स्याउ भण्डारणको लागि कोल्ड स्टोर निर्माण गर्न माग


 Mechikali 

डोल्पा– डोल्पा जिल्लाका किसानहरुले जिल्लामा उत्पादित स्याउको भण्डारणको लागि कोल्ड स्टोर निर्माण गर्नका लागि माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) को आयोजनामा बिहिबार आयोजित वार्षिक समिक्षा कार्यक्रममा उपस्थित किसानहरुले स्याउ भण्डारणका लागि कोल्ड स्टोर निर्माण गर्न माग गरेका हुन् । कार्यक्रममा किसान तथा किसानका प्रतिनिधिहरुले जिल्लामा स्याउ जोन कार्यक्रम लागु भएपछि स्याउ उत्पादनमा बृद्धि भएको बताउँदै स्याउको बजारीकरणका लागि परियोजना तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने तथा स्याउ प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने माग गरेका थिए ।
समिक्षा कार्यक्रममा परियोजनाका कार्यालय प्रमुख रामदरेश रायले आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालित कार्यक्रमहरुको प्रगतिको बारेमा जानकारी दिनुभएको थियो । उहाँले जिल्लाको ठुलो भेरी नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ३ र ४ मा स्याउ जोन कार्यक्रम सञ्चालन भएको बताउनुभयो । कार्यक्रममा उपस्थित किसानहरुले डोल्पा जिल्लामा भौगोलिक विकटताका कारणले परियोजनाले साना सिंचाईका लागि दिने एक लाख पचास हजार रुपियाँले काम गर्न समस्या हुने भएकोले साना सिंचाईमा कम्तिमा तीन लाख रुपियाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए ।
समिक्षा कार्यक्रममा करिब पाँच सय किसानहरुलाई ५० प्रतिशत अनु्दानमा स्याउको कार्टुन तथा क्रेटहरु वितरण गरिएको परियोजनाले जनाएको छ । समिक्षा कार्यक्रममा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ डोल्पाका सचिव लेख बुढा, सुरक्षा निकाय प्रमुखहरुको उपस्थिती रहेको थियो । डोल्पामा २०७६ असोजबाट स्याउ जोन कार्यक्रम लागु भएको हो । दुई नगरपालिकाको ११ वटा वडाको करिब ५ सय हेक्टर जमिनमा स्याउ जोन कार्यक्रम लागु गरिएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु