भुम्लुमा एमालेको घरदैलो, लालपूर्जा समस्या समाधान हुने बाँस्कोटाको प्रतिवद्धता


मेचीकाली

भुम्लु–मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले काभ्रे क्षेत्र नंवर २ का उम्मेदवारहरु घरदैलोको क्रममा भुम्लु गाउँपालिका पुगेका छन् ।

 एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोकुल बाँस्कोटा नेतृत्वको टोली आज भुम्लु पुगेको हो । टोलीमा काभ्रे क्षेत्र नं. २ क तर्फ प्रदेशसभा सदस्य उम्मेदवार  कुमार खकुरेल, समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रुकमणि राना लगायत रहेका छन् । एमालेको टोलीसँग भुम्लुका स्थानीयले विशेषगरी लालपूर्जाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । भुम्लु गाउँपालिकामा ४६ बर्षदेखि लालपूर्जा प्राप्तिसम्बन्धी समस्या छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा लालपूर्जासम्बन्धी समस्या समाधान गर्न दुई वटा वडामा मालपोत र नापी कार्यालयका सम्पर्क कार्यालय स्थापना गरिएको थियो । 

जिल्लाका तत्कालिन सांसद एवं तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २०७६ साल पुसमा जग्गा विवाद छानविन गरी लालपूर्जा वितरण गर्ने उद्देश्यले मालपोत र नापी कार्यालय स्थापना गरी गरेका थिऐ । लगत्तै दुवै कार्यालयबाट कर्मचारी खटाई जग्गाको छानविन सुरु गरेपछि फागुनदेखि कोरोना महामारीले उक्त कामलाई अवरोध पु¥यायो ।  त्यहाँ केही प्राविधिक समस्या रहेको र अब फिल्डका कार्यालय पुनः चलायमान बनाई लालपूर्जाको कामलाई तीव्रता दिइन बाँस्कोटाले बताए । उनले भुम्लुका स्थानीयलाई लालपूर्जा बितरण गर्न छुट्टै नीति बनाउनसमेत तयार भइने बताए । भुम्लुका स्थानीयले सबै बुझेका छन् भन्दै बाँस्कोटाले कसैले चुनावी एजेण्डा बनाएर आँखामा छारो हाल्न नपर्ने बताए । 

 विक्रम संवत २०३२ सालमा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविस बीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो । त्यसयता सरोकारवाला निकायबाट विभिन्न चरणमा समस्या समाधानार्थ प्रयास भएपनि हालसम्म कसैले लालपूर्जा पाउन सकेका छैनन् । 

४६ बर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार दुई सय स्थानीय लालपूर्जाविहीन अवस्थामा रहेका हुन् । तत्कालीन फिल्डमा खट्नभएका नापी अधिकृत लवप्रसाद कुईंकेलका अनुसार बर्षैँदेखि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानविनका बेला एकको नाममा र पूर्जा बन्ने बेला विक्री भई अर्काको नाममा गैसक्ने समस्याले झन् कठिन भइरहेको समस्या पत्ता लगाइएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु