धर्म ठूलो कि विज्ञान?


 Mechikali 

-भिक्षु कश्यप

धर्म अनेकार्थी शब्द हो, संस्कृत भाषाका यो शब्द धृ धातुवाट बनेको छ। ‘धार्यते इति धर्म’ अर्थात जो धारण गरिन्छ तेहि धर्म। सामन्य अर्थमा चित्तले जे धारणगर्छ त्यो नै धर्म, यदि चित्तमा अकुशल (जस्तैः रिस, लोभ घृणा आदि) धारण गरिएको छ भने त्यसलाई अधर्म भनिन्छ। सुक्ष्म रुपमा संपूर्ण भौतिक जगत र चित्त जगतलाई जे नियमले धारण गरेको छ त्यसलाई पनि धर्म भनिएको छ, त्यसैले प्रकृतिको नियमलाई पनि धर्म भनिएको छ। आध्यत्मिक मार्गलाई वा पन्थहरुलाई पनि धर्म भनिन्छ पछिल्लो समयमा जस्तैः हिन्दु, इसाइ, इस्लाम, बौद्ध धर्म आदि। न्याय, सत्य, कर्तब्य, सदाचार आदि अर्थ लाग्ने गरेर पनि धर्म शब्दको प्रयोग भएको पाइन्छ। कुनै बस्तुको स्वाभाविक गुणलाई पनि धर्म भनिएको छ जस्तै ‘आगोको धर्म जलाउनु हो’।

आधुनिक समयमा विज्ञान शब्दको अर्थ प्रविधि, यन्त्र विकासको अर्थमा बुझिन्छ प्राय। कुनै एकेडेमिक अध्ययनको विषयलाई पनि विज्ञान शब्दको प्रयोग हुने गरेको छ जस्तै राजनैतिक विज्ञान, जैविक विज्ञान, राशायनिक विज्ञान आदि। विज्ञान शब्दको पुरातन अर्थ पनि छ, जो हिजोआज विरलै प्रयोग हुन्छ, त्यसको व्याख्या हामी तल गर्ने छौं।

मानिस चेतनशिल प्राणि हो, मानस अर्थात मनले हाम्रो जीव(मन र सरिर)लाई कृयाशिल गराउने भएकाले मानिस भनिन्छौं हामी। मन नहुने हो भने हामी जड सरिरमात्र बांकि रहन्छौं, जसलाई अजिव भनिन्छ। तर हामी जिव हौं किनकी हामी जिवित छौं, हामीमा मन छ, हामीमा चेतना छ। चेतनशिल भएकाले हामीमा जान्ने क्षमता छ त्यसैले हामी हरेक कुरा जान्न चाहन्छौं, चाहे त्यो भौतिक जगत होस् या आध्यात्मिक (या चेतना) जगत। गहिराइ सम्म जान्नकालागि हरेक कुरालाई टुक्रा टुक्रा गरेर हेर्नु पर्ने हुन्छ, भौतिक जगतको पनि, र चेतना जगतको पनि। हामी दुख सुख पनि अनुभव गर्छौं, हामी दुख चाहंदैनौं र सुख मात्र चाहन्छौं। त्यसैले हामी उच्चतम सुख कसरि प्राप्त हुन्छ त्यसको खोजिमा पनि छौं, भौतिक सुख र मानसिक सुख दुबै।

हाम्रो सरिर केले र कसरी बनेको छ जान्नका लागि सरिरका हेरक अंगलाई अलग अलग केलाएर हेन्रु पर्छ। हेरक अंग पनि केले र कसरी बनेको छ हेर्न थप टुक्रा टुक्रा गरेर हेर्छन् वैज्ञानिकरहरु। माशु हड्डि, छाला, रगत इत्यादि पनि केले र कसरि भनेको छ भन्ने शुक्ष्म हेर्दै जांदा अणु, परमाणु सम्म देख्छन् वैज्ञानिकहरु। त्यसलाई पनि टुक्रा गरेर हेर्दा ‘फूटोन र क्वान्टा, न्युट्रिनो आदि’ सम्म पुगेका छन् वैज्ञानिकहरु, अव थप टुक्रा हुंदैन ‘फूटोन र क्वान्टाम’ न्युट्रिनो को, यी तरङ्ग-तत्वहरु घरि तरङ्ग (wave) घरि शुक्ष्मतम्-तत्व(particle)को रुपमा प्रकट र विनाश भैराखेका हुन्छन्। भौतिक जगतले शुक्ष्म स्तरमा किन गर्छन् यस्तो व्यवहार, कारण थाहा हुन सकेको छैन। आइन्सटाइनले यसलाई शुक्ष्मतम् तत्व (क्वान्टम)को spooky action (तर्साउने व्यवहार) भनेका छन्। त्यस्तै, जिवजगत, बनस्पति जगत, भूगर्भ जगतको पनि मसिनो विष्लेशण गरी राखेका छन् वैज्ञानिकहरुले। वाह्य जगतको जानकारीका लागि अन्तरिक्षयानहरु बनाएर अन्तरिक्ष यात्रामा धेरै पर पुगि सकेका छन् वैज्ञानिकहरु। यो त भयो आधुनिक वैज्ञानिकहरुले जान्ने तरिका, तर यस्मा चेतना जगतलाई हेरिएको छैन, अनदेखा गरिएको छ। चेतना जगत जान्नका लागि प‍ूर्वका ऋषिमुनिहरु, योगिहरु, सन्यासिहरु, बुद्धहरुले अन्तरमूखि भएर आफ्नै मनलाई नै प्रयोगशाला बनाएर चेतनाका शुक्ष्म रुपलाई हेरेका छन्, चेतनाले कसरी काम गर्छ, कसरी हामीलाई दुख सुख अनुभव गराउंछ भनेर। विपश्यना, आठौं ध्यान लगायत ध्यानविधिहरुको विकास भएको छ चित्तलाई सुक्ष्म रुपमा गहिराई सम्म जान्नका लागि। बुद्धले सरिर र मन दुबैलाई गहिरिएर केलाएर हेरे र पाए कि भौतिक अतिशुक्ष्म तत्व (परमाणु भन्दा पनि सानो), जस्लाई थप विभाजन गर्न सकिन्न, लाई ‘अष्ठ-कलाप’ भने। अष्ठ-कलाप — एकाई नभई, आठ कलापहरुको समूहो जो हमेसा एक साथ उत्पत्ति र विनाश हुन्छ। र यो कुनै ठोसकण नभै तरंगको पुञ्जमात्र हो। यस अष्ठकलापमा पृथ्वी-धातु, अग्नि-धातु, जल-धातु, वायु-धातु र चार उनीहरुका गुणधर्म/स्वभाव साथ रहन्छन्। यी अष्ठकलापको तिब्र उत्पत्ति र विनाश हुन्छ। एक पटक आंखा झिमकाउंदा लाग्ने समय (करिव आधा सेकेन्ड जति)मा सत सहस्र कोटि (अर्थात एक सय हजार करोड) पटक यी अष्ठकलापहरुको उत्तपत्ति र विनाश हुन्छ। (यो कुरा आधुनिक बैज्ञानिकले समेत प्रयिगशालामा प्रमाणिक गरेका छन्, थप जानकारिका लागी bubble chamber experinet for particle decay हेर्नु होला)। बुद्धले चेनता-जगतको पनि शुक्ष्म रुप हेरे र पाए कि चेतना जगत (चित्त र चेतसिक) झन तिब्र गतिमा उत्पति र विनाश भैराख्छ, भौतिक जगत भन्दा कयौं गुणा छिटो।

फरक यत्ति हो कि सत्यलाई बुद्धले स्वअनुभुतिमा बोध गरे, वैज्ञानिकले प्रयोगशालामा यन्त्रद्वारा जाने।

भौतिक दुख हटाउनका लागि आधुनिक वैज्ञानिकहरुले मेसिनहरु बनाएर राहत दिएका छन्, लामो यात्रा हवाइजाहाजले छोटो बनाइदिएको छ। सारिरक विमारि लाग्दा आधुनिक औषधि उपचारको आविश्कार भएको छ। तेस्तै मानसिक दुख र मानसिक रोग हटाउनका लागि ध्यान साधना, योग, आदिको विकास गरेका छन् ऋषिमुनिहरु, योगिहरु, सन्यासिहरु, बुद्धहरुले। चेतनाको उच्चतम विकासकालागि आध्यातमिक मार्गको रुपरेखा प्रकाशन गरे विभिन्न समयमा यीनै ऋषिमुनिहरु, योगिहरु, सन्यासिहरु, बुद्धहरुले। कालान्तरमा यी मार्गहरुनै संगठित-धर्मका रुपमा विकसित भए। यी संगठित धर्महरुनै सम्प्रदायका रुपमा परिणत भए। विचलन आयो मार्गमा, मार्ग भन्दा साम्प्रदाइक पहिचान ठूला भए। आध्यात्मिक मार्गमा आफू चल्नु (अभ्यासमा ल्याउनु) भन्दा साम्प्रदाइक पहिचानको प्रतिस्पर्दामा ज्यादा ध्यान केन्द्रित हुन थाले, धार्मिक संगठन विस्तारले प्राथमिकता पायो।

साम्रदायिक मानिसहरुले हेमशा आफ्नो सम्रदायको ‘धर्म’ लाई सबै भन्दा उच्चकोटिको मान्छन्। किनकि उनीहरुको साम्रदायिक धर्म शास्त्रले भन्छ कि हाम्रो ‘फलानो धर्म’ मात्र सत्य हो, ‘ढिस्काना धर्महरु’ त मिथ्या हुन्। यसरी ‘मेरो धर्म’ सत्य भै सके पछि अन्य धर्मको अध्ययन गर्नु पर्ने आवश्यकता नै रहंदैन। अनि म मेरै सम्प्रदायीक धर्म शास्त्र अनुसारको मूल्य मान्यता र नैतिकता स्थापित गर्छु, त्यसैमा दृढ पकड बनाउंछु। म अव आफ्नो धर्ममा पूर्ण आस्थावान भैसेको छु, आफ्नो धर्ममा पूर्ण रामाउने भैसेको छु, अर्थात म पुरै पुर्वाग्रहि बनिसकेको छु। अव यीनै जड मान्याता र पूर्वाग्रहलाई लिएर संसारलाई हेर्न थाल्छु र हेर्छु अन्य सम्प्रदायका धर्म शास्त्र, उनीहरुका ऋति-रिवाज, उनिहरुका संस्कृति र चाल-चलन। ऊनीहरुका धर्मशास्त्रको अध्ययन पनि टिकाटिप्पणि र आलोचनाका लागि मात्र गर्छु, न कि कुनै सकारातमक कुरा सिक्नका लागि। यी सबै उनीहरुका कुरा मेरा धर्मका मूल्य-मान्यता र नैतिकता संग मेल खांदैनन्, अनि मेरा लागि ‘उनीहरुका धर्म’ सबै तल्लो कोटिका लाग्ने नै भए।

उदाहरुणकालागि, ‍बुद्ध वा शिव वा जिसस् वा मुहम्मद आदिमा कुन उच्चतम् कोटिको आध्यात्मिक शक्ति या ब्यक्ति भन्ने प्रश्न आउंदा, बौद्धले बुद्ध ठूलो, हिन्दुले शिव, इसाइले जिसस् र मुसलमानले मुहम्मद ठूलो भन्छन्। किनकी यसमा हरेकको आफ्नो पूर्वाग्रह र मूल्य मान्यताले निर्णय गरेको हुन्छ, यस्ता निर्णयमा न्यायधिस र वकिल एउटै व्याक्ति हुन्छ, ऊ आफै। स्वतन्त्रत भएर विचार गर्ने र पूर्वाग्रह रहित निर्णय लिन सक्ने चेनतालाई जड मान्याले ढाकिदिएको हुन्छ। यस्ता अन्धभक्तहरु हरेक सम्रदायमा छन्, यी सबैलाई भित्र देखि नै लागेको हुन्छ कि हाम्रो धर्म या आस्था सबै भन्दा उत्तम्। हाम्रा इश्वर वा पैगम्वर या हाम्रा भगवानले मात्र मुक्ति दिन सक्छन् अन्यकाले सक्दैनन्, हाम्राले मात्र उद्दार गर्न सक्छन् अन्यकाले सकदैनन्, हाम्रालाई विश्वास गरेर मात्र स्वर्ग जान पाईन्छ, अन्यलाई विश्वास गरेर त नर्कगामी हुने हो। र यी जडमान्यतावादि मानिसहरु मिसनरी (आ-आफ्ना धर्मका प्रचारक) बन्छन् र निकै जोड-वलका साथ ‘एक मात्र फलानो सत्य धर्म’मा लाग्न आग्रह गर्छन् सबैलाई। अरुका मिथ्या धर्म मेटाउन हदैसम्म जान्छन् यस्ता जडवादिहरु, र ‘धर्म-युद्ध’ गर्न पनि पछि पर्दैनन्।

यसो त ‘भौतिक द्वन्दवाद’लाई मात्र सत्य मान्ने र इश्वर वा आध्यातमिकतालाई नकार्ने जमातहरुमा पनि अन्धभक्तहरु छन्, जस्ले आधुनिक वौज्ञानिकहरुले पत्तालगाएका कुरा मात्र सत्य हो भन्छन्। आधुनिक विज्ञानले जगत, संसारलाई नितान्त भौतिक पाटोवाट मात्र हेर्छ। चेतनालाई भौतिक जगतको ‘वाईप्रडक्ट (द्वितिय-उपज)’ मात्र मान्छ जस्को आफ्नै कुनै अस्तित्व वा महत्व हुदैन भौतिक जगत विना। प्राणि मरे पछि चेतना पनि हराएर जान्छ भन्ने मान्यता छ आधुनिक विज्ञानको। ‘नास्तिक विश्वास’का लागि १९औं सताब्दिका ‘वैज्ञानिक-मिथ’ले वल पुर्याएको छ। पश्चिममा इब्राहामिक मान्यता अनुसार, बुक अफ जेनसिसमा परमप्रभुले माटोको धुलोवाट आदम(पहिलो मानिस)को पुत्ला बनाए, त्यसको नाकमा स्वास भरेर जीवित बनाए र सृष्टिको सुरुवात गरे भनिएको छ। यो एउटा कुमालले भांडा बानए जस्तो सृष्टि रचनाको यो ‘कुमाल-मोडल’लाई नाकरेर आधुनिक विज्ञानले विश्वजगतको ‘स्वाचालित-मोडल’ अगाडि ल्याएको छ। यस ‘स्वाचालित-मोडल’ अनुसार कुनै बुद्धिमान-चेतना (intelligent mind) को कुनै भूमिका खास छैन सृष्टिमा। यो जगत कुनै कारण वा उद्देश्य विनाको अन्ध-शक्ति (blind energy)को प्रवाहमा चलिरहेको छ भन्ने मान्यता राख्छ यस ‘वैज्ञानिक-मिथ’ले । मानव एउटा तुच्छ किटाणु सरह हो जो यो पत्थरको थुप्रो (पृथ्वि)मा बांचेको छ, यो पृथ्वि पनि एउटा महत्वहिन अनेक ताराहरु मध्येको एउटा तारा, सूर्यको वरिपरि घुम्छ, कुनै उद्देश्य विना। यो सूर्यमण्डल पनि आकास गंगाको केन्द्रवाट निकै परको घेरामा घुमि रहेको छ। जस्को सुरुवात ब्रमाण्डिक धमाका (big bang)वाट सुरु भयो भन्ने छ, त्यस अगाडि सबै शुन्य…..। यी सबै प्रकृयाको खासै अर्थ छैन, झुक्केर वा कुनै उद्देश्य विना पत्थर (वा पदार्थ)मा चेतना आयो र हामी मानव भन्ने जिवधारी जन्तु बन्यौं । यो (हाम्रो ब्यक्तिगत जीवन प्रकृया)कहिलै दोहोरिन्न, न त यसको निरन्तरता नै हुन्छ कनकि यो जीवन भन्दा पहिले हामी कहिलै पनि थिएनौं। त्यसकारण ‘एक वारको जिन्दगि, मानव-जीवन यात्रा प्रशुति गृहवाट सुरु भएर आर्यघाटमा सकिन्छ; भन्ने मान्यता राख्छ ‘वैज्ञानिक-मिथ’ले। तव प्रश्न उठ्छ, के गर्ने त यो ‘झुक्केर’ पाएको जीवनमा तेसो भए? जवाफ सायद यस्तो हुन्छ होलाः ‘जे गरे पनि तात्विक फरक के पर्छ र, राम्रो गरे पनि मर्ने हो, नराम्रो गरे पनि मर्ने हो, सकिने हो। राम्रो र नराम्रो भन्ने पनि बुद्धिले मात्र भन्ने त हो नि, बुद्धि, कल्पना, अनुभुति चेतनाका हिस्सा मात्र त हुन् नि। यहि एकवारको जिवन, जस्को पुरा अन्त मृत्यूमा पुगेर हुन्छ। पाप पुण्य भन्ने छैन किनकि अर्को जन्महुदैन फल भोग्नका लागि। अनि चेतनाको खासै महत्व पनि छैन, भौतिक पदार्थको अन्तरकृयाको ‘द्वितिय-उपज’मात्र त हो नि चेतना त।त्यसकारण जे गरे पनि हुन्छ, केहि नगरे पनि हुन्छ।’

तेसो भए सभ्यताको आबश्यकता किन? कानुनको आबश्यकता किन? न्यायको आबश्यकता किन? वैज्ञानिक खोज कै आवश्यकता पनि किन त? भन्ने जस्ता प्रश्नहरु उठाउन सकिन्छ यस्ता ‘वैज्ञानिक-मिथ’का मान्यता माथि।

यसरी ‘नास्तिक-धर्म’ले पनि आफ्नो आस्था (भौतिक-द्वन्दवादमा विश्वास)लाई उत्तम मान्छ र अन्य ‘आस्तिक धर्म’लाई अन्धविश्वास मान्छ। विर्सन्छ कि भौतिक विज्ञान पनि अनुत्तर सत्यमा पुगेको छैन, वैज्ञानिकहरु नयां-नयां कुरा पत्ता लगाउंदै छन्। ५० बर्ष अगाडिका वैज्ञानिकले सत्य भनेको कुरा आज तेहि विज्ञानले झुठ सावित गरिदिएको छ। जस्तो ब्रमाण्डिक धमाका (big bang)वाट अस्तित्वको सुरुवाट भएको भन्ने वैज्ञानिक धारणा सत्य नुहुन सक्छ भन्ने नयां वैज्ञानिक सिद्धान्त अगाडि ल्याइएका छन्, यस्ता ठूला ब्रमाण्डिक धमाका अनेकौं भएका हुन सक्छन् र भिन्न भिन्न ब्रमाण्डका सुरुवात र अन्त भ‍ैराखेका हुन सक्छ, कल्प-कल्पमा। ‘ब्लाक होल’पनि शुन्य नहुन सक्छ भन्ने नयां धारणा ल्याएका छन् वैज्ञानिकहरुले हाल सालै। यसरी ‘वैज्ञानिक-मिथ’ मा मान्यता राख्ने मानिसहरुले हमेशा मानव भलोमात्र गर्छन्, इमान्दार हुन्छन् भन्नु सहि नहुन पनि सक्छ। स्टालिन, लेनिन, माओ ले क्रान्तिका नाममा कति सांस्कृतिक संपदा ध्वंस गरे,कति आस्तिक तथा विरोधिहरुलाई मारे लेखा-जोखा छैन। ‘धर्म यूद्ध’ जस्तै ‘नास्तिक-यूद्ध’ पनि उत्तिकै संभाव्य छ, उत्तिकै भयावह छ। आखिर नास्तिक र आस्तिक हुनुमा तात्विक फरक छैन, दुवैले जानेका हुदैनन् कि सत्य के हो भनेर, इश्वर छ या छैन भनेर। एक थरिले विश्वास गर्छ ‘इश्वर छ’ भनेर, अर्का थरिले विश्वास गर्छ ‘इश्वर छैन’ भनेर। दुवै थरी ‘विश्वास’को दाम्लोले बांधिएका छन्, उनीहरुका लागि सत्यको खोज संभव हुंदैन।

बगैंचामा एउटा रुख छ, यसलाई आंपको रुख भन्छौं हामी, किनकि यो रुखमा आंप फल्छ। सौर्य मण्डलमा पनि विभिन्न ग्रह भन्दा एउटा ग्रह अलि भिन्दै छ, त्यो हो पृथ्वी। अन्य ग्रहमा पत्थर, धुलो र ग्यास मात्र छ तर पृथ्वीमा भने जीव फल्छन्, जसरी आंपको रुखमा आंप फल्छ। त्यकारण पृथ्विलाई ‘जगत’ पनि भनिन्छ किनकी यहां जीवन फल्छ। करिव ५० लाख वर्ष अगाडि कुनै अर्को सौर्य मण्डलवाट कुनै एलियन (अनकन्टार अन्तरिक्षमा कुनै अर्को ग्रहको मान्छे) आएर पृथ्विमा हेरेको भए भन्थ्यो होला, ‘यहां त पत्थरको थुप्रो, धुलो र ग्यास मात्र छ’। फेरि करिव २ लाख बर्ष अगाडि ‘एलियन’ आएर हेर्दा पाउंथ्यो होला, ‘यहां त मानिस फलेछन् पत्थरमा,जीवन्त हुन थालेछन् पत्थरका थुप्रा, धुलाका भारी र ग्यासका तुवांलाहरु’। अलि गहिरिएर हेरेर भन्थे होलान् एलियनहरु ‘हामीले ढुंगाको थुप्रो मात्र भनेको याहां त मानिस संगसगै जनावर, रुखपात, नदिनला, ताल झरना, जंगल, समुद्र सबै फलेका रहेछन्। ढुंगाको थुप्राले निकै इन्टेलिजेन्ट(बुद्धिमान या चेतनशिल) काम गरेछ।’

हामी यस संसारवाट त्यसरि नै उत्तपत्ति भएका हौं जसरी एउटा आंपको रुखवाट आंप। इभलुसन(जगतको क्रमागत विकास) को कुनै अर्थ छ भने सायद यहि हो। आधुनिक विज्ञानले भन्छ सुरुमा केहि थिएन सिवाय ग्यास, धुलो र पत्थरको सिवाय, यसमा चेतनशिलता पछि मात्र आयो जसरी कुनै आलुलाई ओसमा राख्यो भने केहि समय पछि टुसा पालाएर आउंछ। पत्थरमा चेनता पहिले नै अन्तरनिहित थियो या पत्थरको थुप्रामा रहेका विभिन्न पदार्थ‍-तत्वको अन्तरकृयाको ‘बाइप्रडक्ट’ चेतनाको जन्म भयो या चेतना पत्थर भन्दा अलग्गै थियो जस्ले पत्थरलाई उपयोग मात्र गरेको हो ‘पत्थरलाई जीवन’ दिनका लागि या चेतना आफै जीवन्त प्रकटहुनका लागि पत्तथरको उपयोग गरेको हो ? चिन्तनको विषय हो। जे होस् अव पत्थर देखेर एकदम सतर्क हुनु होला, यसमा चेतना छ, सायद सुशुप्त छ अहिले, जो कुनै पनि वेला जीवित हुन सक्छ जसरी केहि लाख बर्ष पहिले यो पत्थरको थुप्रो (पृथ्वि) पनि लामो अन्तराल पछी जीवित हुन थालेको थियो, अहिले सम्म निरन्तर जीवित नै छ। कहिले सम्म जीवित रहन्छ? यकिन छैन, तर यसै पत्थरको थुप्रोको चेतनशिलतावाट यहि थुप्रोमा फलेका जिवनहरु मध्ये सवै भन्दा चेतनशिल फल (अर्थात हामी मानिस)को चेतना र कर्ममा भर पर्छ, प्रदुशण धेरै गेरम् र पृथ्विको दुरुपयोग गरेम् भने यो पृथ्विको समग्र चेतनशिलता फेरि निश्कृय हुन सक्छ, पृथ्वि फेरि मृतरुमा परिणत हुन सक्छ, जीवन्त नरहन पनि सक्छ।

तव के धर्म र विज्ञान अलग हुन् र? कुनै पनि कुराको अन्तस्करणको गहिराईमा पुगेर सत्यलाई उजागर गर्ने, सत्यको ज्ञान नै वि-ज्ञान त हो। त्यसैले बुद्धले चित्तको जान्ने स्वरुपलाई पालि भाषामा ‘विञ्ञाण’ भनेका छन्, यहि सब्द संस्कृतमा ‘विज्ञान’ हुन्छ। धर्मको उद्देश्य पनि सत्यलाई वोध गर्नु नै हो। कालान्तरमा प्रयोगशालामा यन्त्र मार्फत जान्ने ज्ञानलाई मात्र विज्ञान भनिन थलियो, यो आफैमा अपूर्ण परिभाषा हो विज्ञान को।

खैर, दुर्भाग्यबस आधुनिक वैज्ञानिकहरु भौतिक-जगतको मात्र खोजिमा लागे र धार्मिक-ऋषिहरु चेतना-जगतको खोजमा मात्र। भौतिक जगतको अस्तित्व छ भनेर जान्न सक्ने र भौतिक-जगतकै खोजि गर्न संभव बनाउने ‘चेनता’लाई नै महत्व नदिनु आधुनिक वैज्ञानिकहरुको कामजोरि हो भने, अर्कातिर भौतिक-जगतका माध्यमवाट मात्र प्रकटहुन सक्ने चेतनाले भौतिक-जगतलाई मूल्यहिन ठान्नु ठूलो भूल हो ऋषिहरुको। आधुनिक वैज्ञानिकहरुलेआध्यातमिक जकतलाई पनि सकारात्मक प्राथमिकता दिने हो भने, कर्म (वा इश्वर) लाई मान्ने हो भने, नयां नयां प्रविधीको विकास मानवताको हितका लागि मात्र गर्थे होलान्, परमाणु बन, राशायनिक हितयार या फाइटर जेट बनाउदैन थे होलान्। त्यस्तै आध्यात्मिक गुरु, सन्यासि या भिक्षुहरुले पनि आधुनिक विज्ञानलाई समेत साथ लिएको भए यो लैङ्गिक विभेद, छुवाछुत, छाउपडि, वलीप्रथा, बोक्सिप्रथा लगायतका अन्धविश्वास र पाखण्ड गर्दैन थे होलान्। सकारात्मक कुरा भनेको आज यी दुबै क्षेत्र सहभागिताको सम्भावना राम्रो छ, दुबै क्षेत्रले एक अर्कालाई परिपुरक बनाउन सके दुवै थरिका जड मान्यता र अन्धविश्वास हटाउन सकिन्छ, जस्ले मानव र जगतको भलो हुने छ।

अन्तमा, तेसो भए कुन धर्म ठूलो त मानवका लागि? एक जनाले सामाजिक संजालमा लेखेका थिएः ‘मानवका लागि सबै भन्दा ठूलो धर्म भनेको माशिक धर्म हो, किनकि मानिसको जन्म नै माशिक धर्मका कारण भएको हो।’ यसको अर्थ प्रकृतिको नियम नै सबै भन्दा ठूलो धर्म हो, सबैको साझा धर्म पनि हो, सबैलाई धारण गर्ने र सबैवाट धारित धर्म।

भवतु सब्ब मंगलम्!

प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !