एमालेको मध्यपहाडी अभियान : 'समृद्ध नेपाल, सुखी नेपाली' अन्तर्गतकै एक प्रभावकारी अभियान !


-होमप्रसाद चौंलागाँईं

मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । पुष्पलाल नेपालमा कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव हुन् । त्यति मात्र नभएर यो वर्ष कम्युनिस्ट पार्टीको ७५ औं स्थापना वर्ष समेत । पुष्पलालले स्थापना गर्नुभएको पार्टी आज ७५ वर्ष पुगेको छ । एउटा बालकले जन्म लिएर आफ्नो जीवनको उत्तरार्धमा प्रवेश गर्ने बेला भएको छ । कम्यूनिष्टहरु झैझगडा र टुटफुटमै अल्मलिएका छन् । नेपालको हकमा नेकपा एमाले मूलधारको ठूलो पार्टी हुँदाहुँदै केहि कम्यूनिष्ट घटकहरु कांग्रेससंग निरन्तर गला जोडिरहेका छन् । यस बिचमा पुष्पलालको नेतृत्वमा गठिट पार्टी जनताको पार्टी बनिरहेको छ । उनको नाममा निर्माणाधिन मध्यपहाडी सडकलाई जोड्दै यो अभियान चलाउन खोजेको देखिन्छ । गएको ७५ वर्षमा खास गरी भए गरेका जनस्तरका कामहरुको बारेमा सन्देश दिन यो कार्यक्रम आयोजना हुनु देशकै लागि गौरवको विषय हो । 

यो नेपालको पूर्व पश्चिमको पहाडहरु जोड्ने निर्माणाधीन लामो राजमार्ग हो । मुलुकको पूर्वदेखि पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो । निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चिवनभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । चिवाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ । नेपालमने पहाडी क्षेत्रमा विद्यमान नगरपालिकामध्ये धेरैलाई यसले जोड्नेछ । यो राजमार्गले धेरै शहरहरुलाई समेत चिरेर, छोएर वा छोएसरह भएर अगाडी वढ्दछ । शहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना शहर तथा बस्ती पनि पर्दछन् ।

ट्रयाक खोल्ने काम सबैजसो सकिएको यो बाटोले कावेली, तमोर, अरुण, सुनकोशी, तामाकोशी दुधकोशी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढी गंगा र पश्चिमसेतीलगायत आयोजनालाई पनि जोड्ने छ । राजमार्गले सुदूर पूर्वको चियोभन्ज्याङ–गणेशचोक, गणेशचोक–जोरसल, जोरसल–तमोर–सक्रान्ति, सक्रान्ति–म्याङलुङ, म्याङलुङ–बसन्तपुर–हिले, हिले–लेघुवाघाट– भोजपुर, भोजपुर–दिक्तेल, दिक्तेल–घुर्मी, घुर्मी–खुर्कोट, खुर्कोट–नेपालथोक, नेपालथोक–धुलिखेल, धुलिखेल– काठमाडौ, काठमाडौँ–पोखरा, पोखरा–बाग्लुङ, बाग्लुङ–बुर्तिवाङ, बुर्तिवाङ–बाग्लुङ–मुसिकोट, बाग्लुङ–मुसिकोटरु कुमकोट–मुसिकोट–चौरजहारी, चौरजहारी –दैलेख, दैलेख– दुल्लु–लैनचौर, लैनचौर–सतला–सैजुला, सैजुला– बेलखेत –मंगलसेन, मंगलसेन–सिलगडी, सिलगडी–स्याउले, स्याउले–सतबाँझ र सतबाँझ हुदै सुदूर पश्चिम बैतडीको झुलाघाटसम्म जोड्नेछ ।

‘सम्वन्ध स्थानिय, सन्देश राष्ट्रिय योजना’ भन्ने धेयका साथ मंसिर १४ गतेवाट ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका विभिन्न उद्देश्यहरु प्राप्तीको लक्ष्य राखिएको छ । पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणहरूको पहिचान र समाधानको खोजी गर्नु, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबर्धन गर्नु, पार्टी स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिवको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान गर्नु, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि गर्नु र जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन जस्ता कुराहरुमा थप एकसिंढी हुने देखिन्छ । यसैको जगमा समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको आधारशीला तयार हुनेछ र यो, झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा बन्ने छ । 

तराई छिचोलेर बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग अब कति वर्षभित्र बनिसक्ला ? यो प्रश्नको जवाफ सडक विभागका उच्च अधिकारीहरुसँग छैन । यद्यपि लक्ष्यअनुसारको कामको प्रयाश भने जारी नै छ ।

आर्थिक वर्ष ०६४÷६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम केहि वर्ष अघि नै लगभग पूरा भइसकेको छ । २४ जिल्ला जोड्ने १७ सय ६५ किलोमिटर बाटो करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको हो ।

पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर जिल्लास्थित चिवाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्गले २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटलाई एउटै मालामा जोड्ने छ । यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ । मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ । यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई लिने गरिन्छ । शुरुमा काठमाडौं जोड्ने भनिएपनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।

कुल १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्गको ७ सय ७५ किलोमिटर नयाँ ट्रयाक खुलिसकेकाले त्यसको स्तरोन्नति र कालोपत्रेको काम अहिले भइरहेको छ । एक हजार किलोमिटर भने यसअघिकै पुराना सडकहरु हुन् ।

हाल ट्रयाक खोलिएको सम्पूर्ण क्षेत्रमा आवत–जावत गर्न सकिने अवस्था रहे पनि तोकिएको मापदण्डअनुसार दोहोरो आवागमन गर्न मिल्ने दुई लेनको बनाउने काम भने निरन्तर जारी छ । बाटो निर्माणको काम सम्पन्न भएपछि १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुई लेन हुनेछ । यो लोकमार्गमा चल्ने सवारी साधनको गति ५० किलोमिटर प्रति घण्टा तोकिने जनाइएको छ ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन । तर, पनि काम भने सोचेजस्तो हुन सकेको छैन । निर्माण कार्यले सम्पन्नता पाइसकेपछि मध्यपहाडी लोकमार्ग नेपालको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ ।  एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

मध्यपहाडी लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहरमा परिणत हुनेछन् । जसको विकास शुरु भइसकेको छ । पहाडी जिल्लाहरुको अलावा लोकमार्गले जोड्ने प्रमुख स्थलहरुमा पूर्वाञ्चल अन्तर्गत चिवाभन्ज्याङ्ग, च्याङ्गथपु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोरनदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट (घुर्मी) सम्मको गन्तब्य तय हुनेछ भने मध्यमाञ्चलको घुर्मी, खुर्कोट, नेपालथोक, पाँचखाल, बाहुनेपाटी, पाटिभञ्ज्याङ्ग, छहरे, त्रिशुली, सल्यानटार लाई जोड्नेछ । त्यसैगरी पश्चिमाञ्चल अन्तर्गत आरुघाट, पालुङटार, भोर्लेटार, कालिका, हेम्जा, कुष्मा, बागलुंग, बुर्तिबाड., निसी जोड्नेछ । सडकले मध्य पश्चिमको पातिहाल्ने, लुकुम गाउँ, मुसीकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकांध, सातला र साइजिउला र  सुदुर पश्चिम बेलखेत, बिनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबांझ, बैतडी र झुलाघाट जोडिनेछ । 

यसै अनुरुप नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । जस अनुसार मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय झन्डोत्तलसँगै अभियान सुरु हुने छ । अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रहरूमा सभा, भेला, अन्र्तक्रियहरु समेत हुनेछन् । 

त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने लगायतका थुपैै अभियानहरु संचालित हुनेछन् । थुप्रै खालका क्रियाकलापहरू गर्दै चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम तय भएको हो । त्यस क्रममा, ’त्यहाँ राष्ट्रिय झण्डको झन्डोत्तलन गर्दै  अभियानको प्रतिक चिन्ह समेत राख्दै अभियान सम्पन्न हुने छ । 

एमालेको उक्त अभियानबाट मधेश र हिमाललाई भवनात्मक हिसाबले जोड्ने विश्वास लिइएको छ ।  यो ‘सिंगो देशको अभियानको रुपमा अगाडि बढ्ने छ । ‘एकता सहितको समृद्ध नेपाल सुखी नेपालीको राजनीतिक अभियानको निरन्तरता अगाडी वढ्ने छ । त्योभन्दा पनि बढी विकास निर्माण, सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रुपमा यसलाई अगाडी सारिएको हो । 

यसको अलावा अभियानकै क्रममा मुख्य ४ उद्देश्य प्रस्तुत हुनेछन् । जस अन्तर्गत ‘पहाडको विकासमा चुनौती के हुन ? कसरी पहाडको बसाइसराइलाई कम गर्न सकिन्छ ? यो समृद्धिको आधारशिल बन्न सक्छ की सक्दैन ? जस्ता थुप्रै सन्दर्भहरुको उठानमात्र हुने छैन एक गहन अध्ययन र अनुसन्धानको पाटो समेत हुनेछ । पहाड समृद्ध नहुञ्जेलसम्म सिंगो राष्ट्र समृद्ध हुन सक्दैन । त्यसैले विकासको समस्या पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुनेछ ।

दोस्रो उद्देश्यमा राष्ट्रिय एकताको सन्दर्भलाई समेटिएको छ । सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, विभिन्न कोणबाट देखा पर्न लागेका कतिपय संकिर्ण अतिवादी सोचहरूलाई निष्तेज गर्ने र बलियो राष्ट्रिय एकताको निर्माण गर्ने यसको दोस्रो उद्देश्य रहेकोछ ।

यो वर्ष कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष भएकोले पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्ष पुगेको महत्वपूर्ण सन्दर्भमा पुष्पलालको नाममा निर्मित यो राष्ट्रिय संरचनामा यो अभियान चलाउँदा नेपालमा कम्यूनिष्ट पार्टीको इतिहासलाई समेत जोड्न सकिने विश्वास लिइएको छ । विकास र समृद्धिका हिसाबले कुरा गर्नुपर्दा सडक नै विकासको एक प्रमुख पूर्वाधार समेत भएकोले मध्य पहाडी लोकमार्ग यानकी पुष्पलाल लोकमार्गको महत्व यतिमै सिमित छैन । यसका थुप्रै अवयवहरु देखापर्ने छन् । यसको अलावा गएको ७५ वर्ष नेपालमा कम्यूनिष्टहरुको र त्यसमा पनि मूलधारको कम्यूनिष्ट पार्टी–नेकपा एमालेको विगत र वर्तमानपनि यसमा जोडिएर आउँछ । बितेका ७५ वर्षमा के गर्न सकियो र के के गर्नुपर्ने कुरा, गर्न खोज्दा खोज्दै पूरा हुन सकेनन् भन्ने कुराको खोजी र सन्देश, अभियानले पूर्व पश्चिममै प्रवाहश गर्न सक्नु पर्दछ र सकोस् । शुभकामना !

(लेखक : कीर्तिपुरस्थित राजनीति शास्त्रका एम्.फील्.पी.एच्.डी.स्कलर हुन्)


प्रतिक्रिया



थप समाचारहरु