केयूको पाँचखालमा सञ्चालित कार्यक्रमलाई सहयोग हुनेछ– प्रधानमन्त्री देउवा


मेचीकाली

धुलिखेल– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालय (केयू)ले पाँचखालमा सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिनका लागि सरकारको तर्फबाट सहयोग हुने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै विश्वविद्यालयको पाँचखाल क्याम्पस हातामा मुलुकको आवश्कता अनुरुपको कृषि शिक्षा र समयको माग अनुसार आर्टीफिसियल ईन्जिनियरिङ कार्यक्रम शुरु भएकोमा बताउनुभयो । उहाँले पाँचखालमा सञ्चालित कार्यक्रमको महत्वलाई आत्मसात् गर्दै विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । 

उहाँले काठमाण्डौ विश्वविद्यालयबाट दीक्षित जनशक्तिले स्वदेश तथा विदेशका विभिन्न महत्त्वपूर्ण संस्थाहरूमा उत्कृष्ट सेवा पु¥याउँदै आएको बताउनुभयो । उहाँले कोभिड– १९ को सन्त्रासमा पनि विश्वविद्यालयले आफ्नो शैक्षिक क्यालेण्डर यथावस्थामा राखी कार्यक्रमहरुलाई निरन्तरता दिई आएको यस विश्वविद्यालयले बौद्धिक जनशक्तिको पलायन रोक्न, सीपयुक्त जनशक्ति विकासमा ह्रास आउन नदिन तथा परिवर्तित युग सुहाउँदो शैक्षिक, वैज्ञानिक चेतनाको विकास कार्यमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयका शैक्षिक कार्यक्रमका गतिविधिहरू क्रमशः बढ्दै गइरहेको परिप्रेक्ष्यमा यसको भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो । 

उहाँले विश्वविद्यालयले इन्जिनियरिङ्ग, चिकित्सा लगायतका प्राविधिक उच्चशिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्दै आइरहेको बताउनुभयो । उहाँले केयूले अन्तर्राष्ट्रिय स्तरका विभिन्न विश्वविद्यालयहरूसित सम्बन्ध र सम्पर्क विस्तार गर्दै शैक्षिक आदान–प्रदानका कार्यक्रमहरूमार्फत शैक्षिक गतिविधिलाई गुणस्तरीय बनाउन तथा प्रतिभाशाली विद्यार्थीहरूलाई थप अध्ययन–अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पहुँच बनाउन सहयोग गर्दै आएको बताउनुभयो । उहाँले विश्वविद्यालयको प्रयासलाई आगामी दिनमा थप विस्तार गर्दै विभिन्न विधामा मेधावी जनशक्ति तयार गर्न विश्वविद्यालयले जोड दिनेछ भन्नेमा आफु विश्वास रहेको बताउनुभयो । 

दीक्षान्त समारोहमा कार्यक्रममा भारतको आईआईटि हैदराबादका निर्देशक बि एस मुर्तीले केयूसँग सहकार्य गरेर अघि बढ्नका लागि आईआईटि हैदरावाद तयार भएर केहीदिन अघि सम्झौत समेत भएको बताउनुभयो । उहाँले दुई संस्थाबीच शैक्षिक गतिविधिहरुमा सहकार्य हुने बताउँदै उक्त सम्बन्ध लामो समयसम्म जाने बताउनुभयो । उहाँले दीक्षित विद्यार्थीहरु सम्बन्धित क्षेत्रमा सफल हुनका लागि उसमा सबैभन्दा पहिलो आत्मविश्वास बलियो हुनुपर्ने तथा त्यस कामप्रतिको लगाव समेत आवश्यक हुने बताउनुभयो । 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले केयूबाट उत्पादित दक्ष जनशक्ति स्वदेश तथा विदेशमा काम गर्दै आएको बताउनुभयो । उहाँले विश्वविद्यालयले विश्वका २२९ वटा उच्च शिक्षासँग सम्बन्धित प्राज्ञिक एवम् अनुसन्धानमूलक संस्थासँग सहयोग आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको बताउनुभयो । उहाँले केयूले नेपालमा समयानुकुल विभिन्न नयाँ नयाँ विषयको अध्यापन गराउँदै आएको बताउनुभयो । दीक्षान्त समारोहमा विभिन्न संकायका एक हजार ७१५ बिद्यार्थी दीक्षित भएका थिए । 


प्रतिक्रिया



थप समाचारहरु