तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष सलामसिं सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


मेचीकाली

काठमाडौं–तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष सलामसिं लामासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामा तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहितका व्यक्ति विरुद्ध आज आरोपपत्र दर्ता गरेको छ । 


तेमाल गाउँपालिकाका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा कबोल अङ्क र सम्झौता अङ्क फरक पारी राजस्व चुहावट गरे गराएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

(क) तेमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, पोखरी नारायणस्थान, काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिं लामा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेले आ.व. २०७५/0७६ मा तेमाल गाउँपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेको नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन तथा उपयोग गरी राजस्व संकलन गर्न मिति 2075।08।18 गते प्रकाशन भएको सूचनामा बोलपत्रदाताहरूले बोलपत्र पेस गरेकोमा सूचनामा उल्लेख भएभन्दा कम परिमाणमा मात्र नदीजन्य पदार्थ उत्खनन् संकलन गर्ने भनी कबोल अङ्कभन्दा घटी सम्झौता रकम कायम गरी ठेक्का सम्झौता गरेको, सम्झौता बिपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी फर्महरुलाई ईजाजतपत्र दिएको, स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनमा मङ्सिर, पौष र माघ महिनामा मात्र जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानी एवं रेखदेखमा स्काभेटर मेसिन प्रयोग गरी उत्खनन् गर्न सकिने व्यवस्था भएकोमा आफूहरुलाई नभएको अधिकारसमेत प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्/सङ्कलन गर्नको लागि स्काभेटर मेसिन समेत प्रयोग गर्न स्वीकृति दिएको, कबोल अङ्क घटाएर सम्झौता रकम कायम गरी रु.२,५७,०२,१९८।५४ घटी राजस्व संकलन गर्ने गरी कार्य गरेको देखिएकोले निजहरुको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 7 को खण्ड (क) बमोजिमको कार्य हुन गएकोले ऐ. ऐनको दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिमको कसुरमा ऐ. ऐनको दफा 3 को उपदफा (१) को देहाय खण्ड (झ) मा उल्लेख भएबमोजिम कैद र ऐ.ऐनको दफा ७ बमोजिम चुहावट गराएको राजस्व रकम रु.२,५७,०२,१९८।५४ को दोब्बरले हुन आउने रकम रु.५,१4,०४,३९७।०८ (पाँच करोड चौध लाख चार हजार तीन सय सन्तानब्बे रुपैयाँ आठ पैसा) जरिवाना हुन समेतको मागदावी लिइएको छ ।


(ख) ए. एण्ड डि.बि. कन्ष्ट्रक्सन प्रा.लि. का संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङले आ.व. २०७५/0७६ मा तेमाल गाउँपालिकाबाट सूचना प्रकाशन भएकोमा ठेक्का नं. 6-०७५/०७६ र ठेक्का नं. 7-०७५/०७६ मा गाउँपालिकासँग भएको सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी इजाजतपत्र लिई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधान विपरीत मेसिनद्वारा उत्खनन् संकलन कार्य गरी रु.५२,२३,६१३।३३ (बाउन्न लाख तेइस हजार छ सय तेह्र रुपैयाँ तेत्तीस पैसा मात्र) राजस्व हानिनोक्सानी पुर्‍याएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ७ को खण्ड (क) बमोजिमको कार्य हुन गएकोले ऐ. ऐनको दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय खण्ड (ज) बमोजिमको कसुरको मतियारमा ऐ. ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने राष्ट्रसेवकलाई हुने सजाय सरह नै मागदावी लिइएको छ ।


(ग) दुवाकोट कन्स्ट्रक्सन प्रा.लि., भक्तपुरका संचालक राम चन्द्र प्रसाद प्रधानाङ्गले आ.व. २०७५/७६ मा तेमाल गाउँपालिकाबाट प्रकाशन भएकोमा ठेक्का नं. 1-०७५/०७६ र ठेक्का नं. 8-०७५/०७६ मा गाउँपालिकासँग भएको सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी इजाजतपत्र लिई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधान विपरीत मेसिनद्वारा उत्खनन् संकलन कार्य गरी रु.१,29,45,251।88 (एक करोड उनन्तीस लाख पैतालीस हजार दुई सय एकाउन्न रुपैयाँ अठासी पैसा मात्र) राजस्व हानिनोक्सानी पुर्‍याएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ७ को खण्ड (क) बमोजिमको कार्य हुन गएकोले ऐ. ऐनको दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिमको कसुरको मतियारमा ऐ. ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्यांशबमोजिम कसुर गर्ने राष्ट्रसेवकलाई हुने सजाय सरह नै मागदावी लिइएको छ ।


(घ) सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का संचालक वेद नारायण दंगालले आ.व. २०७५/0७६ मा तेमाल गाउँपालिकाबाट प्रकाशन भएकोमा ठेक्का नं. 3-०७५/०७६मा गाउँपालिकासँग भएको सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी इजाजतपत्र लिई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधान विपरीत मेसिनद्वारा उत्खनन् संकलन कार्य गरी रु.75,33,333।33 (पचहत्तर लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ तेत्तीस पैसा) राजस्व हानिनोक्सानी पुर्‍याएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ७ को खण्ड (क) बमोजिमको कार्य हुन गएकोले ऐ. ऐनको दफा ७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय खण्ड (ज) बमोजिमको कसुरको मतियारमा ऐ. ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने राष्ट्रसेवकलाई हुने सजाय सरह नै मागदावी लिने।


(ङ) सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र दुवाकोट कन्स्ट्रक्सन प्रा.लि.का आधिकारिक प्रतिनिधि सत्यमान लामाले आ.व. २०७५/0७६ मा तेमाल गाउँपालिकाबाट सूचना प्रकाशन भएकोमा ठेक्का नं. 3-०७५/०७६, ठेक्का नं. १ र 8 -०७५/०७६ को लागि ठेक्कामा गाउँपालिकासँग भएको सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी इजाजतपत्र लिई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधानहरु बिपरीत मेसिनद्वारा उत्खनन् संकलन गरी तीनवटा ठेक्काहरुमा रु.2,04,78,585।21 (दुई करोड चार लाख अठहत्तर हजार पाँच सय पचासी रुपैयाँ एक्काइस पैसा) राजस्व हानिनोक्सानी पुर्‍याएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ७ को खण्ड (क) बमोजिमको कार्य हुन गएकोले ऐ. ऐनको दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिमको कसुरको मतियारमा ऐ. ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने राष्ट्रसेवकलाई हुने सजाय सरह नै मागदावी लिइएको छ ।


प्रतिक्रिया



थप समाचारहरु