एउटा संस्मरण : विपीको गाउँ पुग्दा


 Mechikali 

-विनोद न्यौपाने
बनेपाबाट सिन्धुलीको नेपालथोक गाडी चलेको १० वर्ष पुग्नै लागिसकेको छ । ५१ किलोमिटर लामो यो सडकखण्डले काभ्रेमात्रै नभई सिन्धुली, र रामेछापबासीलाई पनि निकै राहत दिएको छ । अहिले नेपालथोकबाट सिन्धुलीको खुर्कोटतिर पनि बस चल्न थालेका छन् ।

बनेपाबाट ५० किलोमिटर बसयात्रा गरेपछि आइपुग्छ सिन्धुलीको दुम्जा गाविसको आँपघारी । हुन त यहाँ आँपका रुख देखिँदैनन् । तै पनि नाम आँपघारी राखिएको छ । आँपघारीबाट नाकै ठोक्किने उकालो हिँडेपछि पुगियो दुम्जा । बनेपा–वर्दिबास राजमार्गको धुलिखेल नेपालथोक खण्डको निर्माण भएपछि कैयौंपटक नेपालथोकको यात्रा तय भए पनि दुम्जा गाउँ बिरानो थियो । एकजना साथीको विहेको मौका पारेर पुगियो १७ असारमा दुम्जा । सिन्धुलीको क्षेत्र नं. ३ मा पर्ने यो गाउँ त्यही हो जहाँ विश्वेश्वरप्रसाद कोइरालाका पुर्खा बस्थे । नेपाली राजनीतिमा उल्लेखनीय नामहश्र विपीदेखि जिपी (गिरिजाप्राद) को जग्गा अझै छ रे भन्ने सुनेपछि लागियो उनीहरुको पुख्र्यौली घर र जग्गा खोज्न ।

विपी होइन विपिन
घण्टौं लगाएर विपी कोइरालाको पुख्र्यौली घरको बारेमा जानकारी लिनखोज्दा सम्भव भएन । गाउँमा निकै कम रहेका बुढापाकाहरु कोही भेटिएनन् । अनि जति युवा र प्रौढ भेटिए उनीहरुसँग सोधियो, ‘विपीको घर कहाँ पर्छ ?’ अधिकांशले प्रतिप्रश्न गरे, ‘विपीनको घर खोज्नुभएको हो ?’ यहाँका धेरै मानिसलाई यो गाउँ विपी कोइरालाको पुख्र्यौली गाउँ हो भन्ने पनि थाहा रहेनछ । पूर्व सांसद (सायद मन्त्री पनि भए क्यारे !) विपिन कोइरालाको नाम यो गाउँका सबैलाई कण्ठस्तै रहेछ । अनि विपी ? अहँ धेरैलाई विपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका नेपाली राजनीतिमा नाम चलेका ‘कोइरालाहरु’ को पुख्र्यौली घर यहाँ पछि भन्ने पनि थाहा रहेनछ । बच्चादेखि ५० वर्ष उमेरको आसपासमा चलिरहेका अधिकांशले विपी सोध्दा विपिन सम्झेर उनको बारेमा बताउन खोज्नुको कारण यही होला । कस्तो विडम्वना !

चारवटा गाउँ लगाएर खोजियो विपीको पुख्र्यौली घर र उनको जग्गा । गाउँभरिका दर्जनौं व्यक्तिलाई सोध्दा पनि पत्ता नलागेपछि एउटा सानो झुपडीमा पसियो । त्यहाँ भेटिए इन्द्रवहादर विश्वकर्मा । उनी भने विपी मात्रै होइन कृष्णप्रसाद कोइराला (विपीका पिता) का बारेमा समेत थोरै भएपनि जानकार रहेछन् । उनले विपी, गिरिजा मातृका र पिता कृष्णप्रसादका बारेमा पनि केही वताउने प्रयास गरे । विपीको पुख्र्यौली घर रहेको स्थान पनि वताइदिए ।
उनलाई धन्यवाद दिँदै फर्कन लाग्दा बाटामा भेटिए ६५ वर्षीय गोविन्द कोइराला । आफूलाई विपीहरुकै खलक बताउने उनले विपी मर्दा जुठोसमेत बारेको वताए । तर, उनलाई पनि विपीको बारेमा अरु केही जानकारी रहेनछ । न त यही ठाउँबाट बसाई सरेर गएका कृष्णप्रसाद कोइरालाकै बारेमा । ‘मलाई होइन मेरो दाजु रामप्रसाद कोइरालालाई सबै थाहा हुन्छ’ उनले अर्को स्रोत देखाइदिए र भने ‘तल बिहेघरमा भेटिन्छन् बुढा ।’ अनि तल्लो गाउँमा झरेपछि भेटिए रामप्रसाद कोइराला । सम्भवत गाउँमा विपी कोइरालामात्रै होइन उनका पिता कृष्णप्रसाद कोइरालाका बारेमा सबैभन्दा बढी जानकारी उनीसँगै रहेछ । कृष्णप्रसाद कोइरालाको नाम लिनेवित्तिक्कै उनले सोधिहाले ‘को खरदार कृष्णप्रसाद ?’ संवाददाताले ‘हो’ भनेपछि उनले कुरा सुरु गरे ।

काम गर्न गाह्रो भएकाले बसाई सरे कृष्णप्रसाद
सुरुमै कृष्णप्रसाद कोइराला दुम्जा छाडेर विराटनगर झर्नुको कारणबारे उनलाई सोधियो । गिरिजाप्रसादका उमेरका मात्रै होइन उचाई अलि बढि भएका भए उनीजस्तै देखिने रामप्रसादले कृष्णप्रसाद कोइराला यो भीरपाखामा काम गर्न गाह्रो भएकाले विराटनगर बसाई सरेको वताए । ‘मेरो बुबाले भन्नुभएको’ उनले सुरुमै आफूलाई जानकारी दिने आफ्ना पितालाई सम्झे अनि भने, ‘यहाँ तलको ठूलो भीरमा एकदिन कृष्णप्रसाद कोइराला घाँस काट्दै रहेछन् । घाँसको भारी बोकेर फर्कने बेलामा उनी झण्डै भीरबाट तल खसेछन् । र, उनले सोचेछन्, यो भीरपाखामा बसिरह्यो भने मेरा शाखा सन्तानले दुःखबाहेक केही पाउँदैनन् । सोही कारण उनी यो ठाउँ छाडेर विराटनगर गए ।’ राणाकालमा उनको सम्पति सर्वस्वहरण भएकै कारण कृष्णप्रसाद कोइराला बसाई सरेको भन्नेहरु पनि छन् । तर, रामप्रसादले त्यसलाई अस्वीकार गरे । ‘उनी सर्वस्वहरण भएका कारण बसाईं गएका होइनन्’ उनले पटक–पटक दोहो¥याए, ‘उनी बसाई सरेपछि त्यतिकै छाडेर गएको जग्गा पछि सर्वस्वहरण गरिएको हो ।’

रामप्रसादको सम्झनामा कृष्णप्रसाद कोइरालाका अन्य दाजुभाई भने कोही काठमाडौं गएर बसे र उतै देहत्याग गरे । केहीको बारेमा भने आफ्ना पिताहरुलाईसमेत जानकारी नभएको रामप्रसादले सुनाए ।

हुन पनि विकासबाट निकै परेको यो ठाउँमा बनेपा–वर्दिबास सडकले भने निकै राहत दिएको छ । ‘सायद यस्तो मोटरबाटो मात्रै भइदिएको भए पनि कृष्णप्रसाद बसाई सरेर जाँदैनथे कि’ रामप्रसादले भने, ‘मधेशमा भन्दा त गाउँमा दुख्खै हुन्छ नि ।’

अहिले कृष्णप्रसाद कोइरालाको घरमात्रै होइन जग्गासमेत बाँकी नरहेको रामप्रसाद वताउँछन् । ‘थुप्रै जग्गा भए पनि कृष्णप्रसादको सेवा गरेर बसेका घर्तीहरुले भोगचलन गरेका छन् त्यो जग्गा’ रामप्रसाद भन्छन् । पशुपतिको कोषको रकम खर्च गरेर दासप्रथाबाट मुक्ति पाएका घर्तीहरु (जो अहिले शिवभक्ति थर राख्छन्) उनीहरुले नै कृष्णप्रसाद कोइरालाले छाडेर गएपछि जग्गा भोगचलन गरेका रहेछन् । पछि नापी सुरु भएपछि जग्गा उनीहरुकै नाममा पास भएको दुम्जा गाविसका भूतपूर्व अध्यक्ष शम्भु दाहालले वताए । दाहालका अनुसार कृष्णप्रसाद कोइरालाको घर भने वर्षौंपहिले भत्किसकेको छ । ‘घर त कहाँ बाँकी हुनु र’ उनले भने, ‘संरक्षण नभएपछि पुरानो घर भत्किएर नयाँ बनाइएको छ ।’ कृष्णप्रसाद कोइरालाको घरको भग्नावशेससमेत बाँकी नरहेको उनी वताउँछन् ।

वत्तिमूनिको अँध्यारो
नेपाली राजनीतिमा चर्चित अनुहारका पुख्र्यौली गाउँ भए पनि दुम्जालाई ‘वत्तिमूनिको अँध्यारो’ भन्छन् रामप्रसाद कोइराला । ‘बाटो त आयो तर, अरु केही पनि विकास भएको छैन’ रामप्रसादले भने, ‘अव त यसलाई विपीहरुको पुख्र्यौली गाउँ हो भनेर भन्ने पनि कोही छैनन् ।’ धेरै ठाउँमा नेताहरुले आफ्नो क्षेत्रलाई धेरै बजेट छुट्याएको सुनेका रामप्रसाद मात्रै होइन सुरुमै भेटिएका इन्द्रवहादुर विश्वकर्मा पनि विपीहरुको पुख्र्यौली गाउँ भइकन पनि विकास नहुँदा नेताहरुले वास्ता नगरेको ठान्छन् ।

बनेपा–वर्दिबास राजमार्गको आँपघारीबाट १ घण्टाभन्दा बढी उकाले हिँडेर पुगिने यो गाउँमा खानेपानी, विजुली लगायतका पूर्वाधारहरुको अभाव रहेको पूर्वअध्यक्ष दाहालले वताए । ‘एउटा क्याम्पस भर्खर चल्न थालेको छ, तर त्यसलाई पनि पूर्वाधार र जनशक्तिको अभाव छ’ दाहाल भन्छन्, ‘खानेपानी, बिजुलीको समस्या त एकदमै जटिल भएको छ ।’ रामप्रसादका अनुसार विपी कोइराला यो ठाउँमा चारपटक आएका छन् । एकपटक राणाहरुले पक्रेर काठमाडौं लैजाँदा विपीलाई यही गाउँ हुँदै लगिएको सम्झन्छन् उनी । त्यसपछि ०७ सालमा प्रजातन्त्र स्थापना भएपछि तीन पटक आएको सम्झिए उनले । ‘हामी सरकारमा गयौं भने यो गाउँका लागि केही गर्छु भन्नुहुन्थ्यो विपीले’ रामप्रसादले भने, ‘तर, उहाँहरु सरकारमा धेरै बस्न पाउनु भएन, विकास पनि आएन ।’ विपीकै कारण बनेपा–वर्दिबास राजमार्ग निर्माण भएको वताउँछन् उनी । उनले यो क्षेत्रको दुःख देखेरै यो बाटो बनाउने निर्णय गरेको रामप्रसादले बताए । भने, ‘उहाँले भनेका सबै विकास नभए पनि बाटो बने पछि भएपनि बन्यो ।’ ०१६ सालमै विपीले शिलान्यास गरेको यो राजमार्ग ०५० को दशकमा मात्रै बन्न सुरु भएको हो । तर, अझै पुरै निर्माण भने भइसकेको छैन ।

विपी यो गाउँमा आउँदा सबै गाउँलेहरु मिलेर भोज खाएको सम्झन्छन् रामप्रसाद । भन्छन्, ‘सबै गाउँले मिलेर भोज बनाएका थियौं, उहाँले त्यहाँ सबैसँग बसेर खानुभयो ।’ विपी एकदमै मिलनसार र गाउँलेहरुको उन्नति देख्न चाहने व्यक्ति भएको अनुभव रामप्रसादको छ । ‘उहाँ निकै सरल हुनुहुन्थ्यो’ उनी भन्छन्, ‘गाउँमा आएपिच्छे नै ‘मेरो पुख्र्यौली गाउँको विकास गर्छु’ भन्नुहुन्थ्यो ।’

गिरिजा बोलेको पु¥याउँदैनन्
विपी कोइरालाले तत्कालिन परिस्थितिअनुसार आफूले बोलेका कतिपय कुराहरु पुरा गर्न नसकेपछि गिरिजाप्रसाद कोइरालालाई भने ‘बोल्ने, तर काम नगर्ने’ व्यक्ति ठान्छन् स्थानीयबासी । विपी तथा गिरिजाका पिता कृष्णप्रसाद कोइरालाको पुख्र्यौली ठाउँमा उनको प्रतिमा .(शालिक) बनाउने यहाँका गाउँलेको ठूलै धोको रहेछ । पटक–पटक कृष्णप्रसाद कोइरालाको प्रतिमा निर्माणका लागि आवाज उठाए पनि अहिलेसम्म काम नभएपछि खिन्न छन् दुम्जाबासी । पूर्व अध्यक्ष दाहालका अनुसार ०४६ सालमा प्रजातन्त्र आएपछि दाहालसहितको टोलीे पटक–पटक कृष्णप्रसाद कोइरालाको प्रतिमासहितको पार्क बनाउने योजना लिएर गिरिजाप्रसाद कोइरालाकहाँ पग्यो । ०५४ सालको स्थानीय निर्वाचनको प्रचारको क्रममा पूर्वाञ्चलको भ्रमणपछि हेलिकोप्टरबाट फर्कँदै गर्दा आफ्नो पुख्र्यौली गाउँ हेर्न केहीबेर हेलिकोप्टर रोकर गाउँमा ओर्लिएका गिरिजाप्रसादले प्रतिमा र पार्क बनाउने योजनाको विस्तृत विवरण ल्याउन आग्रह गरेका थिए । ‘उहाँले योजना बनाएर ल्याउनुस् म सहयोग गर्छु भन्नुभएको थियो’ दाहाल भन्छन्, ‘हामीले इन्जिनियर लगाएरै झण्डै ६० लाख रुपैयाँ खर्च हुने योजना बनाएर पेश गरेका थियौैं ।’ तर, त्यसपछि न गिरिजाप्रसाद यो गाउँमा आए, न सीमित गाउँलेको जोडले नै यहाँ प्रतिमा निर्माण हुन सक्यो । दाहाल भन्छन्, ‘अहिले त प्रतिमा बनाउने कुरा नै सेलाइसक्यो ।’ कृष्णप्रसाद कोइरालाको प्रतिमा बनाउन आग्रह गर्दै काठमाडौं धाएको सम्झने इन्द्रवहादुर विश्कर्मा त यो विषय निकाल्ने वित्तिक्कै आक्रोशित भए । भने, हामीले पहल गरेकै हो तर उनका (गिरिजाप्रसाद) बाउको प्रतिमा बनाउने उनैले चासो दिएनन् हामीले मात्रै भनेर के हुन्छ ?’ हुन पनि यो गाउँमा अब कृष्णप्रसाद कोइरालाको सम्झना गराउने केही कुरा बाँकी छैनन् । उनको घर भएको ठाउँमा अरुले नै घर बनाएर बसिसके । उनका जग्गाहरु अर्कैका नाममा पास भइसके । अनि उनको सम्झनामा निर्माण गर्ने भनिएको प्रतिमा र पार्क निर्माणको कुरा ओझेलमा परिसक्यो । दाहाल भन्छन्, ‘पुस्र्तौसम्म कृष्णप्रसाद र विपीको सम्झना गराउने हाम्रो प्रयास सफल हुन सकेन ।

गिरिजाप्रसाद कोइरालाले नसके अहिले मन्त्री भएकी उनकी छोरी सुजाताले यो योजनालाई ध्यान दिनुपर्ने वताउँछन् रामप्रसाद कोइराला । ‘अब उहाँले सक्नुभएन भने उहाँका सन्तानले भए पनि प्रतिमा बनाउनुपर्छ’ रामप्रसादले भने । उता, दाहाल भने सुजतालाई आफूले भेटेरै यो कुरा वताएको सुनाउँछन् । भन्छन्, ‘उहाँ पनि सकारात्मक हुनुहुन्थ्यो, तर पछि चासै दिनुभएन ।’ तै पनि अझै कृष्णप्रसादको प्रतिमा निर्माण होला कि भन्ने आश भनेर मरिसकेको छैन उनीहरुको ।

(यो फिचर २०६साउनमा नयाँ पत्रिका दैनिकमा प्रकाशन गरिएको हो । यसमा उल्लेखित कतिपय पात्रको अहिले निधन भइसकेको छ भने परिवेश पनि निकै परिवर्तन भइसकेको छ ।)

 

प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !