५१ वर्षपछि ‘मास्टर डुबेको दह’को सम्झना !


होमप्रसाद चौंलागाँईं

परिवार र स्थानीय मिलेर गुरुप्रति श्रद्धासुमन अर्पण गर्दै 


शिक्षण तथा शिक्षाको हिसाबले ‘मण्डन’ काभ्रेको ऐतिहासिक भूमी हो । हिजोको इतिहास हेर्दा चण्डेनीको भाषा पाठशाला र महादेवस्थानस्थित ढोडिनीको डेडीथुम्का मिडिल स्कूल यहाँको ऐतिहासिक शैक्षिक धरोहरहरु हुन् । कुन्ताको वढ्दो बजार सम्भावना र सिन्धुपाल्चोकलाई समेत जोड्ने गरी, प्राथमिक तह त्यहाँपनि रहने गरी ढोडिनीस्थित डेडीथुम्काको माध्यमिक तह, पछि कश्यपेश्वर महादेवस्थानमा परिसरमा सारेको इतिहास छ । 

महादेवस्थान गाउँपञ्चायतको सन्दर्भमा कुरा गर्नुपर्दा ललुकुमार शाहीको इतिहास स्वर्णिम रहेको छ । चैतमा धान रोप्ने कुरादेखि विभिन्न परिवर्तनकामी कुराहरुमा उहाँको ठूलो भूमिका रहेको पाउन सकिन्छ । त्यस क्रममा उहाँले ढोडिनीमा डेडीथुम्का मिडिल स्कूल स्थापना मात्र गर्नुु भएन । त्यहाँको शैक्षिक गुणस्तर कायम गर्नको लागि राम्रा राम्रा र अध्ययनशिल शिक्षकहरुको खोजी कार्य समेत गर्ने गरेको इहिहास छ । 

मण्डन क्षेत्रमा उहाँले शिक्षाको बिकासमा पुर्याउनु भएको योगदानको सम्झना एवं कदर गर्दै मण्डनदेउपुरका सबै शिक्षाप्रेमी समाजसेवी महानुभावहरुलाई कार्यक्रम स्थलमा उपस्थित भई स्वर्गीय खगेन्द्रराज ढकाल सरप्रति श्रद्धासुमन अर्पण गर्ने कार्यक्रममा जुट्ने कुराको चर्चा चलिरहेको छ । 


त्यहि क्रममा भोजपुर जिल्लादेखि काभ्रेपलाञ्चोकको महादेवस्थान गाउँपञ्चायत वडा नं. १ ढोडिनीमा रहेको डेडीथुम्का मिडिल स्कूलमा शिक्षकको रुपमा खगेन्द्रराज ढकाल सरको उपस्थिति रहेको स्वर्णिम इतिहास कायम छ । दुःखको कुरा, मण्डन देउपुर क्षेत्रमा शिक्षाको ज्योति छर्न आउनु भएका शिक्षक खगेन्द्रराज ढकाल सरले लामो समय मण्डन क्षेत्रको सेवा गर्न पाउनु भएन । उहाँको २०२९ साल बैशाख ३१ गते विद्यालयभन्दा केहि तल चाखोलाको बिसमुरे दहमा शनिबारका दिन नुहाउने क्रममा दुर्घटना हुन पुगी अकल्पनीय र दुःखद निधन हुन पुग्योे । अहिलेपनि बिसमुरेमा ठूलै दह छ । पछि आएर त्यस दहलाई बिसमुरेभन्दा पनि मस्टर डुबेको दहले चिनिन थालियो ।


५१ वर्ष पछि भोली अर्थात मिति २०८० साल पौष १३ गते शुक्रबार बिहान ९ बजे उहाँको धर्मपत्नी विष्णु ढकाल, छोरा नवराज ढकाल लगायत परिवारका दाजुभाइ, इष्टमित्रहरु दुर्घटना भएकै स्थानमा आउनु भई उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएकोले मण्डनदेउपुरको खास गरी साबिक महादेवस्थान भेगमा एउटा छुट्टै ऐतिहासिक चर्चा सहितको सम्झना हुन थालेको छ । 

मण्डन क्षेत्रमा उहाँले शिक्षाको बिकासमा पुर्याउनु भएको योगदानको सम्झना एवं कदर गर्दै मण्डनदेउपुरका सबै शिक्षाप्रेमी समाजसेवी महानुभावहरुलाई कार्यक्रम स्थलमा उपस्थित भई स्वर्गीय खगेन्द्रराज ढकाल सरप्रति श्रद्धासुमन अर्पण गर्ने कार्यक्रममा जुट्ने कुराको चर्चा चलिरहेको छ । 

भोजपुर जिल्ला साबिक याकु गाउँ पञ्चायत तथा हालको अरुण गाउँपालीकामा जन्मनु भएका खगेन्द्रराज ढकाल सरको जन्म वि.सं. २००४ साल असोज ४ गते भएको थियो । उहाँको देहवसान वि.सं. २०२९ साल वैशाख ३१ गते शनिबार नुवाइधुवाई गर्ने क्रममा दहमा डुबेर हुन पुगेको थियो । त्यस दिन उहाँको साथमा केदारबस्ति स्थित स्थानीय गोबिन्दप्रसाद सापकोटा लगायतका साथीहरु रहनु भएको बताइएको छ । 

पिता मुक्तिनाथ र माता लक्ष्मी ढकालका सात छोराहरु क्रमशः नारायण, नन्द, मोहन, यज्ञ, खगेन्द्र, रुद्र, टंक र दुई छोरीहरुमध्येका ठाइलो छोरा खगेन्द्रले त्यतिबेलको समयमा मेजर अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर अर्थात मास्टर र कानुनमा स्नातक तहसम्म पढ्नु भएको थियो । उहाँको धर्मपत्नी बिष्णुदेवी ढकाल, उहाँ स्वर्गीय हुँदाका ‘६ महिने छोरा नवराज ढकाल’ हाल मैतीदेवी काठमाडौंमा बस्दै आउनु भएको छ । त्यसै समयमा शिक्षा क्षेत्रमा उच्चत्तम पहुँच राख्ने स्वर्गीय खगेन्द्र सरका कान्छा भाइ टंक ढकाल नेपाल सरकारको संचार मन्त्री भएको इतिहास छ ।

यसै सन्दर्भमा र सामाजिक जीवनको कुरालाई मध्यनजर राख्दै छोरा नवराजले स्व. पिता खगेन्द्रराज ढकाल र माता विष्णु ढकालको नामबाट ‘मानवता, मातृभूमी र माता पिताको लागि समर्पित’  भन्ने मुख्य द्येयका साथ ‘खगेन्द्र विष्णु फाउण्डेशन’ समेतको स्थापना गरिसकेको बताइएको छ । खास गरी विपन्न, गरिब र जेहन्दार विद्यार्थीहरुको हक, हीत र संरक्षणमा उक्त संस्थाले काम गर्ने गरी स्व. पिताको जन्म दिन अर्थात असोज ४ गतेका दिन उक्त फाउण्डेशनको विधिवत स्थापना भएको फाउण्डेशनका नवराज ढकालले बताउनु भयो । 

आशा एवं विश्वास राख्छौं, काभ्रेको मण्डनदेउपुरसंग स्व. गुरुले त्यतिबेला जोड्नु भएको र यहाँको परिवारले अब जोड्न खोजेको नाता चिरायु रहने छ ! (तस्बिर २०२९/०२/०२ को गोरखापत्रमा प्रकाशित भएको हो ।)

(लेखक : कीर्तिपुरस्थित एमफिल–पीएच्डी राजनीतिशास्त्रका स्कलर हुन्


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने