आँखाका समस्या लिएर आउने बालबालिकाको सङ्ख्या बढ्यो


Mechikali

बनेपा– कोरोना सङ्क्रमण देखा परेपछि बिद्यालय जाने बालबालिकाहरुलाई बिद्यालयहरुले अनलाईन(भर्चुअल) माध्यमबाट अध्यापन गराउँदै आएका छन् । भर्चुअल माध्यमबाट अध्ययन गर्ने क्रममा मोबाईल, ट्याब तथा ल्यापटपलगायतका इलेक्ट्रिक डिभाइसमा एकहोरो हेर्दा बालबालिकामा आँखा सम्बन्धि समस्या समेत बढेको छ । पछिल्लो समय जिल्लामा रहेका अस्पतालमा आँखाका विभिन्न समस्या लिएर उपचारका लागि आउने बालबालिकाको सङ्ख्या समेत बढेको छ ।
बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले अस्पतालमा उपचारका लागि आउने बालबालिकामा आँखा सुख्खा हुने, आँखाबाट आँसु बग्नेलगायतका समस्या लिएर आउने गरेको जनाएको छ । अस्पतालका महासचिव हिरामणी शर्माले विगत केही वर्षअघिसम्म अस्पतालमा आँखाको समस्या लिएर वयस्क तथा जेष्ठ नागरिकहरु उपचारका लागि आउने गरेपनि पछिल्ला केही वर्षदेखि विभिन्न समस्या भएका बालबालिका समेत उपचारका लागि आउने गरेको बताउनुभयो । अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. सेनी चापागाँईले पछिल्लो समय अस्पतालमा आँखाको समस्या लिएर आउने बालबालिकाको सङ्ख्यामा बृद्धि भएको बताउनुभयो ।
उहाँले कोभिडका कारण बालबालिकाहरु भर्चुअल माध्यमबाट घण्टौँसम्म मोबाईल, ट्याब, ल्यापटपलगायतका डिभाइसमा हेरेर अध्ययन गर्नुपर्ने भएकोले उक्त कार्यबाट बालबालिकाको आँखामा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले नजिकबाट मोबाईल, ल्यापटप, ट्याबमा हेरेर अध्ययन गर्दा बालबालिकामा आँखा सुख्खा हुने, आँखा दुख्ने, टाउको दुख्ने, आँखाको एलर्जीलगायतका समस्या हुने बताउनुभयो । उहाँले निरन्तर रुपमा इलेक्ट्रिक डिभाइसमा हेर्दा डिभाइसको उज्यालोले आँखा भित्र रहेको आँसु सुकेर आँखा सुख्खा हुने समस्या देखिने बताउनुभयो । अस्पतालकी नेत्र रोग विशेषज्ञ चापागाँईले मोबाईल तथा अन्य डिभाइसहरु नजिकबाट हेर्दा आँखा कमजोर हुनुको साथै कमजोर आँखाको समयमा नै उपचार नभएको खण्डमा आँखा ‘अल्छि हुने’, दृष्टि दोष हुने, तथा आँखा बाङ्गो हुने समस्या देखापर्ने बताउनुभयो ।
उहाँले अस्पतालमा दैनिक करिब एक दर्जन बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँले अभिभावकहरुले बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्नुअघि तथा समय÷समयमा आँखाको जाँच गराएको खण्डमा आँखामा आउने विभिन्न समस्याको समयमा नै उपचार गर्न सकिने बताउनुभयो । उहाँले अस्पतालमा अन्य दिनको तुलनामा शनिवार बिरामीको चाप बढी हुने गरेको बताउनुभयो । यता धुलिखेल अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. अङ्गिरा श्रेष्ठले पछिल्लो समय अस्पतालमा आँखा सुख्खा हुने, आँखा पोल्ने तथा टाउको दुख्ने समस्या लिएर बालबालिका आउने गरेको बताउनुभयो । उहाँले अस्पतालमा दैनिक करिब छ जना बालबालिका आँखाको समस्या लिएर आउने गरेको बताउनुभयो ।
उहाँले भर्चुअल माध्यमबाट अध्ययन गराउने क्रममा बालबालिकालाई मोबाईल हेरेपछि टाढाटाढा समेत हेर्न लगाउन अभिभावकलाई सुझाव दिनुभयो । उहाँले बालबालिकालाई टाढाको वस्तुहरु हेर्न लगाउँदा आउन सक्ने समस्यामा केही कम हुने बताउनुभयो । उहाँले बालबालिकामा आँखाको समस्या हुन नदिनका लागि मोबाईललगायतका डिभाइस हेर्नका लागि एन्टि रेडियन्ट प्रोटेक्ट चस्मा(ब्लु कट) लगायतका विशेष चस्माको प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले अभिाभावहरुले आफ्नो बालबालिकाको आँखामा समस्या भए, नभएको थाहा पाउनका लागि समय÷समयमा आँखा जाँच गराउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु