एउटा ‘पीडित’को बकपत्र : आज गाउँमा रमाइलो छ !


मेचीकाली

-जगन्नाथ न्यौपाने

जब आकाश गड्गडायो मेरो सात्तो गयो, रातभरि मैले यो शरीर लतार्दै पाखा उक्लिएँ ओर्लिएँ, मेरो घरलाई सरापें, छिमेकीको घरलाई गाली गरें । एकरात भाग्दै बाँचे ।

भोलिपल्ट देखि मेरा दिन धप्पक्क बल्न थाले । मान्छेका लास गायव भए, खोज्नेका लस्कर देखिन थाले । यो सुनसान मेरो गाउँ अब मेलामा परिणत भो । लास नभेटिएर सबै दुखित भए, जब लास भेटियो सबै दंग र खुशी भए ‘ओहो ! लास भोटियो' भन्दै कराए कोहि मोबाइलको टावर खोज्दै समाचार दिन दौडिन थाले । बाटो घाटो पानी बत्ती पताल भासियो । फेरि त के रमाइलो बाँकी नै थियो डोजर गड्डाउन थाले पाइप लतारिन थाले, आखिर बाटो छिचोलियो, धारा रसाउन थाले बत्ती पिलपिलाउन थाल्यो । 

दयालुका लस्कर लाग्न थाले- अब पो आउन थाल्यो असली मजा वारीपारि सबैतिर हल्ला मच्चिन थाल्यो 'राहत ! राहत ! ! आयो ! आयो ! !गाँउले  जम्मा गर', म दौडिएँ "जाबो खुट्टा भाँचिएर के हुन्छ" भन्ने सोच्दै । किलामा बाँधेको भैसी आज खान नपाएर मच्चिदै छ तर मलाई के राहत जो लिनु छ । अब तारा त्रिपालहरुले पहिरोले खुइल्याएको पाखो छोपिएको रहेछ, पानी थाप्ने बाल्टी डोरि के के छ के के अब म यो सामानमा लडिबुडि गर्छु भन्ने सोच्दै थिएँ मेरो नाम आइहाल्यो ओइ ....... पीडित म खुशीले गदगद भएँ हात पसारे मुक्कुराएँ उनीहरुले मेरो रुन्चे हासो खिचे, म झन् मुस्कुराएँ म पीडित हुँ भन्ने बिर्सिएँ ,पोको बोकेर दौडिएँ, म हत्तारमा छु अर्को लिन जानु छ घर नपुग्दै कसैले करायो 'राहत आयो राहत आयो !!' फेरि कुलेलाम ठोकें ।

 सोच्दै छु अब म घरको झुन्डिएको पिढीमा बोरा फाल्छु अहिले सम्म मैलो धोतीमा बेरिएकी मेरी स्वास्नी दंग छे, मिनेट मिनेटमा लुगा फेर्छे छिमेकीका पैरातिर दौडिन्छे, बुख्याच्या जस्ती देखिएकी छे, तैपनि जरौलिले ढाकिएकी छे मोरी कति राम्री आहा ! एकै छिन उसलाई हेर्छु तर म भ्याउदिन फेरि राहत राहत आवाज आउँछ दौडिन्छु । पत्रकार आएछ मेरो कन्तबिजोग सोध्न थाल्यो म कुम हल्लाउँदै भाषा खोज्दै सुनाउन थाल्छु, छेउमा भएको अर्कोले अर्कीले थप्न थाल्छन् मेरो गाउँमा आज जात्रा छ, मेरो कन्त बिजोगको कथा राम्रै मुल्यमा बेचेर उस्ले सजिलै पेट पाल्छ ।

राहतको गाडी खोली सकिएछ झन् अहिले त के के हो के के आप्पापापा मेरा दिन बले, बाबू साहबको कट्टुदेखि मैसावको मेटिकोटसम्म पो रहेछ बाइ ! आँट गरेर अघि सरें कट्टुका कपाल टक्टकाउदै झोलामा हालें मेरो दशै सम्झिएँ ४० बर्ष सम्म नमनाएको दशैं यसपाली मनाउन पाइने भैयो । म दंग छु अब काखीका भुत्ला भएका कमिज लिन कपडाका पोखरीमा पौडी खेलें बाबू साबका घुसिया जखमले शरिरका गन्धले नाक अचम्म पर्दैछ । तीनका कपडा झोलामा कोच्दैछु मेरो बबुरो शरिरमा यो झघमले कमिज कसरी अड्याउने मलाइ थाहा छैन तैपनी झोला भर्दै छु । आ .. जेसुकै होस्  मेरो झोलाले भडल्लो निकाली सक्यो तर पनि म छोड्नेवाला छैन । फेरै आवाज आयो 'राहत !!' कपडाको पोखरीबाट बाँकटे हान्दै निस्किएँ ओ हो !! चामल त्यतै हानिएँ भिडलाई कुनाले धकेल्दै अगाडि बढ्छु भिडबाट बोरा काँधमा हाल्दै युद्ध जितेको भावमा निस्कन्छु ।

गाला फुलाउदै फुलाउदै खानुपर्छ भन्ने सोच्दै घरकी बुढी घरको आँगनबाट हेर्दैछे मेरो पिठ्युँको बोरा नियाल्दैछे गालिगर्दै छे नामर्द मेरो पोइ लाछी बोरा बोकेको कस्तो सानो !!! सोच्दै छु अब म घरको झुन्डिएको पिढीमा बोरा फाल्छु अहिले सम्म महिलो धोतिमा बेरिएकी मेरी स्वास्नी दंग छे मिनेट मिनेटमा लुगा फेर्छे छिमेकिका पैरातिर दौडिन्छे बुख्याच्या जस्ती देखिएकी छे तैपनी जरौलिले ढाकिएकी छे मोरी कति राम्री आहा एकै छिन उस्लाइ हेर्छु तर म भ्याउदिन फेरि राहत राहत आवाज आउँछ दौडिन्छु । पत्रकार आएछ मेरो कन्तबिजोग सोध्न थाल्यो म कुम हल्लाउँदै भाषा खोज्दै सुनाउन थाल्छु छेउमा भएको अर्कोले अर्कीले थप्न थाल्छन् मेरो गाउमा आज जात्रा छ मेरो कन्त बिजोगको कथा राम्रै मुल्यमा बेचेर उस्ले सजिलै पेट पाल्छ ।

अर्कोले सोध्छ 'परिवारका कोहि पुरिए ?' म 'छैन' भन्छु सबै बाँचेको कुरा उसलाई सस्तो लाग्छ उ अर्कै तिर लाग्छ मेरो कन्तबिजोगले नपुगेर मरेको लासको पछि लाग्छ । सरकारी लस्कर लास परेको घरमा पुग्छ्न पैशा बाँड्छन् म पैसा नपाएकोमा दुखी हुने कि खुशी छुट्याउन सक्दिन । पत्रकार कसको बिजोग मजाको छ भन्दै दौडिएको छ उसले आज मेरो हाम्रो बिजोगको ठुलै पोको लिएर गयो बेलुका टेलिभिजनमा मेरो फोटो आयो मेरा भत्किएका घर पाखा देखायो म अब बस्तीको हिरो छु जस्तो लाग्न थाल्यो आफैलाई टिभिमा हेर्दा मजती खुशी को होला ? साथीलाई बोलाएँ टिभी खोल्न लगाए गाउनै पुरै म टिभीमा बोलेको आवाजले गुन्जिएको छ मलाई सारा विश्वले देख्यो म पुलकित छु ।

 मेरा खुशीका सिमा छैन म सम्पन्न छु के छैन आज मसँग ? चामलका बोरा छन् लत्ता कपडा छन् त्रिपालको खात छ, घर जाबो त पुरानो थियो भत्कियोस् । छैन त केवल यत्रो खुशी साट्ने मेरो साथी पहिरोमा पर्यो, तर पनि उ पुरिएर मलाई गुण लगाएरै गयो । उ नपुरिएको भए यत्रो राहत मलाई कस्ले दिन्थ्यो गुण लगाएरै मर्यो ।

(कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ)


प्रतिक्रिया



थप समाचारहरु