म सियो खोजीरहेछु


 Mechikali 


-गंगा खड्का

 

बारुदको बिस्कुन माथि टेकेर
खुकुरीको धारले छेकेर
आस्था र बिश्वासको सलेदोमा चम्किरहेको
मेरो इतिहासको पानाहरुलाई
धमिराले खाएर हो की
इतिहास फाट्न थालेका छन्
म जोड्ने प्रयासमा
एउटा सियो खोजिरहेछु ।

मदोन्मत्त भएर मात्र आफु प्रतिको प्रेम
अरुको वितृष्णामा उन्मत्त कैँचीहरु
पसिनाको कुवामा चोपिएर
भिरभरि फुल्ने लालीगुराँसलाई
काट्न थालेका छन्
सारङ्गी पेट कस्ने पटुकी च्यातिरहेका छन्
प्रेमका आँगनीमा बग्ने नदीका
धार फर्काएर
यहाँ कैँचीहरुले मुटु बन्जड बनाई
चिरा पारिहेछन्
त्यसैले त म आज सियो खोजीरहेछु ।

उ भने अझै धारिलो बनी
तराई, मधेस, पहाडले ओढ्ने गरेको सिँगो बर्कोलाई
टुक्रा टुक्रा पार्न खोज्दैछ
म भने आँखाभरी प्रेम र सितलको सागर बोकेको
मेरो कोहिनूर हिमालको कपास राखी
जात र वर्गको समान धागोले
उध्रिएको बर्कोलाई तक्न चाहन्छु
ता की !
एक्काइसौ शताब्दिमा पनि
सम्वृद्धि सभ्यताको उचाईबाट
विवेकशिल समाज चुहिएर
लाज नचिहाओस् ।

यदि !
आरनबाट तरबार र कँैची संगै
सियो निस्कियो भने
पूर्व, पश्चिम, उत्तर, दक्षिणलाई जोड्ने
मेरो फाटेका बाटोहरु, मेरो देशको साँधबाट
चुहिने माटोहरु अनि
काँडेतार संगै जङ्गे पिलरहरु पनि सिलाउँनेथे !

कर्मी दाई !
तिमीले सियो बनाईदियौ भने
म मन्दिरका गजुरका टोपी सँगै
भगवानका फाटेका बस्त्र सिलाउनेछु र
बजाउनेछु मन्दिरका घण्टी
जहाँबाट निस्कनेछन् समानताका
हृदय पगाल्ने मङ्गल धुन अनि
रोकिनेछन् सम्पूर्णका
सुक्क ..सुक्क र हिक्क.. हिक्कहरु ।।।

– काठमाडौँ

प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !