ढुङ्गाले लागेर मोटरसाईकल चालकको मृत्यु


 Mechikali 

कटुञ्जे(काभ्रे)– काभ्रेको रोशी गाउँपालिका–७ कटुञ्जेस्थित विपी राजमार्गमा सडक माथिबाट आएको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आईतबार बिहान सडकमाथिबाट झरेको ढुङ्गाले लागेर महोत्तरी जिल्ला रामगोपालपुर घर भएका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार ढुङगाले लागेर धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाईते भएका छन् ।
वर्षासँगै आएको ढुङ्गाले साहद्धय सवार ज ८ प ७४९० नम्बरको मोटरसाईकलमा लागेको थियो । ढुङ्गा लागेर घाईते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचार गर्ने क्रममा सरोजकुमारको बिहान १०ः३० बजे मृत्यु भएको हो । घाईते सतिसकुमारको पेट र अनुहारमा चोट लागेकोले उपचार भईरहेको प्रनाउ खतिवडाले बताउनुभयो । प्रहरीका अनुसार अविरल वर्षाका कारण जिल्लाको अरनिको राजमार्ग र विपी राजमार्गका केही स्थानमा पहिरो गई केही समय सडक अवरुद्ध भएको छ भने केही स्थानमा सडकमाथिबाट ढुङ्गा खसिरहेको जनाएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु