‘पीरै पीर’, नेपाली युवाहरुको ताजा र पीडादायी तस्विर


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

नेपाल कला, संस्कृति र परम्पराको हिसाबले धनी मुलुक हो । यहाँ, नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी, छुजाङ दुक्पा, अरुणा लामा, अरुण थापा, आशा भोसले, उदिपनारायण झा, दिप झा, गुलाम अली, सरोज गोपाल, मिरा राणा जस्ता गायक तथा सर्जकहरुले नेपाली कला र संस्कृतिको गीत मार्फत उजागर गर्दै आएको अविस्मरणीय इतिहास छ । पछिल्लो समय प्रमोद खरेल, प्रकाश सपुत, समीर घिसिङ भिटेन, सुगम पोखरेल, सज्जनराज वैद्य, शिब परियार, राजेश पायल राई, खेम सेन्चुरी, प्रताप दास, प्रकाश दुतराज लगायतका थुप्रै गायकहरुले नेपालको सांगितिक बजारलाई बेला बेलामा तताउँदै मात्र आएका छैनन, चित्रण समेत गर्दै आएका छन् । 

त्यतिमात्र नभएर बिष्णु माझी, देवी घर्ती मगर, पूर्णकला बिसी, टिका पुन, मुना थापा मगर, राधिका हमाल, रामजी खाड, राजु परियार, पशुपति शर्मा, कुलेन्द्र बिश्वकर्मा, पुष्कल शर्मा, खुमन अधिकारी, बद्री पंगेनी, बिरही कार्की, याम छेत्री, राजन गुरुङ लगायतका कलाकारहरु लोक संगितको सांगितिक बजारमा विभिन्न सन्दर्भहरुको उठान गर्दै आएकाछन् । 

हालै सार्वजनिक भएको गायक भुपु पाण्डेको “पिरै पिर” बोलको गीतले अहिलेको बेरोजÞगार युवाहरुको अवस्थाको वास्तविक चित्रण मात्र गरेको छैन देशको ताजा र जीवन्त अवस्थाको समेत नालिबेली खोतलेर चर्चामा रहिरहेको छ । बनभोज, सामाजिक मिडियादेखि गाउँ वस्ती, धारपँधेरी र टोलटोलमा पीरको चर्चा चुलिन थालेको छ । चलेको मिडियाबाट सार्वजनिक गर्दा मात्र गीतहरुको भ्युज टन्नै जान्छ र धेरैले हेर्छन् भन्ने कुराको प्रतिवाद गर्न सफल ‘पीरै पीर’ निजी यूटुब च्यानलबाट सार्वजनिक भएरै आकाशी रहेको छ । यसको चर्चा नहुने नेपालमा सायद ठाउँनै छैन ।

“पिरै पिर” बोलको गीतबारे गायक भुपु पाण्डेले आफ्नो यूटूबमा लेखेका छन्–“यो एकादेशको कथा होइन, यो हाम्रै गाउँको कथा हो । यो हामी युवाहरुको आजको व्यथा हो । मनको पिर ओठले बोलेको सानो गाथा हो । कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनु परेको विभिन्न नशालु पदार्थ धुवाँ र झोल केवल हामीले गर्न चाहेकोे प्रचार होइन । उनी बेरोजगार युवालाई रोजगारीको ब्यवस्था गर्न आग्रह गर्दै अझ अगाडी थप्छन्–“मापसे गरेर सवारी नचलाऔँ, देशपनि मापसे गरे जसरी नचलाऔँ । बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ ।”

माथि उल्लेखित उनको भवनामा युवा र युवाजन्य सन्दर्भ मात्र नभई सिंगो देश बोलेको पाउन सकिन्छ । गायक भुपु पाण्डेले बेरोजगारी मात्र होईन देशको समेत चिन्ता गरेर गीतको एक हरफÞमा “एउटै डर हजुर लाग्दछ बेस्कनी, छिमेकीले हजुर लान्छ कि देशपनि” भन्दै कारुणिक भाषामा मातृभूमीप्रतिको अदुभूत चिन्ता प्रकट गर्न भ्याएका छन् ।

त्यतिमा मात्र सिमित नभएर उनको गीतमा थुप्रै मार्मिक कुराहरु समेटिएको छ । “फूल फुलेर के गर्नु भिरै भिरमा छ, जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ । गारो भयो हजुर खुलेर हाँस्नलाई, बेरोजगारी हजुर भएर बाँच्नलाई । चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठिक छ हजुर पैसाकै कमि छ । न त पढाई हजुर न ठुलो लगानी, अब खाडी हजुर जाने त होला नि । जोगी आउँछन् हजुर देवताको भेषमा, जनताभन्दा हजुर नेता छन् यो देशमा । फÞ्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा, उमेर बित्यो हजुर चुरोट र भोलामा । विदेश जाँउ त हजुर लाग्दैन भिसा, उमेर पनी हजुर पुग्दैछ दुई बीस । बाउ आमाको हजुर साहारा छोरो, कस्तो देशमा हजुर जन्मेछु मै मोरो । घरबारी हजुर राखेर बन्धकि, उधारोमा हजुर चल्दैछ जिन्दगी । एउटै डर हजुर लाग्दछ बेस्कनी, छिमेकीले हजुर लान्छ कि देशपनि । एयरपोर्टमै हजुर मान्छेको ताँती, नेपाल रित्तो हजुर हुने भो ए साथी” आज चर्चाको शिरमा पुग्न सफल भएको छ । 

यस गीतमा बोल, भाव र मर्म असाध्यै कारुणिक मात्र छैन, मार्मिक तथा देशको माटो र वर्तमान सन्दर्भ केन्द्रित छ । जनताभन्दा नेता र पार्टी धेरै भएको सांकेतिक कुरा, देश र जनताप्रति समर्पित खालको भाव र चाहिने जति ओज नेतृत्वमा नभएको कुराको साथै बैदेसिक रोजगारी र विदेश पलायनको कुरा अत्यन्तै मार्मिक ढंगबाट ठानन भएको देख्न सकिन्छ । गीतमा बनभोजको नेपाली संस्कृति, साथीहरु विच एकै क्षण भएपनि पीडा लुकाएर रमाउने सन्दर्भ र कुलतमा फस्ने कारणहरु समेतको तस्विरलाई सचित्र चित्रणको राम्रो प्रयाश भएको देख्न सकिन्छ ।

त्यसैले भुपु पाण्डेको पीरै पीरलाई पीर र शोकमा सीमित नगरी उर्जावान सशक्त शक्तिमा बदल्न सक्नु पर्दछ । नेपालमै रोजगारीको अवसरको सन्दर्भमा नेपालका राजनीतिक दलहरुले ध्यान पुग्नुु पर्दछ । कलाकार, सांगितिक क्षेत्र, युवाशक्ति र देशको प्रभुत्ववर्ग सहित राजनीतिकर्मीहरु युवा पलायन रोक्ने प्रयाशमा अग्रसर बन्नु पर्दछ । त्यसले मात्र देश, नेपाली युवा र पाण्डेको गीतको मर्मप्रति न्याय प्रदान गर्न सकिन्छ । 


प्रतिक्रिया



थप समाचारहरु