बनेपा–पनौती सडक खण्डमा वर्षौदेखिको सास्ती कायमै


 Mechikali 

बनेपा– जीर्ण बनेको बनेपा–पनौती सडक खण्ड वर्षौसम्म कालोपत्रे नहुँदा सडकमा यात्रा गर्ने यात्रु तथा सडक आसपासका नागरिक सास्ती खेप्न बाध्य बनेका छन् । सडक कालोपत्रे गर्ने, पक्की नाली निर्माण गर्नेलगायतका विभिन्न वहानामा सडक खन्ने तथा कालोपत्रे गर्ने भन्दै सडकका केही स्थानमा रहेको कालोपत्रे उप्काएपछि सडक जीर्ण बन्न पुगेको हो । सडक जिर्ण बनेको तीन वर्षभन्दा बढी समय हुँदा पनि सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोको कारण यात्रु र सडक आसपासका नागरिकले सास्ती खेप्नु परेको हो ।
सरकारले गत पुस महिनाको अन्त्यमा बनेपा–पनौती सडक कालोपत्रे गर्नको लागि बजेट विनियोजन गरेपछि खुसी भएका यात्रु तथा स्थानीयबासीहरु वर्षायाम अघि कालोपत्रे नहुँदा पुनः दुःखी बनेका छन् । सडक कालोपत्रेको काम सुरु भएपनि कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण निषेधाज्ञा जारी भएपछि कालोपत्रेको काम रोकिएको थियो । सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर जयराम अधिकारीले बनेपा–पनौती सडक खण्डको कालोपत्रेको काम सुरु गरिएपनि निषेधाज्ञाका कारण काम रोक्नु परेको बताउनुभयो ।
उहाँले बनेपा तथा पनौती नगरपालिकामा निषेधाज्ञा जारी गरिएका कारण कालोपत्रे गर्नका लागि आवश्यक पर्ने विभिन्न निर्माण सामाग्री उपलब्ध हुने अवस्था नभएपछि काम रोकिएको बताउनुभयो । उहाँले बनेपाबाट कालोपत्रेको काम सुरु गरिएको केही दिनमा नै काम रोक्नु परेको बताउनुभयो । ‘सडक कालोपत्रेको काम सुरु गरेका थियौँ, निषेधाज्ञाका कारण सडक कालोपत्रे गर्नुअघि हाल्नुपर्ने सव–बेस तथा बेस हाल्नका लागि आवश्यक ग्राभेल तथा अन्य सामाग्री नपाउने भएपछि काम रोक्न बाध्य भयौँ’ इन्जिनियर अधिकारीले बताउनुभयो । उहाँले निषेधाज्ञा खुकुलो भएसँगै आईतबारदेखि काम सुरु गर्ने तयारी भएपनि वर्षाका कारण काम अगाडि बढाउन नसकिएको बताउनुभयो ।
उहाँले निषेधाज्ञा तथा वर्षाका कारण दशैँअघि सडक कालोपत्रेको काम सम्पन्न नहुने बताउनुभयो । ‘पानी परेन र मौसम सफा भएको खण्डमा असार मसान्तसम्म सव–वेश हाल्ने काम सकिन्छ, मौसम राम्रो भएन भने त्यहि काम गर्न पनि समस्या हुन्छ’ अधिकारीले थप्नुभयो –‘हिलोमा सव–वेस र वेस हाल्यो भने फेरी कालोपत्रे बलियो हुन्न त्यहि भएर मौसम राम्रो नभएसम्म सववेश हाल्ने काम पनि रोकेका हौँ’ । उहाँले मौसम राम्रो भएको खण्डमा बनेपा–पनौती सडक कालोपत्रे गर्नका लागि साढे दुई महिना समय लाग्ने बताउनुभयो । उहाँले सव–वेस र वेस हाल्नको लागि आवश्यक पर्ने ग्राभेल मौज्दात राख्ने काम भईरहेको बताउनुभयो ।
इन्जिनियर अधिकारीले बनेपा–पनौती सडक खण्डको ६ किलोमिटर दुरीको सडकमा पक्की नाली, रिटेनिङ वाल र विभिन्न स्थानमा ड्रेन बनाउन काम र सडक बिस्तार गरिएको स्थानहरुमा ग्राभेलिङ गर्ने काम र विद्यतुको पोल हटाउने काम सकिएको बताउनुभयो । उहाँले दशैँअघि सडकमा सव–वेस, वेस तथा चार इन्च कालोपत्रे मध्ये पहिलो लेयरको दुई इन्च कालोपत्रे हुने बताउनुभयो । उहाँले बनेपा–पनौती सडकको छाला कारखाना नजिक दबदबे सडक भएकोले उक्त स्थानमा सव सर्फेस ड्रेन (जमिन भित्रको पानी पाइपको माध्यमबाट बाहिर ल्याउने) को काम समेत गरिने बताउनुभयो ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले बनेपा–पनौती सडक खण्ड कालोपत्रे गर्नका लागि आवश्यक पर्ने कालोपत्रे प्लान्ट राख्नको लागि नगरपालिकाले रोशीमा ठाउँ व्यवस्था गरेको बताउनुभयो । उहाँले कोभिड र वर्षाका कारण रोकिएको र केही सडकको अधिकाँश स्थानमा बेस हाल्नका लागि ल्याइएका ग्राभेल समेत हालिएको बताउनुभयो । नगर प्रमुख न्यौपानेले सरकारले बनेपा–पनौती सडकलाई राष्ट्रिय सडकबाट हटाएपछि यसको मर्मत सम्भारमा सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो । उक्त सडक कालोपत्रेका लागि करिब दश करोड रुपियाँमा कमलजित गणेश एण्ड गङ्गा कन्स्ट्रक्शनसँग ठेक्का सम्झौता भएको हो ।

प्रतिक्रिया



थप समाचारहरु