म्याद सकिँदा पनि कारागार भवनको काम पुरा भएन


 Mechikali 

धुलिखेल– काभ्रेको धुलिखेलमा निर्माण भईरहेको जिल्ला कारागार कार्यालय काभ्रेको प्रशासनिक भवन निर्माणमा ढिलाई भएको छ । पाँच महिनामा भवन निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएपनि सम्झौताको समयावधि सकिँदा समेत भवन निर्माणको काम पुरा हुन सकेको छैन । पाँच महिनामा भवन निर्माण गर्ने विषयमा २०७७ माघ १९ गते एमसिसि कन्स्ट्रक्सन प्रालिसँग भवन निर्माण सम्झौता भएको थियो । भवन निर्माणको ठेक्का पाएको कम्पनीले समयमा काम सुरु नगर्दा भवन निर्माणको काममा ढिलाई भएको हो ।
जिल्ला कारागार कार्यालय काभ्रेमा प्रमुख जेलर गायत्री अधिकारीले निर्माण कम्पनीले पाँच महिनामा भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेपनि हालसम्म भवनको एक तला मात्रै ढलानको काम सकिएको बताउनुभयो । उहाँले भवन निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्यालयले कोभिडको समयमा पास उपलब्ध गराएपनि निर्माण कम्पनीले काम नगरेका कारण भवनको काम ढिलाई भएको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीले दुई तला भवन निर्माण, रङ्गरोगन गर्ने लगायतका काम गर्ने सम्झौता उल्लेख भएको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीले केभिडको कारण देखाउँदै भवन निर्मणको लागि म्याद थप गर्न निवेदन दिएको बताउनुभयो ।
उहाँले कारागार व्यवस्था विभागले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट विनियोजन नगरेकोले ठेकेदार कम्पनीको आग्रहको पत्रलाई विभागमा पठाइएको बताउनुभयो । कारागार प्रमु्ख जेलर अधिकारीले कारागारको सुरक्षाका लागि कारागार परिसरमा ३५ लाख रुपियाँको लागतमा ४१ मिटर लामो र १७ फिट उचाईको पक्की पर्खाल लगाउने काम सम्पन्न भएको बताउनुभयो । उहाँले पर्खाल लगाउने काम जोशी जी कन्स्ट्रक्सन प्रालिले गरेको बताउनुभयो ।
भवन निर्माण कम्पनीका प्रोपाईटर राधाकृष्ण देवले भने भवनको डिजाइन परिवर्तन लगायतका कारणले भवन निर्माणको काममा ढिलाई भएको बताउनुभयो । उहाँले भवन निर्माणको क्रममा डिजाईन परिवर्तन, भवन निर्माण गर्ने स्थान साँघुरो रहेकोले माटो राख्ने ठाउँको समस्या र कोरोनाका कारण भवन निर्माणमा खटिने प्राविधिक बिरामी पर्नुको साथै काम गर्ने कामदारहरु काम छोडेर घर गएकोले भवन निर्माणमा ढिलाई भएको बताउनुभयो । भवन निर्माणका लागि ठेकेदार कम्पनीसँग ५६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रतिक्रिया



थप समाचारहरु