Sunday, 19 November 2017 07:53 pm, Nepal

भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता

एजेन्सी : 2017-08-15 13:15:49


नयाँ दिल्ली, ३१ साउन :

भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गर्नुभएको छ । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् ।

उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भन्नुभयो । उहाँले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित छ भन्नुभयो ।उहाँले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने बताउनुभएको थियो । त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उहाँले बताउनुभयो ।

भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उहाँको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् । भारतले आज आफ्नो ७० औँ स्वतन्त्रता दिवस मनाउन लागेको हो । यसका लागि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको समाचारमा जनाइएको छ ।

समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ– उहाँले सो सम्बोधनका क्रममा भन्नुभएको छ ।उहाँको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पन लक्षित रहेको अर्थ लगाएका केही विश्लेषकहरुको दाबी छ ।

पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ । जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ ।भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन ।

भारतमा कडा सुरक्षा व्यवस्था

यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको समाचार छ ।नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतको नयाँ दिल्लीबाट विभिन्न सञ्चारमाध्यमहरुले जानाकारी दिएका छन् ।

नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । सो क्षेत्रबाट प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्नुहुने विशेष कार्यक्रम रहेकोले उक्त क्षेत्रमा ध्यान दिइएको हो ।

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापन अर्थात आज रातिसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ ।

भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान पनि भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु