दूध बिक्री र समयमा भुक्तानी सहजताको लागि किसानहरु आन्दोलित


होमप्रसाद चौंलागाँईं

नेपाल कृषि प्रधान देश हो भन्दै आइएपनि पछिल्लो समय त्यस्तो अवस्था देखिंन छोड्दै गएकोछ । नेपालका उर्वर जमिनहरु एकपछि अर्को गर्दै बाँझिन थालेका छन् । गाउँका खेतबारी बाँझो बन्ने र युवा शक्ति सके विदेश र नसके शहर पस्ने कुराले आजकाल नेपालका गाउँ वस्तिहरु एकपछि अर्को गर्दै उजाड बन्दै गइरहेको छ । 

देशभरी त्यसो भैरहँदा काभ्रेपलाञ्चोक जिल्लापनि अछुतो रहन सकेको छैन । यो राजधानी शहर काठमाडौंबाट सबैभन्दा नजिक रहेको उर्वर कृषि भूमी हो । अझ दुग्ध र दुग्धजन्य पदार्थ उत्पादनको हिसाबले काभ्रे आत्मनिर्भर जिल्ला समेत । पछिल्लो लामो समयदेखि बिक्री गरेको दुधको भुक्तानी पाउन नसकेको, दुधको विक्रि वितरणमा समस्या आउन थालेको कुराले समग्र किसानमाहरुमा चिन्ता वढ्न थालेको छ । 

यसै सन्दर्भमा देशभरका १५ भन्दा वढी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा किसानहरुको नेतृत्व गर्ने संघ÷संगठनहरुले पछिल्लो समय दुग्ध उत्पादक किसानहरुका माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेर केहि दिन अघि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।  

नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ भन्दा वढी किसान संगठनले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । किसानहरुले उत्पादन गरेको दुग्ध सहज ढंगले विक्री हुन नसकेको र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नु परेको समस्या जस्ता थुप्रै कृषिजन्य समस्याको समाधान गर्न सरकारले चासो नदिएको भन्दै वाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताइएको छ । 

देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति अवलम्बन गरी कार्यान्वयन गर्न तत्परता नदेखाएको, सरकारलाई बारम्बार दुग्ध उत्पादक किसानहरुले भोग्नुपरेका समस्या बताउँदापनि टेरपुछर नलगाएको, किसाहरुले भोग्नु परेको विभिन्न खालको बाधा÷व्यवधानबारे ध्यानाकर्षण गराउँदापनि सम्बोधन नभएको, विगत केही समयदेखि किसानले उत्पादन गरेको लाखौं लिटर दुग्ध बिक्री वितरण हुन नसकेको र भारतबाट अवैध रुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेको देखिएकोले नेपाली किसान केन्द्रित हुादै वाध्य भएर आन्दोलनमा उत्रनु परेको बताइएको छ । 

माथी उल्लेखित यावत सन्दर्भहरुको साथै लम्पी स्किन रोगका कारण ७५ अर्बभन्दा बढीको क्षति व्यहोरेका पशुपालनमा किसानले भुक्तानि पाउनुपर्ने करिब ६ अर्ब भन्दा वढी रुपैयाँसमेत सरकारले वक्यौता राखेर किसानलाई थला पार्ने काम समेत गरेकोले किसनाहरु चुबलगेर बस्न सक्ने अवस्थामा नरहेको बताइएको छ । त्यसैले दुध, दुग्धजन्य पदार्थ र विभिन्न ढंगले किसानहरु सम्मिलित १५ संगठनहरुले संयुक्त रुपमा फागुन १० देखि निरन्तर आन्दोलनको कार्यक्रमहरु संचालन गर्दै आएका छन् । २१ गतेसम्म लगातार आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने बताइएको छ । त्यसै अनुरुप फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरु र प्रमुख सचेतकहरुलाई मागपत्र बुझाएका हुन् । आन्दोलको कार्यक्रहरु अन्तर्गत फागुन १४ र १५ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने कार्यक्रम समेत तय भएको छ । त्यसै क्रममा फागुन १७ गते देशभरका मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काचाम गर्ने र २१ गते काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गर्ने सम्मका कार्यक्रमहरु तय भएको बताइएको छ ।

किसान संगठनहरुले संयुक्त रुपमा आम किसानहरुको माग राखेर आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले दुधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै, भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन् । दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन् । संगठनहरुले बिक्री नभएको दुधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट सरकारले रोक्न आवश्यक रहेको पनि मागमा रहेको छ । यसको साथै नेपाली किसानले उत्पादन गरेको दुध नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

यसै सन्दर्भमा काभ्रे जिल्ला प्रशासनमा सिकानहरुले विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएका छन् । कार्यक्रममा काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारयण वडाल, केन्द्रिय दुग्ध सहकारीका नेता केशव सापकोटा, अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष श्यामसुन्दर चौंलागाँईं, किसान नेता विदुर हुमागाँईं सहित काभ्रेका विभिन्न दल र संघ संगठन निकट किसना नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 


प्रतिक्रिया



थप समाचारहरु