अनामिका सजलका तीन गजल


 Mechikali 


छ यो मनलाई पागल बनाउने कोही छ
मुटुमा स्वप्न महल बनाउने कोही छ

सानो सुन्दर संसारको सपना देखाएर
बेचैन मन चञ्चल बनाउने कोही छ

फूल झैँ पवित्र मेरो खुलेको चन्द्रवदन
नयन रानी कमल बनाउने कोही छ

खोल्दैछु रहस्यमै रंगिएको आत्मियता
हिमाल जस्तै अटल बनाउने कोही छ

कसैको नजरबाट नपग्लने मुटु मेरो
पत्थर थियो सजल बनाउने कोही छ !!

हतारमा छु तिमीसँग बस्न भ्याइन नरिसाऊ है
आउँदा जाँदा बाटो पर्दा पस्न भ्याइन नरिसाऊ है

हेर्दाहेर्दै आकाशको तारा कतै चिप्लिए झैँ
कता पुगेँ कता त्यतै खस्न भ्याइन नरिसाऊ है

बाध्यताले चाहनाका महलहरु भत्काएसी
माफ् रहोस् लगनगाँठो कस्न भ्याइन नरिसाऊ है

जाँदैछु म सम्बन्धमा पूर्ण विराम लगाएर
हिँड्ने बेला ती अौँलामा डस्न भ्याइन नरिसाऊ है

यता काटे उता दुख्छ ,उता काटे यता पनि
खुसी लुट्नेमाथि छुरा धस्न भ्याइन नरिसाऊ है !!

चर्किएको ऐना र यो जिन्दगानी
एकबाट अनेक भयो जिन्दगानी

हरे यस्तो हाँस्ने खेल्ने उमेरैमा
आँसुको तलाउमा छ यो जिन्दगानी

धिक्कारोस् कसैले नभनेकै जाति
अचानक टुटेर गयो जिन्दगानी

जिवितै छ आशा मनमा अलिकति
जोडिन्छ कि कतै न यो जिन्दगानी

जति गाह्राे साह्रो पर्छ परिरहोस्
बिसाउँदिन कतै म यो जिन्दगानी !!

-अनामिका सजल
पाँचखाल, काभ्रे

प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !