बिमा लागु भएपछि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्यो


Mechikali

काभ्रे– सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या समेत बढेको छ । बिमा कार्यक्रम लागु हुनुभन्दा अघि सामान्य बिरामी भएको खण्डमा घरमा नै बस्ने बिरामीहरु बिमा कार्यक्रम लागु भएपछि भने सामान्य स्वास्थ्य समस्या हुँदा उपचारका लागि अस्पताल जाने बानीको बिकास भएको छ । सरकारले स्वास्थ्य बिमा गराएका काभ्रे जिल्लाका नागरिकहरुको उपचारका लागि सात वटा स्वास्थ्य संस्थालाई तोकेको छ । बिमित नागरिकले जिल्लामा रहेका सात वटा स्वास्थ्य संस्थामा गएर उपचार सुविधा लिन पाउने भएपनि स्वस्थ्य संस्थामा फार्मेसी, दक्ष जनशक्ति तथा आवश्यक उपकरण नहुँदा धुलिखेल अस्पतालमा उपचार गराउने बिरामीको चाप बढेको छ ।
सरकारले बिमा गराएका काभ्रेली नागरिकका लागि धुलिखेल अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र र बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालबाट बिमाको उपचार सुविधा उपलब्ध गराएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा आँखाका बिरामीहरु उपचारका लागि जाने गरेपनि अन्य रोगका बिरामीहरु धुलिखेल अस्पताल जाने भएपछि धुलिखेल अस्पतालमा भिड बढेको छ । अस्पतालमा दैनिक रुपमा आउने बिरामीको सङ्ख्यामध्ये ७० देखि ८० प्रतिशत बिमाको बिरामीहरु रहेको अस्पतालले जनाएको छ ।
पाँच जना सदस्य रहेको परिवारले तीन हजार पाँच सय रुपियाँको स्वास्थ्य बिमा गर्दा एक वर्षमा पाँच जनाले एक लाख रुपियाँसम्मको बिमा सुविधा पाउने भएपछि सामान्य रोग लागे पनि नागरिकहरु अस्पताल जाने प्रचलन बढेका कारण पनि अस्पतालमा नागरिकको भिड देखिएको हो । धुलिखेल अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालमा आउने बिरामीले नाम दर्ता, प्रयोगशाला जाँचका लागि तिर्नुपर्ने रकम काउण्टर तथा फार्मेसीमा नागरिकको भिड लाग्ने गरेको छ । नागरिकमा धुलिखेल अस्पतालका साथै मेथिनकोट प्रादेशिक अस्पताल र अन्य पाँच वटा प्राथमिक उपचार केन्द्र (पिएचसी) मा पनि बिमाको उपचार हुन्छ भन्ने जानकारी नभएका कारण पनि धुलिखेलमा अस्पतालमा बिरामीको सङ्ख्या बढेको हो ।
स्वास्थ्य बिमा बोर्ड काभ्रेकी कार्यालय प्रमुख मुना निरौलाले जिल्लामा उपचारका लागि तोकिएका स्वास्थ्य संस्थाहरुको आफ्नै फार्मेसी तथा उपचारका लागि आवश्यक पर्ने उपकरण नभएका कारण धुलिखेल अस्पतालमा बिरामीको चाप बढेको बताउनुभयो । उहाँले फार्मेसी नभएका स्वास्थ्य संस्थामा फार्मेसी स्थापनाका लागि पटक÷पटक आग्रह गरिएपनि काम नभएको गुनासो गर्नुभयो । उहाँले पनौती, पाँचखालमा रहेका प्राथमिक उपचार केन्द्रलाई फार्मेसी स्थापनाको लागि आग्रह गरेको वर्षौ बितिसक्दा पनि फर्मेसी स्थापनाको काम नभएको बताउनुभयो । कार्यालय प्रमुख निरौलाले प्राथमिक उपचार केन्द्रमा फार्मेसीका साथै आवश्यक उपकरण समेत अभाव रहेको बताउनुभयो । उहाँले बोर्डले उपचारका लागि तोकेका प्राथमिक उपचार केन्द्रमा आएका बिरामीलाई धुलिखेल रिफर गर्ने गरेको बताउनुभयो ।
धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले कोभिड अघिसम्म अस्पतालमा दैनिक बाह्र सय देखि चौध सय बिरामीहरु उपचारका लागि आउने गरेको बताउनुभयो । अस्पततालमा उपचारका लागि आउने बिरामीमध्ये ७० देखि ८० प्रतिशत स्वास्थ्य बिमाको सुविधा लिने बिरामी रहेको बताउनुभयो । उहाँले काभ्रे जिल्लाका नागरिकहरुले अस्पतालमा आएर बिमा सुविधाको उपचार पाउनेछन् भने अन्य जिल्लाको नागरिकहरुको हकमा कुनै अस्पतालबाट रिफर गरिएको तथा आकस्मिक कक्षमा आउने बिरामीले मात्रै उपचार सुविधा पाउनेछन् ।
उहाँले बिमा कार्यक्रमपछि अस्पतालमा बिरामीको चाप बढेको बताउँदै अस्पतामा हुने बिरामीको चापलाई घटाउनका लागि नियमित औषधि सेवन गर्ने बिमाका बिरामीलाई झञ्झटबाट मुक्त गर्न औषधि लिने छुट्टै प्रिफेव भवन निर्माण भइरहेको बताउनुभयो । उहाँले अस्पतालमा आउने बिरामीहरुलाई सहज उपचार सेवा कसरी उपलब्ध गराउने बिषयमा अस्पताल गम्भिर भएर अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु