मध्यपहाडी राजमार्ग काभ्रे खण्डको ग्राभेलिङ सकियो


 Mechikali 

काभ्रे– पुष्पलाल (मध्यपहाडी) राजमार्गको काभ्रे खण्ड सडकमा ग्राभेलिङको काम सम्पन्न भएको छ । मध्यपहाडका जिल्लालाई सडक सञ्जालमा जोडी पूर्व–पश्चिम जोड्ने बैकल्पिक सडकको रुपमा विकास गर्ने उद्देश्यले सरकारले पुष्पलाल(मध्यपहाडी) राजमार्गको काम अघि बढाएको हो । राजमार्ग अन्र्तगत काभ्रे जिल्लामा पर्ने ४८ किलोमिटर सडक खण्डको काम तीन वटा ठेक्कामार्फत सञ्चालन गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेले जनाएको छ ।
धुलिखेलमा रहेको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर ईश्वर कार्कीले राजमार्ग अन्र्तगत काभ्रे जिल्लामा पर्ने ४८ किलोमिटर सडकमा ग्राभेलिङ गर्ने काम सम्पन्न भएको बताउनुभयो । उहाँले जिल्लाको चौँरीखोलादेखि बित्र्तादेउरालीसम्मको २५ किलोमिटर सडक र भुम्लु गाउँपलिकाको पौवाडाँडाँदेखि बन्देउसम्मको छ किलोमिटर सडक ग्राभेलिङ सकेर योजनालाई हस्तान्तरण भैसककेको बताउनभुयो । इन्जिनियर कार्कीले सडक योजनाको बित्र्तादेउराली–पौवाडाँडा सडक खण्ड अन्र्तगतको १७ किलोमिटर सडक खण्डमा ग्राभेलिङको काम सकिएको र उक्त सडक खण्डको फलाँटे नजिकै एउटा कल्भर्ट बन्न बाँकी रहेकोले सडक हस्तान्तरण हुन बाँकी रहेको बताउनुभयो ।
राजमार्ग अन्र्तगत काभ्रे खण्डमा ग्राभेलिङको काम सम्पन्न भएपछि जिल्ला अनु्गमन समितिका अध्यक्ष तथा काभ्रे प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको अनुगमन समितिले बुधबार उक्त राजमार्गको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले विगतका वर्षहरुमा राजमार्गको काम सुस्त गतिमा भएपनि यस वर्ष राजमार्ग निर्माणको काम तिव्र रुपमा अघि बढेको बताउनुभयो । उहाँले आयोजनाले अनुगमनका क्रममा राजमार्गको काभ्रे खण्डको सडकमा मापदण्ड बमोजिम १५ सेन्टिमिटर ग्राभेलिङ तथा अन्य कामहरु पनि मापदण्ड बमोजिम नै भएको पाइएको बताउनुभयो । उहाँले अनुगमन समितिले हरेक वर्ष राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने गरेको बताउनुभयो ।
सडक योजनाका इन्जिनियर कार्कीले चौँरीखोलादेखि बित्र्तादेउराली सडक खण्ड अन्र्तगतको २५ किलोमिटर सडक स्वच्छन्द÷बन्धन भगवती÷खानी जेभी, बित्र्तादेउराली–पौवाडाँडा सडक खण्ड अन्र्तगतको १७ किलोमिटर सडक कालिका÷प्यासिफिक जेभी र पौवाडाँडादेखि बन्देउसम्मको सडकखण्डको ६ किलोमिटर सडक महादेव खिम्ति÷अकेला जेभीमार्फत निर्माण गरिएको बताउनुभयो । उहाँले चौँरीखोलादेखि बित्र्तादेउराली सडक खण्ड अन्र्तगतको २५ किलोमिटर सडकको ठेक्का पाएको ठेकेदार कम्पनीको मर्मत अवधि सकिएकोले सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको बताउँदै दशैँअघि सडक कालोपत्रेको ठेक्का प्रक्रिया सम्पन्न हुने बताउनुभयो ।
इन्जिनियर कार्कीले चौँरीखोलादेखि बित्र्तादेउराली सडक खण्डका लागि भ्याट बाहेक ९३ करोड, बित्र्तादेउराली–पौवाडाँडा सडक खण्डका लागि ४३ करोड र पौवाडाँडादेखि बन्देउसम्मको सडकखण्डको लागि १६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको बताउनुभयो । उहाँले पुष्पलाल (मध्यपहाडी) राजमार्ग १० मिटरको भएपनि नाली कटाएर सात मिटर सडक कालोपत्रे गरिने बताउनुभयो ।
पाँचथर जिल्लाको चियोभञ्ज्याङ (नेपाल भारत सिमाना)बाट सुरु भएको राजमार्ग मध्यपहाडका २६ वटा जिल्लालाई समेट्दै पश्चिमको बैतडी जिल्लाको झुलाघाट(महाकाली नदी) सम्म जोडिनेछ । सरकारले आन्तरिक स्रोतबाट सम्पूर्ण खर्च व्यहोर्ने गरी आर्थिक वर्ष २०६४÷०६५ देखि राखजमार्ग निर्माणको काम सञ्चालन गरेपनि काभ्रेमा भने आर्थिक वर्ष २०७४÷०७५ बाट राजमार्ग निर्माणको काम सुरु भएको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्गको कुल लम्बाई करिब १ हजार ८७९ किलोमिटरको हुनेछ ।

प्रतिक्रिया



थप समाचारहरु