बाढी पहिरोबाट साढे तीन हजार घरपरिवार प्रभावित हुने


 Mechikali 

काभ्रे– वर्षायाममा जिल्लामा रहेका नदि तथा खोलाहरुमा आउने बाढी तथा वर्षाका कारण विभिन्न स्थानमा जान सक्ने पहिरोबाट काभ्रेका तेह्र वटै स्थानीय तहका सयौँ घरपरिवार प्रभावित हुने आङ्कलन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेका अनुसार जिल्लामा वर्षासँगै आउन सक्ने बाढी तथा पहिरोबाट जिल्लाको विभिन्न स्थानमा बसोबास गर्ने तीन हजार छ सय २९ घरधुरी प्रभावित हुने अनुमान गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा काभ्रेका सहायक प्रम्ुख जिल्ला अधिकारी अमरदिप सुनुवारले काभ्रेमा विगतका वर्षहरुका भुकम्प, बाढी, पहिरो, डढेलोलगायतका विपद्का घटनाहरु भएको बताउनुभयो । उहाँले वर्षायाममा आउन सक्ने विपद् तथा प्रकोपबाट हुन सक्ने क्षतिको सामना गर्नका लागि योजना तयार गरिएको बताउनुभयो । ‘हामीले जिल्लामा प्रकोपबाट हुन सक्ने क्षतिको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्नेलगायतका कामहरु गरेका छौँ’ उहाँले थप्नुभयो । उहाँले स्थानीय तहमा हुने विपद् तथा प्रकोपको लागि स्थानीय तहलाई बढी जिम्मेवार बनाउने ब्यवस्था अनुसार जिल्लाका स्थानीय तहलाई जिम्मेवार बनाइएको तथा प्रत्येक स्थानीय तहमा विपद् सम्पर्क व्यक्ति (फोकल पर्सन) समेत तोकिएको बताउनुभयो ।
जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्र (डिइओसी) काभ्रेका सुचना ब्यवस्थापन अधिकृत राजकुमार घिमिरेले जिल्लामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोबाट जिल्लाको मण्डनदेउपुर नगरपालिकाको सात वटा वडाका ७८० घरधुरी, खानीखोला गाउँपालिकाको सात वटा वडाका २२५ घरधुरी, महाभारत गाउँपालिकाको आठ वटा वडाको २२४, रोशी गाउँपालिकाको नौ वटा वडाका ३५० घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको बताउनुभयो । यसैगरी जिल्लाको तेमाल गाउँपालिकामा आठ वटा वडाका ३१० घरपरिवार, चौरीदेउराली गाउँपालिकाको चार वटा वडाका २१० घरपरिवार, भुम्लु गाउँपालिकाका सात वटा वडाका ३१० घरपरिवार प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान रहेको छ ।
बाढी, पहिरोबाट जिल्लाको बेथानचोक गाउँपालिकाका पाँच वटा वडाका १५० घरधुरी, पनौती नगरपालिकाको तीन वटा वडाका २२० घरपरिवार, बनेपा नगरपालिकाका छ वटा वडाका २२० घरपरिवार, पाँचखाल नगरपालिकका सात वटा वडाका १५० घरपरिवार, धुलिखेल नगरपालिकका दुई वटा वडाका ३१० घरपरिवार र नमोबुद्ध नगरपालिकाका एघार वटा वडाका १४० घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । समितिले जिल्लाको पनौती, पाँचखाल, बेथानचोक, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका, भुम्लू रोशी र महाभारत गाउँपालिकामा डढेलोबाट ५६० घरपरिवार प्रभावित हुने अनुमान गरेको छ ।
समितिले आर्थिक वर्ष २०७७÷०७८ मा अविरल वर्षाबाट जिल्लाको बनेपा नगरपालिका, पनौती मण्नदेउपुर नगरपालिका, भुम्लु, रोशी, तेमाल, महाभारत, बेथानचोक, खानीखोला र चौरीदेउराली गाउँपालिका प्रभावित बनेको जनाएको छ ।

 

 

प्रतिक्रिया



थप समाचारहरु