महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

महाशिवरात्री पर्व हर्षोल्लासका साथ हिन्दुहरुले मनाउने रमाइलो पौराणिक पर्व हो । पूर्वीय दर्शन, संस्कृति र धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर ‘महा’ भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ ।

त्यतिमात्र नभएर शिवरात्रीलाई भगवान् शिवको सबैभन्दा पृय दिनका रूपमा पनि लिने गरिन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको भन्ने किंवदन्ती छ । त्यस दिनलाई भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा समेत लिइने गरिन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफनो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको भन्ने कथा रुद्रीको महत्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले भगवान शिवलाई निलकण्ठ पनि भन्ने गरिन्छ । 

यो संसार तीन शक्तिमय तत्वले चलायमान छ । ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्ति । संसारमा जति पनि प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन्, ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालन पोषण हुने काम पालन शक्तिको माध्यमले गर्ने गरिन्छ । त्यस्तै समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो । ब्रह्मशक्तिका देवता ब्रह्मा हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् भने संहार वा विनाश शक्तिका देवता शिव हुन् ।

दार्शनिक ढंगले हेर्दा शिवको अर्थ ‘कल्याण’ हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुन् । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्नेपनि भगवान् नै हुन सक्छन् त ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ र ? संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त छन् । दिन रात, असल, खराब, कीट, मनुष्य, पशु, वनस्पति सबै भगवद्शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा छ भने मृत्युमा पनि छ, सिर्जनामा छ् र विनाशमा पनि छ । संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्विनाश पनि एउटा विशुद्ध शक्ति हो ।

कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस अनि हिम्मत । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि शक्ति चाहिन्छ । त्यसैले, संहारशक्तिका रूपमा भगवान् शिव पूज्य र बन्दनीय देखिएका हुन् । भगवानका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् । ती सम्पूर्ण नराम्रा शक्तिको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता मान्न सकिएको हो । ‘शरीरमा खरानी घसेर बस्नु अर्थात् शिवजस्तो हुनु भनेको नकारात्मकता नभई संसारिक सुखबाट टाढा बस्नु भन्ने सन्देशलाई बुझ्न सकिन्छ ।

महाशिवरात्रीको दिन परम्परा अनुसार सबै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन् । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्यको पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भन्ने गरिन्छ ।

त्यसैले भगवान शिवको लिंगमा शुद्ध जल, दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ, भगवान शिवपार्वतीलाई सिन्दूर टीका चढाउनु भनेको सद्गुण बृद्धि गर्नु हो, विभिन्न प्रकारका फलफूल चढाउनु भनेको दीर्घ आयु तथा आफ्ना इच्छा पूरा गर्नु हो, धूप बाल्नु भनेको सम्पति बृद्धि हुनु हो, दीप बाल्नाले ज्ञानको वृद्धि हुन्छ र बेलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्त गर्नु हुन्छ भन्ने जनविश्वस कायम रहेको छ । 

शिवरात्रीको पूजा फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुन् र उनी प्रसन्न भएमा आफुले इच्छाएको कुरा पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । नेपालमा यसलाई जुन तरिकाले मनाए पनि विदेशमा यसलाई महत्वपूर्ण ब्रत तथा पर्वका रुपमा लिने गरिन्छ ।

शिवरात्रीसँग केही पौराणिक कथा पनि जोडिएको छ । भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो । तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे । उनको रुप एकदम अजीब थियो । शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत–तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ ।

सबै पौराणिक कथामा नीलकन्ठको कथा सबैभन्दा चर्चित छ । मान्यता के छ भने महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए । त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ड भन्ने गरिएको हो ।

शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनियो । शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए । यस्तो मानिन्छ कि, महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्ने प्रचलनको शुरुवात भएको हो । 

आजकाल शिवरात्रीलाई मनाउनुभन्दा यसको महत्वलाई बकिृत बनाउन खोजेको देख्न सकिन्छ । शिव र शिवरात्रीको बहाना गरी विभिन्न बिकृतजन्य कामहरु गर्नु, जाँडरक्सी, गाँजा र भाङधँतुरो सेवन गरी हप्तौंसम्म लठ्ठिनु, शरिरलाई निकम्मा बनाउनु जस्ता कर्मले शिवरात्रीप्रतिको महिमा वढाएको छैन, यसले त बिकृति र विसंगतीमा वढावा दिइरहेको छ । शिवत्व र शिवरात्रीको दार्शनिक महत्व बिकारजन्य शरिरको निर्माण हैन, शरिरको शुद्धि हो अनि परम्परा सहित कला र संस्कृतिको सम्वर्द्धन । (लेखन स्रोतः शिव महापुराण)

प्रतिक्रिया



थप समाचारहरु