कोरोनाका कारण काम बन्द भएपछि कैदीबन्दी मर्कामा


 Mechikali 

धुलिखेल (काभ्रे)– कोरोना सङ्क्रमणको दोस्रो चरण सुरु भएसँगै दुई महिनादेखि जिल्लामा लागु भएको निषेधाज्ञा तथा सिलबन्दीका कारण रोजगारीमा संलग्न भएका जिल्ला कारागार कार्यालय काभ्रेका कैदीबन्दी मर्कामा परेका छन् । पटक÷पटकको निषेधाज्ञा तथा स्थानीय तहले गरेको सिलबन्दीका कारण कारागारमा सजाँय भु्क्तान गरिरहेका विभिन्न सिपयुक्त काममा आवद्ध भएका एक सय भन्दा बढी कैदीबन्दी मर्कामा परेका हुन् ।
विभिन्न मुद्धामा संलग्न भई अदालतको आदेशपछि जिल्ला कारागार काभ्रेमा कैदीबन्दीको जीवन बिताईरहेका कैदीबन्दीहरु मुढा बनाउने, पोते उन्ने, सिरक डस्ना बनाउने, पर्स बनाउने काम गर्दै आएका छन् । ‘कारागारमा सजाँय भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ६० जना मुढा तथा थुन्से बनाउने, २९ जना न्यूरोडबाट आउने पोते उन्ने र नौ जना कैदीबन्दी पर्समा बुट्टा बनाउने तथा सिरक डस्ना बनाउने काम गर्दै आएका छन्’ काभ्रेका कारागार प्रमुख जेलर गायत्री अधिकारीले जानकारी दिनुभयो । उहाँले कोरानोका कारण निषेधाज्ञा तथा सिलबन्दीका कारण कारागार भित्र रहेर विभिन्न काम गर्ने कैदीबन्दी मर्कामा परेको बताउनुभयो ।
जेलर अधिकारीले कोभिडका कारण कैदीबन्दी भेटघाट गर्न आउनलाई रोक लगाएको र त्यस लगत्तै सबैतिर बन्द भएका कारणले उनीहरुले गर्दै आएको काम समेत प्रभावित भएको बताउनुभयो । उहाँले कारागारभित्र रहेर पनि मुढा तथा थुन्से बनाउने, पोते उन्ने, पर्समा बुट्टा बनाउने तथा सिरक डस्ना बनाउने काम नभएपछि कैदीबन्दीहरु विगत दुई महिनादेखि सरकारले उपलब्ध गराउने रासन खाएर मात्रै बस्नुपर्ने अवस्था भएको बताउनुभयो । ‘कारागारमा बसेका कैदीबन्दीहरुले विभिन्न काम गर्दा मासिक पाँचदेखि दश हजार रुपियाँ कमाउने गर्दथे तर दुई महिनादेखि उनीहरुको काम रोकिएका कारण एक रुपियाँ पनि कमाई हुन सकेको छैन’ जेलर अधिकारीले थप्नुभयो ।
कारागारमा विभिन्न काममा संलग्न हुने कैदीबन्दीले आफुले खर्च गरेर बाँकी रहेको रकम घर खर्चका लागि परिवारलाई समेत पठाउने गर्दछन् । दुई महिनादेखि कोरोनाका कारण विभिन्न व्यवसाय तथा बजार बन्द भएपछि कैदीबन्दीहरु कहिले बन्द खुल्छ भनेर कुरेर बसेको जेलर अधिकारीले बताउनुभयो । उहाँले कारागारभित्र सजाँय भुक्तान गरिरहेका कैदीबन्दीमध्ये तीन जनाले कारागारभित्रै क्यान्टिन र दुई जनाले किराना पसल समेत सञ्चालन गर्दै आएका छन् । कोरोना सङ्क्रमणको दर कम भएसँगै केही कैदीबन्दीले भने मुढा बनाउने काम पुनः सुरु गरेको कारागार कार्यालयले जनाएको छ । जिल्ला कारागार कार्यालय काभ्रेमा अहिले दुई सय ३७ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु