धुलिखेलमा यसरी सम्भव भयो गरिवी न्युनिकरण


मेचीकाली

धुलिखेल– स्थानीय सरकारका प्राथमिकताका थुप्रै कामहरु मध्ये गरिवी न्युनिकरण पनि हो । धुलिखेल नगरपालिकाको प्राथमिकतामा गरिवी न्युनिकरणमा उल्लेख्य प्रगति हासिल गरेको छ । 

घर जग्गाको स्वामित्व, आय आर्जन, आम्दानीको श्रोत, आवास घर कस्तो छ ? सुरक्षित कि असुरक्षित, उर्जामा दाउरा प्रयोग गरिन्छ कि गरिदैन ?, स्वास्थ्य सेवामा पहुँच स्वास्थ्य केन्द्रमा पुग्न ३० मिनेट भन्दा धेरै समय लाग्नु हुँदैन, खरको छानो मुक्त, विजुलीको प्रयोग, शिक्षा, खानेपानी, सडक लगायतका सुचकहरुमा नागरिकको पहुँच पुगेमा गरिवी नभएको मानिन्छ । धुलिखेल नगरपालिकामा समायोजन भएका पातलेखेत, काभ्रे शारदा बतासेका सबै वडाहरु र शंखु, देविटार र रविओपी गाविसका केहि वडाहरु छन् । प्रतिशतका हिसावले १३ प्रतिशत रहेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । अहिले उक्त प्रतिशत घटेर ४.३६ मा आएको छ ।  जनप्रतिनिधि निर्वाचित भए लगत्तै भएका नीतिगत ब्यवस्था सहितका योजनाबद्ध योजनाका कारण गरिवी घटेको तथ्य पुष्टी भएको छ । अहिले नगरपालिकामा २ सय २४ घर परिवार गरिवको सूचीमा सार्वजनिक भएका छन् । जसमा अति गरिव ६१ परिवार, मध्यम परिवार ९२ र सामान्य गरिव ७१ परिवार रहेका छन् । २०७६ कार्तिक १७ गते देखि २०७६ फागुनसम्म संघीय सरकारले गरेको घर परिवारको सर्भेक्षणका आधारमा उक्त घर परिवारको सूची सार्वजनिक गरिएको हो । सर्भेक्षणमा नगरपालिकामा भएका ७ हजार ३ सय घर परिवार मध्ये ५ हजार ५ सय ९४ घर धुरी समेटिएका थिए । २०७८ को जनगणनामा धुलिखेलमा ७३ सय ९ घर परिवारमा ८ हजार ८ सय ८ परिवारको गणना भएको छ । प्रतिशतका आधारमा ४.३६ प्रतिशत हो । 

नगरपालिकाले गरिवी निवारणका लागि २०७५ माघ १४ गते कार्यपालिका बैठकबाट मेयर गरिवी निवारण कोषमा विनियोजन गरेको बजेट मार्फत कार्यक्रम संचालन गर्ने गरी महिला, दलित, युवा, आदिबासी जनजाति, अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिषद् गठन गरी परिषद्हरु गठन तथा संञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको थियो । उक्त परिषद्हरुको भेला आयोजना गरी समिति गठन गरेको थियो । समितिमा नगर प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष र भेलाबाट छानिएका १२ वटा १२ जना प्रतिनिधिबाट सर्वसम्वत उपाध्यक्ष छानिएको थियो । समितिमा १२ जना सदस्य छन् । उक्त समितिले विनियोजित बजेटबाट गरिवी न्यूनिकरणका लागि कार्यहरु गरेका थिए । जसबाट १ हजार ५ सय भन्दा धेरै नागरिकले तालिम प्राप्त गरेका छन् । दलित परिषद्बाट दलित वर्गको उत्थानका लागि आरन सुधार, बाजा सेट वितरण, सिलाई मेशिन,  समुह निर्माण गरी आय आर्जनका लागि सिप तथा विउ विजन वितरण गरिएको छ । जसका कारण अहिले थोरै समयमा धेरै कार्य हुने गरेको छ । बेमौसमी तरकारी बाली उत्पादनका लागि पनि उक्त तालिम महत्वपूर्ण भएको छ । हरेक परिवारमा केहि न केहि माध्यमबाट आयआर्जन हुने गरी कार्य गरेको छ । गरिवी न्यूनिकरणका लागि उक्त प्रयास महत्वपूर्ण बनेको छ । दलित परिषद्ले हरेक कार्यक्रमको अनुगमन तथा सहजीकरण र समन्वय गरिरहेको छ । महिला परिषद्बाट महिला सचेतना, सिप तथा तालिम र क्षमता अभिबृद्धीका कार्यक्रम संचालन भएका छन् । महिलाहरुका लागि सिलाई बुनाई, ड्राईभिङ्ग, क्रिस्टल तथा माला बनाउने तालिम, डल तथा अन्य सामान बनाउने तालिम प्रदान गरिएको छ । महिलाहरुका लागि आवश्यक हुने सेनेटेरी प्याडको तालिम सहित उत्पादन शुरु गरिएको छ । थुप्रै तालिमबाट महिलाहरु ब्यवसायीक योजनामा लागेका छन् । 

युवा परिषद्ले युवाहरुको प्लम्विङ्ग तथा ड्राईभिङ्ग तालिम उपलब्ध गराएको छ । युवाहरु स्वरोजगार हुन सक्ने तालिम प्रदान गरेकाले युवाहरु अहिले सोहि तालिम मार्फत आयआर्जनमा लागेका छन् । केहि बैदेशिक रोजगारीमा गएका छन् । सिप सिकेर बैदेशीक रोजगारीमा गएका कारण युवाहरुलाई सहज भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुको परिषद्बाट अपाङ्ग मैत्री कार्यक्रम गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरुले लिएको तालिमबाट ब्यवसायीक उद्योग नै स्थापना भएको छ । मसला उद्योगबाट अहिले धेरै ब्यक्तिहरु आत्मनिर्भर भएका छन् । भाषा तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि आवश्यक पर्ने सामाग्रीको उपलब्धता, सिप तथा क्षमता अभिबृद्धीका कार्य भएका छन् । आयआर्जन गर्न सहज हुने गरी नगरपालिकाले आर्थिक औजारहरु उपलब्ध गराएको छ । आदिवासी जनजाति परिषद्ले भाषा तथा सस्कृतिको संरक्षण गरेको छ । भाषा र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्य गरेको छ । उक्त परिषद्ले पनि तालिम र सिप विकासलाई जोड दिएको छ । आयआर्जन बृद्धी हुने कार्यक्रमले सहजता भए पछि धुलिखेलको गरिवी निवारणमा सहयोग पुगेको छ । 

सडक यातायातको पहुँच, स्वास्थ्य संस्थाको पहुँच, खानेपानी, विद्युत्तिय उर्जा, सिप विकास लगायतमा धुलिखेलले उल्लेख्य प्रगति गरेको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्तै सबै वडामा सडक, भएका सडकको स्तरोन्नती र पक्कि गरेको छ भने भएका स्वास्थ्य संस्थाको स्तर बृद्धी गरी नभएका स्थानमा स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाएको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य सेवामा पुग्ने गरी नगरपालिकाले साविकका ७ वटा स्वास्थ्य चौकीलाई १४ वटासम्म विस्तार गरेको छ । वडामा ल्याव सहितको सुविधा, घर घर डाक्टर, मासिक शिविर, स्वस्थ शहर निर्माण अभियान शुरु गरेको छ । हरेक घर घरमा विजुली बत्तिको उपभोगमा सहज बनाएको छ । जसले विजुली जडान गर्न सकेको छैन उसलाई निशुल्क विजुली जडान गर्न सहयोग गरेको छ भने खरको छाना मुक्त अभियान शुरु गरेको छ । गरिव घर परिवारका लागि विद्युत्तिय चुल्हो उपलब्ध गराई दाउरा मुक्त अभियान शुरु गरेको छ । ५ सय भन्दा धेरै विद्युत्तिय चुल्हो वितरण गरिसकेको छ । ८० प्रतिशत घरमा खानेपानी उपलब्ध गराएको छ । यस अघि ४३ प्रतिशत घरमा खानेपानीको सहज पहुँच थियो । केहि महिनामा ९५ प्रतिशत घरमा खानेपानी उपलब्ध हुनेछ । आय आर्जनका लागि प्लम्बिङ्ग, सिलाई बुनाई, ड्राईभिङ्ग, सिपमुलक तालिम प्रदान गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु