभएको बताउनुभयो । उहाँले जिल्लाको बनेपा, धुलिखेल र पनौतीको शव व्यवस्थापनको लागि धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु श्रेष्ठले केही दिनमा साझा स्थान खोज्ने प्रतिवद्धता जनाउनुभएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले मृतकका आफन्तले जिल्लामा नै शव व्यवस्थापन गर्न चाहेको खण्डमा शवको व्यवस्थापन हुने बताउनुभयो ।
धुलिखेलमा रहेको कालि जङ्ग गणका गणपति प्रमुख सेनानी मिलन थापाले हालसम्म जिल्लाको पनौती नगरपालिकाको भालेश्वर मन्दिर घाट, त्रिवेणी घाट, रोशी गाउँपालिकाको चतुरेफेदि घाट, चरुङ्गे फेदि घाटमा गरी जिल्लामा पाँच वटा शव व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले जिल्लामा नै शव व्यवस्थापन गर्दा पशुपति आर्यघाटामा घण्टौँसम्म पालो कुर्नुपर्ने समयको बचत हुनुको साथै जिल्लामा नै शव व्यवस्थापन गर्दा मृतकका आफन्तले समेत छेउमा नै बसेर दाहसंस्कारमा संलग्न हुन पाउने बताउनुभयो ।
उहाँले काभ्रे जिल्लामा रहेका मृतकको शव व्यवस्थापन काभ्रेमा नै र अन्यत्र स्थानका मृतकको काठमाडौँमा व्यवस्थापन गरिँदै आएको बताउनुभयो । प्रमुख सेनानी थापाले अहिले जिल्लाका विभिन्न घाट र पशुपति आर्यघाटामा समेत शव व्यवस्थापनको काम भएको बताउनुभयो । काभ्रेमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको काम कालि जङ्ग गण धुलिखेलले गर्दै आएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको लागि नगरपालिकाको त्रिवेणीघाट, फट्केश्वर घाट, लड्केश्वर घाट, त्रिवेणी घाट, भालेश्वर घाट, पशुपति घाट छुट्याइएको बताउनुभयो । उहाँले मृतकको शव व्यवस्थापनको लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउँदै आएको बताउनुभयो । नगर प्रमुख न्यौपानेले सबै वडा कार्यालयहरुमा होम आइसोलेसनमा बसेका सङ्क्रमितको मृत्यु् भएको खण्डमा शव व्यवस्थापनमा खट्ने व्यक्तिहरुका लागि चार÷चार थान पीपिई सेट तथा शव बोक्नको लागि बाकसको समेत ब्यवस्था मिलाइएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु