Monday, 20 August 2018 02:17 pm, Nepal

यौन (Sex) के हो ?

मेचीकाली : 2018-06-13 14:49:02


नरेन्द्रराज प्रसाई

••• प्रिय भान्जी जल शाह !

प्रेमा दिदीको स्वर्गारोहणको लगत्तै टेलिफोनमा तिमी र म सँगसँगै रोएका थियौँ । त्यस बेला म अमेरिकैमा हुँदा पनि तिमी भए ठाउँसम्म आउन सकेको थिइन । दिदी त गइन् तर यति छिट्टै दिदीले हामीलाई छाडी जान्छिन् भन्ने मलाई विश्वासै थिएन । त्यसैले मेरो मन धेरै दिनसम्म अँध्यारो नै भइरह्यो ।

तिम्री आमाले मलाई कति माया गर्थिन् ! उनी मसँग मनका कुरा गर्थिन्, उनी मसँग माइती र मावलीका कुरा गर्थिन् र उनी मसँग जिन्दगानीका कुरा गर्थिन् । उनी मसँग कुरा गरेर थाक्तिन थिइन् । किनभने तिम्री आमाका कुरा धेरै थिए । त्यसैले टेलीफोनमा पनि हाम्रो कुरा भइरहन्थ्यो ।

२० वर्ष अघिको कुरा हो, एकपटक मेरो घरमा आउँदा प्रेमा दिदीले एउटा फूलको बुके लिएर आएकी थिइन् । अनि त्यस फूलको बुके उनले हामी नइलाई सँगै राखेर दिएकी थिइन् । उनले दिएको फूलको बुकेमा कुनकुन रङ्को फूल थियो; तिमीलाई सम्झना छ ? त्यसमा राता, सेता र पहेँला रङका गुलाफहरू थिए ।

‘दिदी यो पहेँलो गुलाफ कति राम्रो छ है !’ त्यस बखत इन्दिराले दिदीसँग फूलको बयान गरेको पनि म सम्झने गर्छु ।

‘यो बुकेमा फूलको रङ जलले छानेकी हुन् ।’ त्यस बेला प्रेमा दिदीले जवाफका क्रममा भनेकी थिइन् ।

प्रेमा दिदीको कत्रो सान, कत्रो मन र कत्रो इच्छा ! कसैको घरमा जाँदा राणाको ढर्रा र ठकुरीको शैली उनीमा जीवितै थियो । उनको व्यक्तित्वको चमक एकातिर विशिष्ट थियो भने अर्कातिर उनको मान्छेप्रतिको व्यवहार नै सुगन्धित फूल झैँ थियो । उनको त्यही गुणका कारणले म पनि उनीसँग गलेको थिएँ र त्यसैले म पनि उनका पछिपछि लागिरहेँ ।

प्रेमा दिदीको लेखनमा शक्ति थियो । उनका समकालीन पुस्ता र त्यसअघिपछिका स्रष्टाले त्यसै बेला भन्ने गर्थे प्रेमा शाह अन्तर्राष्ट्रिय स्तरकी स्रष्टा हुन् । तर उनको त्यस्तो शक्तिशाली प्रतिभाको जति प्रयोग हुनु पर्थ्यो त्यति भएको देखिँदैन । उनमा भएको अजस्र प्रतिभाको स्रोत भनेजस्तो ढङ्गबाट खुल्न सकेन । उनमा भएको प्रतिभाको मुहान उनी भित्रभित्रै गुम्सियो र क्रमशः सुक्तै गयो र सुक्यो ।

२०५८ सालतिरको कुरा हो; प्रेमा दिदीले मलाई भनेकी थिइन् ‘म एउटा उपन्यास लेख्तै छु ।’ तर दिदीको त्यो उपन्यास पनि मैले देख्न पाइन्; भाञ्जी !

प्रिय जल !

प्रेमा दिदीको जीवनकथा म लेख्छु भनेर मैले तिमीलाई भनेको थएँ नि, लेखें । ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’को सम्पूर्ण पाठ पढेपछि तिमीलाई लाग्ला ‘यो मामाले मेरी आमाको यौन (Sex) को प्रसङ्ग लाई चाहिं किन अघि सारेको होला ?’ तर यसलाई तिमीले असजिलो रुपमा नलिनु । ‘यौन’ आफैँमा खराब, बेइजती र असभ्य कुरा हुँदै होइन् । ‘यौन’ त ईश्वरको साक्षात स्वरुप हो । ‘यौन’ भनेको ‘जान्नेहरूका लागि श्रीखण्ड नै हो ।’ त्यसैले प्रयोक्ताको औकातको हिसाबले मात्र ‘यौन’ को मूल्याङ्कन हुन सक्छ । सृष्टिको अनुपम वरदान नै ‘यौन’ हो । दिव्यचक्षु खुलेका मनुष्यका लागि प्रेमको परिपूर्णता पनि ‘यौन’ नै हो । ‘यौन’ अनुभूतिको सागर हो । प्रयोक्ताको दृष्टिविन्दुका आधारमा, प्रयोक्ताको ग्रहणशीलताका आधारमा ‘यौन’ को महत्ता कतै चुलिन्छ र कतै विकृतिको पराकाष्ठामा पुगेर पनि नाङ्गिन्छ । प्रेमा दिदीभित्र विद्वत्ताको गहिरो कुवा छताछुल्ल थियो । उनको विदुषी चिन्तनले हरेक विषय र वस्तुप्रतिको उनको दृष्टिकोण विराट थियो । त्यसैले प्रेमा दिदीले मानवीय जीवनको अमूल्य नीधि ‘यौन’का केस्राकेस्रा केलाउने हिम्मत गरेकी थिइन् ।

प्रेमा दिदीले रोजेको यौन साहित्य उनको दर्शन हो । त्यही दर्शनमा आबद्ध हुँदा नै उनले ‘पहेँलो गुलाफ’ जस्तो दर्शनका शाश्वत कृति लेखिन् ।

प्रेमा दिदीले जुन समयमा ‘यौन (Sex) लाई आफ्नो लेखनको मूल विषयवस्तु अर्थात् दर्शनका रुपमा रोजिन् । त्यस समयका लागि त्यो ठूलो चुनौति नै थियो । त्यतिखेर पुरुषहरूले नै पनि लुकिलुकी अँध्यारो कुनामा मात्र ‘यौन’ का कुरा गर्ने र एकान्तमा बसेर यौनका किताप पढ्ने चलन थियो । त्यस युगमा एउटी मस्त युवतीले सार्वजनिक समारोहमा खुल्लेआम ‘यौन’का बारेमा कविता वाचन गर्नु भनेको आश्चर्य, अनौठो र ठूलै साहसको कुरा थियो ।

सवैलाई थाहा भएकै कुरा हो, ‘यौन’बाट कोही भाग्न सक्तैन । चरचराचर जगत सञ्चालन गर्ने गराउने ‘यौन’ सर्वोपरि शक्ति भएको सबैलाई जानकारी छ । तर पनि प्राणीमध्ये मानिस नै सभ्यताका खातिर ‘यौन’ कार्य त लुकेर गर्छ नै ! तर मानिसले ‘यौन’का कुरा पनि लुकेरै गर्छ । लुकाएर राखिएको खुल्ला सत्य ‘यौन’का कुरा प्रेमा दिदीले खुलेर गरिदिइन् । त्यसबेला त्यस्तो साहसी कदम चाल्नु भनेको परम्परा र आदर्शका विरुद्धको बिद्रोह थियो । यसै कारण जोडिनाले प्रेमा दिदी विद्रोही प्राज्ञ भइन् ।

जल नानी !

स्त्री जातीको एकपटक विवाह भइसकेपछि उक्त विवाह गरिएको पुरुष जस्तोसुकै नामर्द, नालायक वा व्यभिचारी भए पनि उक्त स्त्रीले सोही पुरुषलाई देवतुल्य मानेर उसैसँग आजीवन जीवन बिताउनु पर्छ भन्ने त्यसयुगको मान्यताको थियो । तर त्यस्तो तुच्छ मान्यतालाई प्रेमा दिदीले आफ्ना पैतालाको धुलो छर्किदिइन् । अनि जानेर होस् या नजानेर होस् उनका विचारमा पुरुषहरुले नै थप्पडी मार्न थाले । अनि सामाजिक मान्यताबाट पनि उनले आफू एक्कैचोटि शिखर पुगेको गौरवीबोधको अनुभूत गरिन् । उनी यौन अथवा भनौं सेक्स साहित्यकी सफल स्रष्टा भइन् ।

प्रेमा दिदीले लेखनमा मात्र होइन आफ्नो जीवन परिचालनका लागि पनि आफ्नो प्रवर्तक आफै बन्न चाहिन् । त्यसैले प्रथमतः आफ्ना लागि पुरुषको चयन आफैँले नै ठहर गरिन् र उक्त पुरुष आफ्ना लागि उपयुक्त नभएको ज्ञात भएपछि उनलाई सजिलैसँग त्यागिदिइन् । यो बेहोरा पनि त्यस युगका लागि सानो विद्रोह थिएन । औपचारिक रुपमा अझ उनी एउटै पुरुषसम्ममा पनि अडिनन् । उनले फेरि अर्को पुरुष छानिन् । साथै ती पुरुष पनि उनका लागि उपयुक्त नभएपछि उनलाई पनि त्यागिन् । यसरी पितृसत्तात्मक समाजमा एउटी स्त्रीद्वारा गरिएको यसप्रकारको कृयाकलाप पनि निकै ठूलो विद्रोह थियो ।

प्रिय भान्जी !

प्रेमा दिदीले यथार्थवादी धाराको जीवन बाँचिन् । समाजले उनका लागि गाढेको किलाको ओरिपरि घुमेर पशुतुल्य जीवन बिताउन पनि उनलाई मञ्जुर थिएन । अस्तित्ववादकी अनुसारिणीको सग्लो नाउँ नै प्रेमा शाह थियो । त्यसैले प्रेमा दिदीले आफ्नो जीवन आफ्नै ढाँचामा बिताउन मन पराइन् । यसैक्रममा उनले कति रगत बगाइन वा पसिना बगाइन् त्यसको नालिबेली उनले शायद तिमी बाहेक कसैसँग कहिल्यै कहिनन् । सदासर्वदा शिर ठाडो गरेर, मधुर मुस्कानका साथ समाज सामू देखा पर्ने उनको व्यक्तित्वका सामू जो कोही धेरै बेर उभिन पनि सक्तैन थिए । प्रिय जल !

अब रह्यो प्रेमा दिदीका दुई पतिको कुरा ! तिमी हामी हिन्दूहरूले महाभारतको कथा पढेका छौँ, त्यसबारेको चलचित्र पनि हेरेका छौँ । पाँच पति भएकी द्रौपदी पनि हाम्रै समाजकी आराध्या देवी छिन् । हाम्रै देशका कुनैकुनै भेगमा अहिले पनि बहुपति प्रथा छँदै छ भनिन्छ । पितृसत्तात्मक समाजद्वारा बहुपत्नी प्रथा स्वीकार्य र बहुपति प्रथा हटाइएको हो । मातृसत्तात्मक हालिमुहालीमा पुरुष पीडित हुनु र पितृसत्तात्मक हालिमुहालीमा स्त्री प्रताडित गरिनु पनि खासै अनौठो कुरा होइन; यो त सत्ताको खेल मात्र न हो । त्यसैले प्रेमा दिदीका जीवनमा आइपरेका यी बेहोराहरू पनि गौण हुन् । भगवान् र भगवती मानिएकाहरूको त यौन जीवन (Sex Life) स्वतन्त्र थियो भने हामी त उनीहरूकै अनुकम्पाबाट जन्मेका मानव हौँ । जल !

यौन (Sex) लाई मानवीय जीवनको अति प्रिय, अति आवश्यक र अति गौरवशाली शक्ति पनि मानिन्छ । विशिष्ट यौन समागमका विविध भङ्गिमा प्रदर्शन गरिएका मूर्ति र चित्रहरू हामीले पूजा गर्ने मन्दिरका टुँडालहरूमा समेत हामी देख्न सक्छौं । प्राचीन कालदेखि नै यौनका यी विविध गतिविधिहरू सावर्जनिक रूपमा प्रस्तुत गरिदै आयो । यसबाट पनि के बुझ्न सकिन्छ भने हाम्रो परम्परा, धर्म र संस्कृतिले पनि यौनलाई उच्चस्तरीय सम्मान दिएको छ । यी विविध बेहोराबाट के बुझ्न जरूरी छ भने सेक्स मानवीय जीवनको घृणित, अवाञ्छित र फोहोरी खेल नभएर यो एउटा पवित्र कलात्मक शैली हो । अझ शास्त्रीय अर्थको खोजी गर्ने हो भने यौनक्रिया परमतत्व प्राप्तिकै अर्को एउटा शाश्वत पथ पनि हो । प्रिय नानी !

एक छिनलाई हामी धर्म र संस्कृतिका कुरा पनि छाडिदिउँ । मानवीय सामाजिक, पारिवारिक, मानसिक र जैविक आवश्यकता पूरा गर्ने क्रममा एउटा पुरुषबाट धोका पाएपछि अर्को पुरुषको चयन गर्नु आफैँमा त्यस्तो विवादको विषय पनि होइन । प्रेमा दिदीले पनि एकपटकको छललाई अर्कोपटक सच्याउन खोजेकी मात्र थिइन् । तर दोस्रो पटकको उनको जीबनसाथी भनाउदाले पनि उनको भावनासँग नराम्रो सँग खेल्ने कर्म गरेका थिए । एउटा धोका पछि अर्को धोका पाएपछि प्रेमा दिदीले आफ्नो जीवन आफ्नी छोरी अथवा भनौं तिमीमा समर्पण गरेकी थिइन् । प्रेमा दिदीको जीवनको तिर्खा मेटाउने कारणले नै होला दिदीले तिम्रो नाउँ नै ‘जल’ राखिदिइन् । वास्तवमा ‘जल’ सिँचेर नै हुनुपर्छ निरस हुनुपर्ने ७३ वर्षीय प्रेमा दिदीको जीवन रसिलो रह्यो । त्यसैले प्रेमा दिदीको व्यक्तित्वका विविध पाटामा देखापरेका विशिष्ट कोटीका विशेषताहरूमा रम्नुको साटो अनावश्यक टीकाटिप्पणीमा रुमलिनु आवश्यक छ जस्तो मलाई लाग्दैन । प्रिय भान्जी !

मैले २०६३ सालमा नै, ‘नारीचुली’मा प्रेमा दिदीबारे पनि बिउ छरेको थिएँ । अहिलेको मेरो ‘बिद्रोही प्राज्ञ : प्रेमा शाह’ त्यसैको उपलब्धि हो । तिम्री आमासँगको बातचितका आधारहरूलाई आड बनाएर पनि मैले यो कृति जनमाझ ल्याएको छु ।

‘दिदी म हजुरको जीवनी लेख्छु’एक पटक मैले प्रेमा दिदी समक्ष यो प्रस्ताव राखेको थिएँ । उनले हाँस्तै मलाई उत्तर दिएकी थिइन्,— ‘म मेरो आत्मकथा लेख्छु अनि तिमीले त त्यो पढ्नै पर्छ ।’ हामी दिदी भाइमाझ यो संवाद भएको वर्षौवर्ष बितिसक्यो । खै त उनको आत्मकथा ! हामीले उनको जीवन कसरी पढ्ने; खोई ?

प्रिय भान्जी !

के दिदीले आत्मकथा लेखेर थन्क्याएकी छिन् र ? मलाई लाग्छ, लेखेकी छैनन् । पछि लेखेकी भए त मैले पनि सुइँको पाउन सक्थेँ होला । तर यति हो मलाई दिदीले उनको जीवन कथाका धेरै प्रसङ्ग भनिसकेकी थिइन् । धेरै दिनको कुरा रह्यो, कति मैले बिर्सेँ र कति सम्झेँ । जेजे भए तापनि सबै जोड घटाउ गरेर मैले उनको जीवनी तयार गरेँ । अहिले मलाई पछुतो पनि लागिरहेको छ, भान्जी ! यदि मैले उनको जीवनकालमा नै उनको जीवनी लेखेको भए मलाई कति सजिलो हुन्थ्यो । दिदीकै मुखबाट मैले उनको सारा जीवन्त कथा सुन्न पाउने थिएँ । अनि मैले लेखेको उनको सिङ्गो जीवनीको किताब देखेरै उनी कति रमाउने थिइन् होला ! मेरो २० वर्ष जतिको साधनाको फल ‘नारीचुली’ हेरेर प्रेमा दिदी खुसी भएको म सम्झन्छु । ‘कस्तो राम्रो किताप !’ दिदीले ‘नारीचुली’ छापिएको सुनौलो अक्षर सुम्सुम्याएर भनेको कुरा मलाई त अहिले भरखरजस्तो पो लाग्छ । प्रिय जल !

प्रेमा दिदी पूर्ण मानव थिइन् । प्रेमा दिदी स्त्रीमा हुनुपर्ने सम्पूर्ण सुन्दरताले परिपूर्ण र भरिपूर्ण थिइन् । उनको स्वभाव पनि नरम र मायालु थियो । प्रेमा दिदी विदुषी हुनाका साथसाथै कुल घरानाकी र सुसंस्कारले सुसज्जित थिइन् । प्रेमा दिदी इमान्दार थिइन् । तर यति हुँदाहुँदै पनि उनको जीवनमा स्त्रीका लागि प्रकृतिले नै आवश्यक मानेको जैविक पुरुषको अभाव रह्यो । प्रेमा दिदीको जीवनमा पटकपटक हरेक पटक उनका जैविक अन्तरङ्ग साथीहरुले नै छल गरे। एउटी नारीका लागि उसको अन्तरङ्ग ठहर्याइएको पुरुषबाट छल गरिनु भनेको ठूलो घात हो । तर यस्ता घातकसँग पनि सशक्त रुपमा नै पौँठेजोरी खेलेर, ती अन्यायी मानवलाई पराजित गरी, तिनैलाई नै जग बनाएर प्रेमा दिदीले आफूलाई साहित्यको गजुर बनाइन् । जस्तो सुकै परिस्थितिसँग पनि सामना गरेर अघि बढ्ने विराङ्गनाको नाउँ नै हो— ‘प्रेमा शाह ।’

मानवीय जीवन पनि अचम्मैको हुन्छ । साहित्यिक संसारमा आवाद प्रेमा दिदीको नश्वर संसारमा भने उनको नीजि घर भएन, परिवर्तित हुने थर भएन । तर त्यति हुँदाहुँदै पनि उनले आफूलाई सदा गतिवान् राखिन् । उनको जीवनमा उनी सग्लो, सुन्दरी र विशिष्टकोटीकी नारी भएर पनि तिमी बाहेक उनले केही पाइनन् । जीवनको उत्तरार्धमा ‘जल’ र ‘जल’ ले अवतरण गराएकी ‘कलश’ नै उनको सम्पूर्ण जीवनको प्राप्ति मानेर उनी तृप्त भइन् । उनी यसैमा रमाइन् । उनको संसार जलकलशमा नै आबद्ध भयो ।

प्रिय नानी जल !

नेपाली भाषासाहित्यमा गुणात्मक कृतिकी सर्जक प्रेमा शाहलाई उनैका कृतिले सुरक्षित राखिदिएको छ । उनी सधैँ बाँच्ने काम उनैले गरिगएकी छिन् । नेपाली साहित्याकाशमा प्रेमा शाह भन्नु एउटा सशक्त स्रष्टाको नाउँ मानिन्छ । उनको यौन साहित्यले उनी झन शिखर पुगिन्, यौन साहित्य उनको समाज र व्यक्तिको चित्रण मात्र थिएन, एउटा उँचो दर्शन पनि थियो । त्यही यौन दर्शनका कारण उनको साहित्यमा बेग्लै आकाशको स्थापना भयो । खास गरेर उनको एउटा कविताले उनी सधैँ तातो स्रष्टा भइरहिन्:

‘आउ मलाई सम्भोग गर ।’

प्रेमा दिदीको सबैभन्दा चर्चित कविता भनौ ‘म सूर्यसँग सम्भोग गर्छु’ भन्ने कविताले नेपाली साहित्याकाशमा भनेजस्तो गरी फुल्न पाएन । किनभने त्यस कविताको लिपी उनले पनि राखिनन् र अरूले पनि उनले वाचन गरेको कविता टिपेर जस्ताको तस्तै राखिदिएनन् । अनि त्यस कविताले अधुरै र अप्रकाशितै भएर रहनु पर्यो । तर पनि कति जिवन्त छ, यो कविता ! कति शाश्वत छ, यो कविता ! अनि कति प्रिय छ, यो कविता ! किनभने यो कविता एकातिर ‘सम्भोग’ले दिने आनन्दतर्फ लक्षित छ भने अर्कातिर पृथ्वी र सूर्यका वीच दैनिक हुने समागमको खुलासा गर्न पनि कवयित्री प्रेमा शाह अघि सरेकी छिन् । प्राकृतिक सत्य उद्घाटित भएको हुनाले पनि यस कविताले स्रोतालाई मुग्ध पारेको हुनुपर्छ भन्ने मलाई लागेको छ ।

प्रिय जल !

मैले ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ लेखेँ । यो कृति मलाई लेख्न मन लागेकाले लेखेँ । दिदी कै स्नेह, आत्मीयता र विश्वास पाएको थिएँ र दिदीबाट मेरा कानमा खसेका कुरा नै मैले लेखेँ । साथै तिमीलाई सम्झेर पनि मैले तिम्री आमाको जीवनी लेखेँ । तिम्रो मप्रतिको स्नेह र विश्वासमा पनि मैले यो कृति लेखेँ । कति अधुरा कुरा तिमीबाटै टिपेर पनि मैले लेखेँ । जल नानी !

तिम्री माइजू अथवा भनौं मेरी पुरोधिका इन्दिराका कारणले पनि मैले आफ्नो जीवनी लेखन यात्रा बढाएँ र ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ तिमी र पाठकलाई समर्पण गर्न पाएँ । यस बेहोरामा मलाई गौरवीवोध पनि भएको छ । तिमीलाई माया गर्ने तिम्रो मामा

(नरेन्द्रराज प्रसाईकृत ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ नामक जीवनी कृति २०७५ को भूमिकामा आधारित जलपत्र)

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु