काभ्रे–लामो समयदेखि बिजोग अवस्थामा रहेको अरनिको राजमार्गअन्तर्गतको धुलिखेल खावा सडक खण्डको ठेकेदारसामू सबै पक्ष निरिह देखिएका छन् ।
संसदको भौतिक पूर्वाधार समितिले बिगतमै ठेक्का रद्द गरेर भए पनि निर्माण प्रक्रिया अघि बढाउन सडक विभागलाई दिएको निर्देशन त पालना भएन नै अहिले पनि कानुनी जटिलता देखाएर ठेक्काको म्याद थप गर्ने संकेत देखिएको छ । आज संसदको भौतिक पूर्वाधार समितिमा आवद्ध सांसदहरुको टोली सडक अनुगमनका लागि आएको थियो । धुलिखेलदेखि खावासम्म दुई ठाउँमा ओर्लेर सडकको अवस्था हेरेका सांसदहरुले जनताको आक्रोशको त सामना गर्नुपर्यो नै साथै ठेक्का रद्द गर्ने विषयमा सांसदहरुबीच नै मतसमेत बाझियो ।
समितिका सदस्यहरुको टोलीले धुलिखेल–खावा सडक अनुगमनपछि स्थानीय र सरोकारवालासँग छलफल गर्दास्थानीय नागरिकहरुले निर्माण व्यवसायी, डिभिजन सडक कार्यालयलगायतप्रति आक्रोश व्यक्त गरेका थिए । सडकको ठेक्का पाएको गौरी पार्वती निर्माण कम्पनीले समयमा नै काम नगर्दा आफ्ना बच्चाहरु बिद्यालय, कलेज जान समेत बञ्चित हुनु परेको गुनासो गरेका थिए । उनीहरुले २२ महिनाको समय पाएको निर्माण व्यवसायीले साढे दुई वर्षसम्म पनि काम नगरेकोले तत्काल ठेक्का तोड्न सरकारसँग माग गरेका छन् ।
छलफल कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमले निर्माण व्यवसायीले काम नगर्दा हजारौँ नागरिकले सास्ती, सयौँ नागरिक घाईते र चार जनाको ज्यान गएको बताए ।
सरोकारवालाको भनाई सुनेपछि सिन्धुपाल्चोकका सांसदसमेत रहेका सदस्य माधव सापकोटाले गौरी पार्वती निर्माण कम्पनीले ठेक्का लिएका अधिकाँश आयोजनाहरु क्रोनिक अवस्थामा रहेकोले ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउनुपर्ने बताए । तर, उनको कुरा काट्दै सांसद ठाकुर गैह्रेले अहिले नै ठेक्काको विषयमा निर्णय दिन नसकिने भन्दै समितिमा छलफल गरेरमात्रै निर्णय लिने बताए । स्थानीय नागरिक आक्रोशित भइरहेका बेला उनले ‘तपाईंहरु कराउँदैमा अहिले नै पिच भैहाल्छ ?’ भन्ने जवाफसमेत दिए ।
संसदीय टोलीको नेतृत्व गरिरहेका सांसद शंकर भण्डारीले सडकको अनुगमनपछि समितिले भौतिक पूर्वाधार मन्त्रालयका सचिवलगायतसँग थप छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने बताए । सडकमा रहेका खाल्डाखुल्डी पुर्न, पहिरोका कारण जोखिममा रहेका कार्यालय, घरहरुको संरक्षणका लागि सात दिनभित्र आवश्यक पर्ने बजेटको लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन उनले निर्देशन दिए ।
सडक विभाग भन्छ : हामी निरिह छौं
छलफलको क्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक विभागले चाहेर पनि ठेक्का तोड्न नसकेको भन्दै निरिहता प्रकट गरे । उनले गौरी पार्वती निर्माण कम्पनीसँगको ठेक्का रद्द गर्न चाहेपनि विद्यमान कानुनका कारण नयाँ ठेक्का लगाउन अर्थमन्त्रालयसँगको सहमति लिनुपर्ने, लागत बढ्ने, निर्माण व्यवसायी अदालत जाने जस्ता धेरै समस्या उत्पन्न हुने भएकोले समस्या रहेको बताए । छलफलमा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, धुलिखेल वडा नम्बर–८ का वडा अध्यक्ष विनोद गौतम, पाँचखाल नगरपालिका–५ का वडा अध्यक्ष सिताराम ढुङ्गानाले सडकका कारण भोग्नुपरेका समस्याको बारेमा बोलेका थिए ।
निर्माण व्यवसायीकातर्फबाट प्रतिनिधि भरत थापाले निर्माण व्यवसायीको तर्फबाट कमीकमजोरी भएको स्वीकार गर्दै वर्षाको कारण दुई किलोमिटर सडक कालोपत्रे गर्न तयारी गरेपनि नसकिएको बताए । उनले आगामी चैतसम्ममा काम सक्ने बताए । तर, ठेक्काको थपिएको अवधिसमेत आगामी कार्तिकसम्म रहेकाले फेरि म्याद थप हुनेमा थापा ढुक्क देखिन्थे । गौरी पार्वती निर्माण कम्पनीले ठेक्का सम्झौता भएको मितिले २२ महिनामा काम सम्पन्न गर्ने भन्दै २०७९ जेठ २० गते सम्झौता गरेको थियो । उक्त कम्पनीसँग गरिएको सम्झौताको म्याद २०८० चैत १९ गतेबाट सकिएको थियो ।
सडक निर्माण नगरेको ठेकेदार कम्पनीले आवश्यकता भन्दा बढी भित्ता काटेर ढुंगा माटोसमेत बेचेको आरोप सरोकारवालाहरुले लगाउँदै आएका छन् । सडकदेखि संसदसम्म ठेकेदारलाई कार्बाही गर्न माग उठ्दासमेत सडक विभाग मुकदर्शक हुनुले कतै सबैको मिलेमतो त छेन भन्दै स्थानीयले सांसदहरुसमक्ष नै प्रश्न उठाए । भौगोलिक अवस्थाको हेक्कासमेत नराखी सडकको डिजाइनसमेत गलत गरेको आवाजसमेत छलफलको क्रममा उठेको थियो, जसको प्रष्ट जवाफ सडक विभागले नै दिन सकेन ।
गौतममाथि पनि आक्रोश
संसदीय समितिलाई अनुगमनमा ल्याउन जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले गरेका थिए । तर, छलफलमा गौतमले समेत आक्रोशको सामना गर्नुपर्यो । कारण थियो–गत वर्ष फागुनमा उनी बसेको अनसन । २४ घण्टा अनसन बसेका गौतमको अनसन तोडाउन सडक विभागले ठेकेदारसम्म चार महिनामा दुई किमी र बाँकी सडक त्यसपछि कालोपत्रे गरिसक्ने सम्झौता गरेको थियो । चैत १९ गते म्याद सकिन लागेको ठेकेदारको पक्षमा उनी अनसन बसेको भन्दै त्यहीबेला आलोचना भएको थियो । तर, गौतमले आफूले ठेकेदार जोगाउन नभई जनताका लागि अनसन बसेको बताउँदै आएका थिए । आजको छलफलमा उनले सडक विभागले समेत आफ्नो अनसनका कारण ठेक्का तोड्न नसकेको हो भन्दै प्रश्न गरेका थिए, छलफलमा तनाव बढ्दै जाँदा स्थानीयले गौतमलाई तै इंगित गर्दै ‘तिम्रो कारण पनि बाटो नबनेको हो’ भन्दै आक्रामक रुपमा प्रस्तुत भए । छलफल सकिएपछि फर्कन लागेका गौतमलाई फेरि सडकमै घेरावन्दी गर्दै सोही प्रश्न सोधिएको थियो । उनले भने आफू चौबिसै घण्टा सडक बनाउनुपर्ने पक्षमा लागेको र आफूमाथिको आरोप गलत भएको बताए ।