श्रीमती र छोराको हत्या गरेको पुष्टि


 Mechikali 

बनेपा– दुई साताअघि काभ्रेको बनेपामा मृत अवस्थामा फेला परेका आमा छोरालाई आफ्नै श्रीमानले हत्या गरेको रहस्य खुलेको छ । असार ३ गते जिल्लाको पाँचखाल नगरपालिका–७ स्थायी घर भई हाल बनेपा नगरपालिका–११ सिनागालस्थित बानियाँ टोलमा डेरा गरी बस्ने ३० वर्षीया मनिषा कार्की (घिमिरे) र उनका ६ वर्षीय छोरा युआन घिमिरे कोठामा मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले मनिषा र युआनको हत्या मनिषाका श्रीमान् तथा युआनका पिता ३२ वर्षीय माधव उपाध्याय घिमिरेले गरेको पुष्टि भएको जनाएको हो ।

कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले मनिषा र माधवबीच घरमा विभिन्न विषयमा पटक÷पटक विवाद हुने गरेको बताउनुभयो । उहाँले माधव घरमा श्रीमती र छोरा हुँदाहुँदै अन्य महिलासँग अनैतिक सम्बन्धमा रहेको र सो कुरा मनिषाले थाहा पाएपछि विवाद भई त्यस्तो नगर्न माधवलाई पटक÷पटक अनुरोध गरेको खुल्न आएको बताउनुभयो । मनिषाले माधवलाई घरपरिवार तथा छोराको भविष्यमा कुनै चिन्ता नभएको तथा व्यापार व्यवसायमा ध्यान नदिएको जस्ता विविध विषयमा विवाद गरेकोले योजनाका साथ श्रीमती र छोराको हत्या गरेको माधवले स्विकार गरेको खतिवडाले बताउनुभयो ।

अनुसन्धानको क्रममा माधवले निधाईरहेकी श्रीमतीलाई सिरानीले मुख थुनी बलपूर्वक हत्या गरेको र श्रीमतीको हत्यापछि छोरालाई पनि सिरानीले मुख छोपी हत्या गरेको स्विकार गरेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । श्रीमती र छोराको हत्या गरेपछि उनले ब्ल्याङ्केट ओढाई ढोकामा ताला लगाई एक दिनसम्म घटनालाई लुकाएको प्रहरीले जनाएको छ । श्रीमती र छोराको हत्यापछि असामान्य गतिविधि देखाएपछि छिमेकीले मनिषा र युआनको हत्या भएको भन्दै असार ३ गते राती ईलाका प्रहरी कार्यालय बनेपालाई फोन गरेका थिए । श्रीमती र छोरा हत्या गरेर भागेका माधवलाई बनेपाको पुरानो बजारबाट प्रहरीले पक्राउ गरेको थियो । दुवैको हत्या गरेपछि आफुले पनि आत्महत्या गर्नको लागि एक सय भन्दा बढी चक्की सिटामोल खाएको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले माधव अबैध आर्थिक कारोबारमा समेत संलग्न रहेको भन्ने जानकारी प्राप्त भएकोले उसले प्रयोग गरेका मोबाईलगायतका इलेक्ट्रिक डिभाईसको समेत अध्ययन भईरहेको जनाएको छ । लामो समय भारतको आसाममा बसेका माधवले ७ बर्ष अघि मनिषासँग विवाह गरेका थिए । मृतक छोरा युआन घिमिरेको जन्म भए पश्चात उनीहरु काभ्रेको बनेपामा व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया



थप समाचारहरु