बयानब्बे प्रतिशत सामुदायिक विद्यालय पुनर्निर्माण सम्पन्न


 Mechikali 

काभ्रे– भुकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका ९२ प्रतिशत सामुदायिक विद्यालयको पुनर्निर्माणको काम सकिएको छ । सरकारले भुकम्प गएको पाँच वर्षभित्र भुकम्प पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने जनाएपनि काभ्रेमा भुकम्पबाट क्षति पुगेका सामुदायिक विद्यालयको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) का आयोजना प्रमुख देवकुमार बरालले विनाशकारी भुकम्पका क्षति पुगेकामध्ये ९२ प्रतिशत सामुदायिक विद्यालयको पुनर्निर्माणको काम सकिएको जानकारी दिनुभयो ।

उहाँले कोरोना सङ्क्रमणका कारण दुई महिना विद्यालय पुनर्निर्माणको काम सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले भुकम्पमा क्षति पुगेका ८ प्रतिशत बिद्यालयको पुनः निर्माणको काम बाँकी रहेको बताउनुभयो । आयोजना प्रमुख बरालले हालसम्म नेपाल सरकारको सहयोगमा विद्यालय ब्यवस्थापन समितिमार्फत दुई सय वटा बिद्यालय, एशियाली विकास बैँकको सहयोगमा भुकम्प आपतकालिन सहायता परियोजना (इइएपी) अन्र्तगत २८ वटा सामुदायिक बिद्यालयको पुनःनिर्माणको काम सम्पन्न भएको बताउनुभयो ।
त्यसैगरी एशियाली विकास बैँकको ऋण सहयोगमा विपद् उत्थानशिल विद्यालय परियोजना (डिआरएसपी) पहिलो अन्र्तगत दश बिद्यालयका तेह्र वटा भवन पुनर्निर्माणाको काम सम्पन्न भएको छ । यस्तै विभिन्न गैह्र सरकारी संस्थाको सहयोगमा जिल्लामा भुकम्पबाट क्षति भएका ८९ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको आयोजना इकाईले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार शिक्षा विकास समन्वय इकाई काभ्रे मार्फत जिल्लामा भुकम्पबाट क्षति पुगेका ५९ विद्यालयमध्ये ३३ वटा विद्यालयको भवन पुननिर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले एशियाली विकास बैँकको ऋण सहयोगमा डिआरएसपी दोस्रो चरणमा हाल नौ वटा बिद्यालयको तेह्र वटा भवन पुनः निर्माणको काम ५५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
उहाँले भारतीय राजदुतावासको सहयोगमा १२ वटा बिद्यालयका १८ वटा भवनमध्ये दश वटा विद्यालयको काम ९० प्रतिशत सम्पन्न भएको र दुई विद्यालयको काम १० प्रतिशत मात्रै सम्पन्न भएको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण हुने ६९ विद्यालय पुनर्निर्माणको काम भईरहेको बताउनुभयो । आयोजना प्रमुख बरालले डिआरएसपी तेस्रो अन्र्तगत जिल्लाको महाभारत गाउँपालिकामा निर्माण हुने तीन वटा विद्यालयको भवन पुनर्निर्माणको बोलपत्र आह्वानको सूचना प्रकाशित भएको बताउनुभयो । उहाँले जिल्लाका ८८ वटा बिद्यालयमा खानेपानी आयोजनाको काम समेत भईरहेको बताउनुभयो ।
इकाइले विभिन्न बिद्यालयमा १४६ वटा शौचालय निर्माण गर्नुपर्नेमा हालसम्म २५ वटाको काम सम्पन्न भएको र अन्यको काम अन्तिम चरणमा रहेको जनाएको छ । काभ्रेमा भुकम्पबाट क्षति पुगेका बिद्यालय भवनहरु पुनःनिर्माण हुनुको साथै सामान्य क्षति भएका बिद्यालयहरुको प्रवलीकरण (रेट्रो फिटिङ) गर्ने काम समेत अघि बढेको छ । प्रवलीकरण गर्नुपर्ने १८ विद्यालयमध्ये दश विद्यालयको बोलपत्र आह्वानको काम सकिएको बताउनुभयो । भुकम्पबाट काभ्रेमा ५८७ वटा सामुदायिक विद्यालयका ९५४ वटा कोठा पूर्ण क्षति, ९१४ कक्षाकोठा अधिक क्षति र एक हजार ४८३ कोठा सामान्य क्षति भएको थियो । काभ्रेमा विद्यालय पुनर्निर्माणको लागि छ अर्ब ३९ करोड रुपियाँ खर्च भएको छ ।

प्रतिक्रिया



थप समाचारहरु