दाप्चा क्षेत्रमा चोरको बिगविगी, सचेत रहन आग्रह


 Mechikali 

दाप्चा–नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रमा चोरको विगविगी बढेपछि स्थानीयबासी त्रसित भएका छन् । गएराती दाप्चा क्षेत्रका ४ वटा वडाका पसल र घरमा चोरी भएको छ । यस्तै विद्यालय र वडा कार्यालयसमेत चोरको निशानामा परेको छ ।
आज्ञात व्यक्तिहरुको समूहले वडा नं. १, ८, ९ र १० का घर तथा पसलमा चोरी गरेको हो । यस्तै वडा नं. १० स्थित बाल उज्वल मावि तथा वडा नं. १० मा समेत ताला फोडिएको छ । बाल उज्वल माविबाट रेडियो सेट एक थान चोरी भएको छ भने वडा कार्यालयको ताला फोडे पनि कुनै सामग्री चोरी नभएको वडा अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए ।
सबैभन्दा बढी चोरी वडा नं. ९ को दाप्चा बजार क्षेत्रमा भएको छ । वडा अध्यक्ष मेलवहादुर लामाले बजारका विभिन्न पसलबाट रिचार्ज कार्ड र नगद चोरी भएको पाइएको बताए । चोरी गर्ने समूहको खोजीका लागि प्रहरी प्रशासनलाई आग्रह गरिएको लामाले बताए । लामाका अनुसार वडा न. ९ स्थित कृष्ण माविको सिसि क्यामेरामा राती १२ बजेर १४ मिनेट जाँदा ५ जना व्यक्तिको समूह हिडिरहेको देखिएको छ । तर, उक्त समूह चोरीमा संलग्न रहे या नरहेको पुष्टि हुन नसकेको उनले बताए । सिसिटिभी फुटेज प्रहरी चौकी श्यामपाटीमा बुझाइएको छ ।
वडा नं. ८ का केही घर तथा पसल एवं वडा नं. १ को एउटा पसलमा पनि चोरी भएको पाइएको छ । चोरी भएको क्षेत्रमा प्रहरीले गस्ती बढाएको छ । आजै दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीसमेत उक्त क्षेत्रमा पुगेर फर्किएको छ । प्रहरील निगरानी बढाउने र खोजी कार्य तीब्र बनाउने बताएको वडा नं. १० का अध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रहरी चौकी श्यामपाटीका प्रहरी सहायक निरिक्षक सन्तोष सिंहले आजदेखि उक्त क्षेत्रमा गस्ती बढाइने बताए । हिजो राती ११ बजेसम्म दाप्चा क्षेत्रमा गस्ती गरेर फूलबारी क्षेत्रमा गएको र त्यही समयमा चोरीको घटना भएको उनले बताएका छन् ।
नमोबुद्ध नगरपालिकाले चोरीका घटनामा संलग्नको खोजी र कार्बाहीका लागि प्रहरी प्रशासनलाई भनिसकेको जानकारी दिँदै सचेत रहन नगरबासीलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया



थप समाचारहरु