श्रीमती र छोराको हत्या आरोपी पूर्पक्ष थुनामा


 Mechikali 

काभ्रे– श्रीमती र छोराको हत्या आरोपमा पक्राउ परेका युवालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काभ्रेले आईतबार श्रीमती र छोराको हत्या आरोपमा पक्राउ परेका काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर– ७ का ३२ वर्षीय माधव उपाध्याय घिमिरेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला न्यायाधिश महेन्द्रराज काफ्लेको इजलाशले थुनछेक आदेशको क्रममा घिमिरेलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत काभ्रेले जनाएको छ ।

अदालतको आदेशपछि घिमिरेलाई जिल्ला कारागार कार्यालय काभ्रेमा पठाइएको छ । घिमिरेले असार ३ गते बनेपा नगरपालिका–११ सिनागालस्थित बानियाँ टोलमा रहेको आफ्नो कोठामा ३० वर्षीया श्रीमती मनिषा कार्की (घिमिरे) र छ वर्षीय छोरा युआन घिमिरेको सिरानीले मुख छोपी हत्या गरेका थिए । श्रीमती र छोराको हत्या गरी एक दिनसम्म कोठामा शव लुकाई राखेका घिमिरेले छिमेकीले श्रीमती र छोराको विषयमा चासो राखेपछि असार ३ गते राती ११ बजेतिर कोठामा ताला लगाएर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले हत्या आरोपी घिमिरेले प्रहरीले अनुसन्धान गर्ने क्रममा आफुले श्रीमती र छोराको हत्या गरेकोले अदालतको आदेश आएपछि आफुलाई काभ्रे कारागार भन्दा बाहिर पठाइदिन आग्रह गरेको बताउनुभयो । ‘आरोपित घिमिरेले श्रीमती र छोराको हत्या गरेको र त्यस सम्बन्धमा अदालतले आदेश दिएपछि काभ्रे कारागारमा रहँदा आफन्त तथा चिनेजानेका व्यक्तिहरु भेट्न आउने भएकोले काभ्रेबाट अन्यत्र जिल्लामा रहेको कारागार पठाइदिन आग्रह गरेका छन्’ खतिवडाले थप्नुभयो । श्रीमती र छोराको हत्यापछि उनले पनि आत्महत्या गर्नको लागि सिटामोलका चक्की धेरै खाएको प्रहरीलाई बयान दिएका थिए ।
जिल्ला कारागार कार्यालय काभ्रेका प्रमुख जेलर गायत्री अधिकारीले पूर्पक्षका लागि कारागार चलान भएका घिमिरेले आफुलाई काठमाडौँ वा दोलखाको चरिकोटामा रहेको कारागार पठाइदिन आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु