राजतन्त्रको क्रूरता, ‘सुखानी’को ५ दशक र झापा विद्रोह


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

‘सुखानीको रगतले भन्छ–‘हामीमाथी, सही बाटो हिँड्दैछौ कि भुल्यौ’ ! यो सुन्दा सामान्यपनि लाग्न सक्ला तर यसको मर्म सामान्य छैन । आज त्यसै सन्दर्भको फागुन २१ अर्थात् नेपालमा कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण ऐतिहासिक दिन । कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५ दशक नाघेको दिन । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना होनहार नेतृतवको शाहदत भएको थिए ।

झापा र इलामको संगमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिनले आज ५० वर्ष नाघेको छ । नारायण श्रेष्ठ, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल र वीरेन राजवंशी  लाई झापा कारागारबाट इलाम कारागार सार्ने बहाना पारेर प्रहरीलाई गोली हान्न लगाई निर्मम हत्या गरिएको थियो । सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको हो ।

सोही विद्रोहका जगमा नेकपा (माले) नेकपा (एमाले) एवं नेकपा (माओवादी) हुँदै केहि समय भएपनि मुलुकको संसदमा झण्डै दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म गरायो । त्यति मात्र छैन । नेमकिपा, नेकपा (मसाल), नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा आदि अन्य वामपन्थी समूह पनि संसद्भित्र र बाहिरकुनै न कुनै हिसाबले क्रियाशील छन् । कम्यूनिष्टहरुको एकता जोगिन सकेको छैन । कम्यूनिष्टहरु फुट्ने र उनिहशरुलाई फुटाऊ र शासन गर आजपनि उत्तिकै चलिरहेको छ ।

खासमा झापाबाट शुरु भएको आन्दोलनमार्फत वर्ग शत्रुको विरुद्धमा शसक्त आन्दोलन छेड अभियान चलाइएको थियो । त्यस अन्तर्गत बि.स.२०२८ साल जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिर गडीका एक जमिनदारको हत्या भएको थियो । झापा विद्रोहको सुरुवात यहीबाट भएको बताउँछने गरिन्छ ।

सुखानी हत्याकाण्डले परिचित ५ जनाको हत्या भएको बर्षौपछि मात्र सहिद घोषणा गरिएको थियो । झापा विद्रोहको क्रममा लामो समय जेल जीवन बिताएका हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व काल अर्थात २०७२ फागुन १९ गते सरकारले उनीहरूलाई शहीद घोषणा गरेको थियो । सरकारले झापा विद्रोहकै क्रममा मारिएका चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाल लगायत २२ जनालाई शहीद घोषणा गरेको थियो । अहिले सुखानीमा शहीद स्मारक बनाएर राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गरिँदै लगेको पाइन्छ ।

वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए । त्यो समय पञ्चायती शासन विरुद्ध विद्रोह गर्नु धेरै नै चुनौती र काष्ठप्रद रहेको थियो । सो समय झापा विद्रोहमा लागेका कारण मनकुमार गौतम गौतमले १८ वर्ष कारागार जीवन पनि बिताउनु परेको थियो । त्यो समय आफूहरूले पञ्चायतको शोषण, दमन र अत्याचारको विरुद्ध राष्ट्रिय स्वतन्त्रता, स्वधिनता तथा जनकेन्द्रीयता लागु गराउन गरिएको आन्दोलन भएको बताइन्छ । वि. सं. २०२९ सालमा पक्राउ परेका गौतम ०४६ पुस १९ गते जेल मुक्त भएका थिए ।

उनका अनुसार झापाको चन्द्रगढी कारागारको ५ नम्बर कोठामा आफूहरूलाई लगेर थुनिएको र यहीबाट केही साथीहरूलाई लगेर हत्या गरिएको बताइन्छ । तयस मध्येका पाँच जना साथीलाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने निहुँ पारेर सुखानीमा १२÷१२ राउन्ड गोली हानी बीभत्स हत्या गरिएको थियो । कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने उद्देश्यले उनिहरूको हत्या भएको र उक्त हत्या गरेर तर्साउन खोजिएको थियो । आज त्यही जगमा उभिएर पञ्चायत मात्र हैन तानशाही राजतन्त्रको समेत समूल अन्त्य भएको छ । 

झापा आन्दोलनका अर्का मुर्धन्य इतिहास विष्णु प्रसाईँका अनुसार आफूहरूसँगै पञ्चायत विरुद्ध लडेका साथीहरूको जेल सार्ने बहानामा लगेर हत्या गरेको र आफूहरूलाई मलामी जान समेत नदिएको सन्दर्भ मार्मिक र कारुणिक छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख समेत रहेका प्रसाईँका अनुसार त्यो फागुन २१ को घटना क्रूरताको पराकाष्ठा थियो ।

सो घटना पछि जेल बाहिर रहेकाहरुले आपूmहरुलाई चुनौती भएको महसुस गरी भारत गएर आफ्नो ज्यान जोगाएको सन्दर्भ सजिलो थिएन । २०३० सालमा केपी ओलीपनि जेल परेको र उनलाई पनि जेल सार्ने नाटक गरेर मार्ने प्रयास गरिएको समेत बताउने गरिएपनि भाग्यले त्यसो नभएको बताउँदै आइएको छ । 

यसरी हेर्दा नेपालमा कम्यूनिष्टहरुले राजतीतिक राजमार्ग सोझाइरहेका छैनन् । घुम्ती र मोडहरुमा आन्दोलनको अलमल चलिरहेको छ । समय समयमा अल्मलिएको गन्तब्य र बिराइ रहेको बाटो नै आजका कम्यूनिष्टहरुको ठूलो भूल र समस्या हो । जुटेको पार्टी फुटाउने र वर्ग संघर्षका प्रतिस्पर्धी कांग्रेसहरुसंग गला जोड्जे कुरा आज उनिहरुकै लागि कम्यूनिष्ट विरोधी बनेर अगाडी वढिरहेको छ । यसबाट नेपालको कम्यूनिष्ट आन्दोलन अगाडी वढ्न सक्दैन । सबै कम्यूनिष्टहरु एक भएर अगाडी वढ्ने सुविचारले वढावा पाओस्, सुखानी घटना र शाहदतप्राप्त वीर शहिदहरुप्रति हार्दिक शलाम !


प्रतिक्रिया



थप समाचारहरु