Saturday, 19 August 2017 03:52 am, Nepal

किन जलवायु परिवर्तन शैक्षिक मुद्दा हो ?

एजेन्सी : 2016-07-15 15:48:52


फिलिप क्याल्डरोन

  जलवायु परिवर्तनले हामी सबैलाई प्रभाव पारेको छ । तर अझै पनि हामीले यसको ठोस कारण पहिल्याउन, यसले पारेका दुष्प्रभाव कम गर्न र क्षतिहरुको विषयमा छिट्टै सम्बोधन गर्न र तदनुरुप आफूलाई सहज नबनाइ हुँदैन भन्ने विषयमा काम गरेका छैनौँ । धेरै व्यक्तिहरुले जलवायु परिवर्तनबाट विश्व अर्थतन्त्र र सामाजिक संरचनामा पर्न सक्ने खतराबारे बुझ्नै नसकेको प्रतीत हुन्छ र ज-जसले बुझेका छन् तिनले दुर्भाग्यवश, विश्वलाई दिगो विकासतर्फ अग्रसर गराउने र ‘स्वच्छ ऊर्जा’ बाट प्राप्त हुने महत्वपूर्ण नतिजा र लाभका विषयमा व्यापक बहस चलाउन वस्तुतः उपेक्षा गरेका छन् ।

जलवायु परिवर्तनले के असर पार्छ भन्ने विषयमा हालै अमेरिकामा गरिएको एक अध्ययन (पिउ स्टडी)मा राजनीतिक रुपमा स्वतन्त्र वा कसैको पनि पक्षधर नरहेका १० अमेरिकीमध्ये सात जनालाई जलवायु परिवर्तनले पार्ने क्षतिबारे खासै चिन्तित नबनाएको पाइयो । योभन्दा उदेकलाग्दो अर्को तथ्य छ । येल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानमा विश्वका करिब ४० प्रतिशत प्रौढहरुले जलवायु परिवर्तन र यसका असरहरुका विषयमा कहिले पनि थाहा नपाएका वा नसुनेका पाइएको छ । त्यसैगरी भारतलगायत केही विकासोन्मुख देशहरुमा यो सङ्ख्या ६५ प्रतिशतमा उक्लेको पाइन्छ ।

यी तथ्याङ्कले विचारशील वर्ग निश्चय नै हतोत्साहित हुन्छन् तर यसलाई सुधार गर्न नसकिने भने होइन । जलवायु परिवर्तन र यसले पार्ने विश्वव्यापी क्षतिबाट भविष्यमा मुक्ति पाउने एउटै बलिष्ठ र प्रभावकारी उपाय भनेको व्यापक जनचेतना फैलाई जागरणतर्फ उन्मुख गराउने शैक्षिक प्रयास नै हो भन्ने ‘येल अध्ययन’ ले निष्कर्ष निकालेको छ । गुणात्मक शिक्षामा गरिने लगानीले नै आगामी पुस्तालाई यस विकराल विश्वस्तरीय समस्यालाई सम्बोधन गर्न सक्ने सही मार्गमा डो¥याउनेछ भन्ने उक्त अध्ययन प्रतिवेदनले ठम्याएको छ ।

प्रथमतः जलवायु परिवर्तनका असर न्यूनीकरण कार्य र शिक्षाले तीन तरिकाबाट सहकार्य गर्छन् । सूचना र ज्ञानको कमी भएका मानिसहरुमा शिक्षाले प्रारम्भमा मानसिक खाडलहरु पुर्ने काम गर्छ । कुनै व्यक्तिको दैनिक जीवनमा जलवायु परिवर्तनले कसरी र कत्तिको असर पारिरहेको छ भन्ने व्यावहारिक शिक्षा वा ज्ञान दिन सकेमा यसले निश्चय नै उचित सचेतना वा समझदारी पैदा गर्छ । विशेषतः जलवायु परिवर्तनका कारण बालीनाली एवम् कृषि उत्पादनमा नोक्सानी सहनु परेर वा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप सहनु परेर गहिरो पीडामा परेका गरिबीको रेखामुनि रहेका जनसङ्ख्याका लागि यस्तो व्यावहारिक शिक्षा एक संवेदनशील औषधि जस्तो हुने कुरा सत्य हो ।

प्रत्येक नयांँ नयाँ विनाशकारी घटनापश्चात् पीडित जनसङ्ख्या आफ्नो पीडामा मल्हम पट्टी गर्दागर्दै, पुनर्निर्माणमा लाग्दालाग्दै द्रुत विकासको गतिमा लाग्ने सुनौलो अवसरबाट सदैव बाहिरिन्छन् । यसरी दोहोरो मारमा परेका जनसङ्ख्यालाई वरपरका सबैले फड्को मारिसकेको, आफ्नो वरपरको संसार परिवर्तन भइरहेको तर आफू भने जहाँको त्यही अड्किरहेको, भविष्यमा आउन सक्ने दैवी विपत्तिले आफूलाई अझ टाढा धकेल्न सक्छ भन्ने महसुस गराउन सकेमा उनीहरुमा जागरण पैदा हुनेछ । यही जागरणले जादु सरह काम गर्नेछ र विश्व जलवायु परिवर्तनले एक्कासि ल्याएको असरलाई बुझ्ने र आफूलाई त्यस अनुकूल ढाल्ने ज्ञान र शक्ति उनीहरुमा सञ्चार हुनेछ ।

दोस्रो पक्ष हो शिक्षा । शिक्षाले नै उदासीनतालाई चुनौती दिन्छ । ज्ञानको फलदायी उपायबाट जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न आजसम्म उपलब्ध प्रविधि र साधनबारे समुचित ज्ञान र सो अवलम्बनबाट आर्थिक वृद्धिमा लाग्ने अवसरको फराकिलो द्वार खोल्न सकिन्छ । जलवायु परिवर्तनको असरको दिगो समाधानका उपायहरुले सबैको भलाइमा वृद्धि गर्छ र थप आर्थिक अवसर उपलब्ध हुन्छन् भन्ने तथ्य विश्वका लगानीकर्ताहरुले स्वीकार्नै पर्छ । यस सम्बन्धमा एउटा उदाहरण लिउँ नाइजरमा शिक्षा प्रणाली र स्थानीय कृषि प्रविधिमा गरिएको सुधारले १० लाखभन्दा बढी स्थानीय कृषकलाई खेतीपातीबाट हुने वास्तविक आयमा दोब्बर वृद्धि गराउनमा मद्दत पुग्नुका साथै खेतीपातीका लागि अनुपयुक्त र जर्जर भएका ठूला बिरौटे क्षेत्रसमेत पुनः कृषियोग्य र उर्बर भूमिमा परिणत गर्न सम्भव भयो । सन् २०१४ को तथ्याङ्कलाई हेर्दा संयुक्त राज्य अमेरिकामा कोइलाखानी आबद्ध रोजगारीभन्दा सौर्य ऊर्जा सम्बन्धित रोजगारीका अवसर सङ्ख्या निकै बढी थिए ।

जलवायु परिवर्तनले पारेका असर कम वा नियन्त्रण गर्ने उपाय अवलम्बन गर्न हाम्रो वर्तमान जीवन पद्धतिले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ भन्ने मतमा धेरै व्यक्तिले अझै जोड दिन्छन् । यस्ता उपाय अवलम्बन गर्न हाम्रो वर्तमान जीवन पद्धतिमा ठूलै परिवर्तन आवश्यक पर्छ भनी १० अमेरिकीमध्ये करिब सात जनाले अभिमत व्यक्त गरेको तथ्य उपरोक्त पिउ स्टडीमा उल्लेख गरिएको छ । तर, सूक्ष्म विचार गर्ने हो भने ठ्याक्कै यस्तै नहुन सक्ने तथा उचित र पर्याप्त शिक्षाले नै जलवायु परिवर्तनले पारेका असरमाझ सहज ढङ्गले बाँच्ने जीजीविषाको द्वार बन्द गरिदिने सबैखाले निराशावादितालाई डटेर चुनौती दिन सक्छ । अन्त्यमा, व्यावहारिक शिक्षाले नै स्वच्छ तथा पर्यावरणीय सुरक्षासहितको ऊर्जा उत्पादन, दिगो कृषि प्रणाली र प्रदूषणरहितको महानगरको वास इत्यादि सबै समाहित भएको वातावरणमैत्री स्थितिको सुनौलो भविष्य नवनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान प्रदान गर्छ । शिक्षामा सबैको सहज र फराकिलो पहुँच भएमा यसले धमाधम नौलो परिकल्पना र उद्यमीहरु प्रादुर्भाव हुन थाल्छन् । यिनै उद्यमीहरुले स्थानीय पर्यावरणीय समस्या सुल्झाउने अवसर खोज्न थाल्छन् । यस्तो सुःखद अवस्थामा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानार्थ चाँदीको गोली (सिल्भर बुलेट) को खोजी वा विकास गर्न हामीले सिलिकन भ्याली वा अक्सफोर्ड जस्ता विश्वविख्यात सूचना केन्द्रहरु धाइरहनु वा ती संस्थाका आँकडाहरुमा भर परिरहनुपर्ने छैन । मनग्य परिमाणमा, स्वतःस्फूर्त रुपमा समाधानका उपायहरु स्थानीय ग्रामीण वा नगरोन्मुख क्षेत्रहरु, स्वयं स्थानीय कृषक वा उत्पादकहरुबाट विश्वव्यापी रुपमा आउन थाल्नेछन् र यसैले नै कलाकुशलताको स्थायी चक्र क्रम निर्माण हुनेछ । सामाजिक रुपान्तरण र एकीकरणको अभियानमा लाग्न शिक्षित व्यक्तिहरुलाई सहज हुन्छ । यस कार्यमा उनीहरुले आर्जन गरेका ज्ञान र कौशल अरुलाई बाँड्न उपयोगी हुन्छन् नै ।

सौभाग्यवश, विगतको तुलनामा आजको युवा पिँढी राम्ररी शिक्षित छ र आफूले वायुमण्डलमा उत्सर्जन गरेका कार्बोन विषका असर कम गर्न उनीहरु स्वयं प्रतिबद्ध छन् । यस मामिलामा उनीहरुले नै मार्ग प्रशस्त गर्दै पर्यावरण प्रदूषण गर्ने दिशामा पुनर्विचार गर्न हामी सबैलाई सचेत गराइरहेका छन् । र हामी सबैले शिक्षाको सर्वसुलभतालाई विश्वभरि फैलाउनै पर्छ, ती युवा पिँढीका सतत् प्रयास किमार्थ व्यर्थै खेर जान दिनु हँुदैन । प्रोजेक्ट सिन्डिकेट÷रासस

(फिलिप क्याल्डरोन मेक्सिकोका पूर्व राष्ट्रपति तथा अर्थतन्त्र र जलवायुसम्बन्धी विश्वस्तरीय आयोग, ग्लोबल कमिशन अन दि इकोनोमी एण्ड क्लाइमेटका वर्तमान अध्यक्ष हुनुहुन्छ)
अनुवादः मोहिनी मिश्र रिसाल

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु