केयूमा विद्यार्थीको आकर्षण बढ्दै, भर्नादरमा १५ प्रतिशत वृद्धि


मेचीकाली

काभ्रे–देशका कतिपय कलेजमा विद्यार्थीको संख्या घट्दै गएका तथ्यांक सार्वजनिक भइरहेका छन् । विशेषगरी विद्यार्थीमा विदेश मोह बढेसँगै विद्यार्थी संख्या घटेको पाइएको छ ।

तर, काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा भने दुई वर्षदेखि लगातार विद्यार्थी संख्या बढेको पाइएको छ । यसले केयूमा विद्यार्थीको आकर्षण झनै बढेको पाइएको छ । विश्वविद्यालयले पछिल्लो शैक्षिक सत्र २०२३/०२४ का लागि विगतको तुलनामा १५ प्रतिशतले बिद्यार्थी भर्नादर बढेको जनाएको छ । 

काठमाडौँ विश्वविद्यालय बिद्यार्थी भर्ना निर्देशनालयको तथ्याङ्क अनुसार शैक्षिक सत्र सन् २०२२/०२३ मा कुल पाँच हजार ८९८ बिद्यार्थीको सिट क्षमता भएको केयूमा करिब ७२ प्रतिशत अर्थात् चार हजार दुई सय बिद्यार्थी मात्रै भर्ना भएका थिए । चालु शैक्षिक सत्रमा छ हजार १८६ जना बिद्यार्थीको सिट क्षमता रहेको केयूमा ८७ प्रतिशत अर्थात् करिब पाँच हजार तीन सय बिद्यार्थी भर्ना भएको निर्देशनालयका सहनिर्देशक ब्रजेश मिश्रले जानकारी दिएका छन् ।

यस वर्ष स्कुल अफ आर्टस्मा सिट क्षमताको ७३ प्रतिशत, स्कल अफ एजुकेशनमा ९२ प्रतिशत, स्कुल अफ इन्जिनियरिङ्मा ८८ प्रतिशत, स्कुल अफ ल मा शत प्रतिशत, स्कुल अफ मेनेजमेन्टमा ७९ प्रतिशत, स्कुल अफ मेडिकल साइन्समा ९१ प्रतिशत र स्कुल अफ साइन्समा ८७ प्रतिशत भर्ना भएको बताए ।

 गत शैक्षिक सत्र २०२२÷०२३ मा स्कुल अफ आर्टस्मा सिट क्षमताको ५४ प्रतिशत, स्कल अफ एजुकेशनमा ५४ प्रतिशत, स्कुल अफ इन्जिनियरिङ्मा ७५ प्रतिशत, स्कुल अफ ल मा ९५ प्रतिशत, स्कुल अफ मेनेजमेन्टमा ७५ प्रतिशत, स्कुल अफ मेडिकल साइन्समा ८५ प्रतिशत र स्कुल अफ साइन्समा ५९ प्रतिशत मात्रै भर्ना भएका थिए । 

शैक्षिक सत्र सन् २०२१÷०२२ मा विश्वविद्यालयमा कूल सिट क्षमताको ७० प्रतिशत मात्रै बिद्यार्थी भर्ना भएको तथ्याङ्क रहेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले पछिल्लो दुई वर्षदेखि विश्वविद्यालयमा बिद्यार्थी भर्ना दर बढेको बताउनुभयो । उहाँले विश्वविद्यालयले आफ्ना कार्यक्रमहरुको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसार, विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई दिईने छात्रवृत्तिमा बढावा, विश्वविद्यालयमा स्नातक तहको हरेक सङ्कायमा सर्वोत्कृष्ट (टप) बिद्यार्थीको लागि एक वर्ष रोजगारी उपलब्ध गराउनेलगायतका सुविधा उपलब्ध गराएसँगै बिद्यार्थी भर्नादर बढेको बताए । स्वदेशमा नै बिद्यार्थी टिकाउनुपर्छ भन्ने अभिप्रायले विश्वविद्यालयले विद्यार्थी आकर्षित गर्नका लागि विभिन्न योजना अघि बढाएको उनले बताए । 

विश्वविद्यालय भर्ना निर्देशनालयका सहनिर्देशक मिश्रले विश्वविद्यालयले स्नातक तहमा सङ्काय टप गर्ने बिद्यार्थीलाई विश्वविद्यालयले एक वर्षका लागि अधिकृत तहमा नेपाल सरकारले तोकेको तलबमानमा १० प्रतिशत प्रोत्साहन रकम थप गरी रोजगारी उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । विश्वविद्यालयले यस वर्षका लागि विश्वविद्यालयका विभिन्न संकायमा टप गर्ने करिब ८० जना बिद्यार्थीलाई रोजगारीको प्रस्ताव गरिएकोमा १८ जनाले मात्रै काम सुरु गरेको मिश्रले बताए । ६०/६० जनाको सिट क्षमता रहेको सिभिल इन्जिनियरिङ र कम्यूटर साइन्समा एघार सय र चौध सय बिद्यार्थीको आवेदन परेपछि चालु शैक्षिक वर्षमा लागि इन्जिनियरिङ परिषद्बाट थप ६०/६० जनाको सिट क्षमता बढाइएको छ । केयूले हाल दुई सयभन्दा बढी कार्यक्रम सञ्चालन, पाँच सय भन्दा बढीलाई छात्रवृति, हालसम्म ४३ हजार बढी बिद्यार्थी उत्पादन, केयू र अन्य सम्बन्धन प्राप्त २२ कलेजहरुमा गरी हाल १८ हजार भन्दा बढी बिद्यार्थी अध्ययन गरिरहेका छन् । 


प्रतिक्रिया



थप समाचारहरु