काठका जीर्ण पोल हटाउँदै विद्युत प्राधिकरण


 Mechikali 

काभ्रे– वर्षौ पहिले विद्युत आपूर्तिका लागि गाडिएका काठका पोलहरु जीर्ण बन्दै गएपछि काठको पोल बिस्थापित गर्ने कामलाई तिव्रता दिएको छ । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपा र नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले आफ्नो सेवा क्षेत्रमा रहेका जिर्ण काठका पोलहरु विस्थापन गर्ने कार्यक्रम सञ्चालन गरेका हुन् । प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख ईन्जिनियर माधवेन्द्र यादवले प्राधिकरणको कार्यक्षेत्रमा रहेका काठका जीर्ण पोलहरु विस्थापन गर्ने कामलाई तिव्रता दिइएको बताउनुभयो ।

उहाँले प्राधिकरण काभ्रे अन्र्तगत जिल्लाको आठ वटा स्थानीय तहमा रहेका काठका पोलहरु बिस्थापन गर्नको लागि चालु आर्थिक वर्षमा छुट्टै बजेटको माग गरिएको बताउनुभयो । ‘जीर्ण रहेका काठका पोलहरुका कारण वर्षायाममा पोल भाँच्चिने लगायतका समस्या आई विद्युत आपूर्तिमा समस्या देखिएपछि काठका पोल बिस्थापनमा लागेका हौँ’ उहाँले थप्नुभयो–‘हाम्रो कार्यालयको सेवा क्षेत्र रहेको स्थानीय तहमा करिब पाँच हजार वटा काठको पोलहरु बिस्थापन गर्नुपर्ने अवस्था रहेको छ’ । ई. यादवले प्राधिकरण काभ्रे अन्र्तगत सबैभन्दा बढी बनेपा नगरपालिकाको काँक्रे, घिमिरेगाउँ, गुरुङ गाउँ, पनौती नगरपालिकाको रयाले, कुशादेवी, बेथानचोक गाउँपालिकाको भुग्देउ, ढुङ्खर्कमा धेरैभन्दा धेरै काठको पोलहरु प्रयोग भएको बताउनुभयो ।
उहाँले कार्यालयमा धेरैजसो सेवाग्राहीहरु काठको पोल जीर्ण बनेकाले स्टिल पोल परिवर्तन गरिदिन भन्दै धेरै निवेदन आउने गरेको बताउनुभयो । उहाँले प्राधिकरण काभ्रे शाखाले आर्थिक वर्ष २०७७÷०७८ मा करिब तीन हजार काठको पोल बिस्थापन गरी स्टिलको पोल हालिएको बताउनुभयो । प्राधिकरण काभ्रे वितरण केन्द्रको सेवा क्षेत्रमा जिल्लाको बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, बेथानचोक, महाभारत र खानीखोला गाउँपालिका रहेको छ भने मण्डनदेउपुर तथा पाँचखाल नगरपालिकाको केही क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ ।
नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख ईन्जिनियर मेघनाथ ढकालले पाँचखाल सेवा क्षेत्र भित्र रहेका विभिन्न स्थानीय तहमा जीर्ण रहेका काठका पोलहरु बिस्थापन गर्ने कार्यलाई तिव्रता दिइएको बताउनुभयो । उहाँले प्राधिकरण पाँचखाल वितरण केन्द्र अन्र्तगत जिल्लाको पाँचखाल, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, चौरीदेउराली र तेमाल गाउँपालिकामा सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले पाँचखाल वितरण केन्द्र अन्र्तगत पर्ने भुम्लु गाउँपालिकामा तीन सय, पाँचखाल नगरपालिकामा दुई सय र मण्डनदेउपुर नगरपालिकामा करिब एक सय पचास काठको पोल बिस्थापना गरी स्टिलको पोल राख्नुपर्ने बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा पाँचखाल वितरण केन्द्र अन्र्तगतका स्थानीय तहमा करिब दुई हजार पाँच सय जीर्ण काठका पोल फेरिएको बताउनुभयो । ई. ढकालले पाँचखाल शाखाले दुई वर्षको अवधिमा करिब छ हजार पाँच सय जिर्ण काठका पोलहरु बिस्थापन गरी स्टिलको पोल राखिएका कारण लाइनमा सुधार आएको बताउनुभयो ।
तस्विर ः काठको पोललाई बिस्तापित गरी स्टिलको पोल राखेपछि लाइन मिलाउँदै नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका कर्मचारी । तस्विर सौजन्य ः नेपाल विद्युत प्राधिकरण पाँचखाल

 

प्रतिक्रिया



थप समाचारहरु