विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न सहमत


 Mechikali 

धुलिखेल– काभ्रेमा रहेका तेह्र वटै स्थानीय तहहरुले विपत्को समयमा आवश्यक पर्ने राहत वितरण सम्बन्धी मापदण्ड तथा विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न सहमत भएका छन् । शुक्रबार धुलिखेलमा भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तहहरुले विपत् व्यवस्थापन ऐन, राहत वितरण सम्बन्धी मापदण्ड र विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्ने साथै वडास्तरसम्म विपत् प्रतिकार्य समितिलाई क्रियाशिल बनाउने निर्णय गरेको हो ।
वडास्तरमा रहेका समितिले विपत् सम्बन्धी सम्पूर्ण सुचना आदनप्रदान गर्ने समेत निर्णय गरेको छ । बैठकले जिल्लाका विभिन्न स्थानमा हुन सक्ने जोखिमको विश्लेषण गर्दै तयार गरिएको जिल्लाको विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८ स्विकृत, कोरोना सङ्क्रमणको संवेदनशिलता मूल्याङ्कन गरी क्षेत्र तोकेर सम्बन्धित स्थानीय तहले प्रभावित क्षेत्र सिल गर्ने, कोरोना सङ्क्रमितको उपचार, व्यवस्थापनका लागि स्थानीय तह समेतको सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सबै स्थानीय तहले विपत्का घटनाहरुमा खोज तथा उद्धारका लागि आवशयक पर्ने सामाग्रीको व्यवस्था गरी स्थानीय सुरक्षा निकायसँग समन्वय गर्ने, काभ्रेमा आकस्मिक विपत् व्यवस्थापन सम्बन्धी कार्यहरु गर्न विनियोजित रकमबट नियमानुसार तारजाली खरिद गरी माग तथा आवश्यकता अनुसार वितरण गर्न जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काभ्रेलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जिल्लाका विभिन्न तहहरुमा भएका विपत् सम्बन्धी घटनाका पिडित परिवारलाई उपलब्ध गराएको तीन लाख ९१ हजार पाँच सय रुपियाँ रकम अनुमोदन र कालिजङ्ग गण धुलिखेलमा रहेका मौसमी असर र हावापानीका कारण काम नलाग्ने अवस्थामा रहेका चाइनिज टेन्ट ठुलो आठ सेट, चाइनिज टेन्ट निलो ३२ सेट र रेडक्रसको खैरो टेन्ट दुई सेट नष्ट गर्न स्वीकृत दिने निर्णय गरेको थियो ।
बैठकमा काभ्रेका प्रम्ुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लाको समग्र विपत्को अवस्थाको बारेमा जानकारी दिनुभएको थियो भने जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, तेमाल गाउँपालिकाका प्रमुख सलामसिं लामा, बेथानचोक गाउँपालिकाकी उपप्रम्ुख सरिता लामिछाने, नेपाल रेडक्रस सोसाइटी काभ्रेका संयोजक नारायण प्रसाद ढुंगाना, पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केदार तिमल्सिनाले जिल्लामा देखिएका विपत्को बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु